• १० मंसिर २०८१, सोमबार

शिक्षामा लगानी अनुरूपको प्रतिफल प्राप्त भएन : पूर्व मन्त्री गौतम

blog

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री सञ्जय गौतम । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १० गते । नेपाल सरकारका पूर्व मन्त्री तथा बर्दियाका सङ्घीय सांसद सञ्जयकुमार गौतमले शिक्षामा विगतदेखि नै सरकारले राम्रो लगानी गर्दै आए पनि लगानी अनुरूपको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । 

उहाँले बर्दियामा शिक्षकका लागि सञ्चालन गरिएको लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी तालिमको उद्घाटन गर्दै सो बताउनुभएको हो । 

पूर्वमन्त्री गौतमले थप्नुभयो, ‘सरकारले शिक्षामा धेरै लगानी गरेको भए पनि लगानी अनुरूपको प्रतिफल पाउन नसकेकोले यस विषयमा सरकारले गम्भीर भएर विवेचना गर्नुपर्ने बेला आएको छ ।’ 

उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नुपर्ने कुरा महत्त्वपूर्ण भएको जनाउँदै शिक्षालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सांसद गौतमले लैङ्गिक रूपान्तरणमुखी शिक्षा आवश्यक भएको जनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रमुख जिम्मेवारी शिक्षकको भएकोले शिक्षकलाई सबै विषयमा आवश्यक ज्ञान हुनु आवश्यक रहेको प्रस्ट पार्नुभयो । 

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले बर्दियामा सञ्चालन गरेको बालिका सशक्त परियोजना अन्तर्गत शिक्षकका लागि लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी तीन दिने तालिम सुरु गरिएको छ ।  

बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक चन्द्रबहादुर खत्री, बाँके युनेस्को क्लबका अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु चौधरी र फिल्ड सुपरभाइजर भगवती बिक लगायतको उपस्थिति रहेको थियो।