• १० मंसिर २०८१, सोमबार

उपभोक्ता झुक्याउँदै व्यापारी

blog

टीकापुर नगरपालिका भित्रका बजारको अनुगमन गरिदै । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, कात्तिक १० गते । टीकापुर नगरपालिकाले गरेको बजार अनुगमनमा नयाँ खाले समस्या देखिएको छ । व्यापारीहरूले वर्षौँ पुराना सामान बिक्री स्थलमा राखेको तर केही लेबल मेटाएर सामग्री बिक्रीका लागि राखेको भेटिएको छ । 

रङहरूको बिक्रेता न्यु भट्टराई ट्रेडर्सले दुई वर्षे म्याद भएका रङहरूको लेबलबाट मिति मेटाएर बिक्रीका लागि राखेको पाइएको हो । त्यहाँ फेला परेका म्याद नाघेका रङहरू कम्पनीमा फिर्ता गर्ने भनेपछि त्यसै छोडिएको छ । लेबल मेटाएका रङको मात्र जफत गरेको छ ।

टीकापुरभित्रका थोक बिक्रेताले खुद्रा बिक्रेतालाई म्याद नाघेको उपभोग्य बस्तुहरू मिसाएर पठाएको भेटिएको छ । ग्रामीण क्षेत्रको बजारमा म्याद नाघेको सामग्री भेटिएका छन् । एमएण्डसी ट्रेडर्सका सञ्चालक बद्रीप्रसाद जैसीले थोक बिक्रेता आदिकारिक ट्रेडर्सले चार दिन मात्र म्याद भएको तेल दिएर नयाँ आएपछि साटिदिन्छु भन्दै अनुगमन टोलीको फेला परेको बताउनुभयो । 

पछिल्लो समय चियापत्ती, मसला, काजु, पेय पदार्थको विभिन्न म्याद देखिन थालेका छन् । भारतीय बजारमा ६ महिना म्याद हुने काजु नेपाली बजारमा एक वर्ष म्याद राखेर बजारमा ल्याएका छन् । कोकाकोला लगायत ४ महिनाको म्याद हुने गरेकोमा उस्तै लेबलमा नौ महिना म्याद राखेर ल्याएकाले उपभोक्तामा द्विविधा  भएकाले आपूर्ति विभागले ध्यान दिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुरका महासचिव शेरबहादुर विष्टको भनाइ छ । 

टीकापुर नगरपालिकाका अधिकृत रञ्जु आचार्यले यस साता ५७ वटा पसलको अनुगमन गर्दा एक लाख १५ हजार ५४३ रुपियाँ बराबरका सामान बरामद गरी नष्ट गरिएको बताउनुभयो । आचार्यका अनुसार धेरैजसो व्यवसायीले सुधार भइरहेको तर नयाँ खालका समस्या देखिएको बताउनुभयो ।

म्याद नाघेको औषधी 

टीकापुर नगरपालिकाको आयुर्वेद औषधालयमा म्याद नाघेका औषधी भेटिएका छन् । त्यहाँ विभिन्न नौ प्रकारका औषधी म्याद नाघेका भेटिएको छ । टीकापुर आयुर्वेद औषधालयका कविराज निरीक्षक अशोककुमार मिश्राले म्याद हेर्ने जिम्मा लिएका कर्मचारीको लापरबाहीले यस्तो भएको बताउनुभयो । 

मिश्राले औषधालय नजिकै राख्नु भएको क्लिनिकमा पनि अधिकांश औषधी म्याद नाघेको भेटिएको छ । म्याद नाघेका सबै औषधी नष्ट गर्न लगाएपछि क्लिनिक लगभग खाली भएको छ । नगरपालिका प्रमुख प्रकाशकीय अधिकृत दमनसिंह चौधरीले सरकारी कर्मचारीले औषधालय र क्लिनिक दुबैमा लापरबाही गरेको, आयुर्वेद कार्यालयमा पनि म्याद नाघेका औषधी राखिएको विषयमा कार्यालयमा छलफल गरी कार्यवाही अघि बढाइने भनिएको छ । क्लिनिक पनि नियमानुसार सञ्चालन नगरेकाले बन्द गर्न निर्देशन दिइएको उहाँको भनाइ छ ।