• २२ पुस २०८१, सोमबार

खानेपानी योजना पूरा हुनै लाग्दा स्थानीय हर्षित

blog

कोट हाँडेखोला चिदिका बृहत् लिफ्ट खानेपानी योजना । तस्बिर : गणेश खनाल

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, कात्तिक १० गते । चार हजार परिवारको प्यास मेटाउने खानेपानी आयोजना छत्रदेव गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको लगानीमा योजना अन्तिम चरणमा पुगेको हो । 

लामो समयदेखि खानेपानीको अभाव रहेका छत्रदेवका अधिकांश बस्तीमा यो वर्षदेखि खानेपानीको समस्या समाधान हुने भएको छ । छत्रदेवका अधिकांश बस्तीमा खानेपानी पु¥याउने उद्देश्यले गौरवका योजना सुरु भई सम्पन्नको अन्तिम चरणमा पुगेपछि गाउँलेमा खुसियाली छाएको छ । छत्रदेव गाउँपालिका अन्तर्गत वडा नम्बर १ देखि ५ सम्मका बस्तीमा झन्डै दुई हजार घरधुरीमा खानेपानी पहुँच पु¥याउने उद्देश्यले योजना सुरु गरिएको हो ।

खानेपानी मन्त्रालय अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीको कोट हाँडेखोला चिदिका बृहत् लिफ्ट खानेपानी तथा सरसफाइ योजना निर्माणको काम द्रुत गतिमा अगाडि बढेको खानेपानी सरसफाइ तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर अरुण खरेलले जानकारी दिनुभयो । विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो भने योजना सम्पन्न भएपश्चात् हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्ने गरी योजना सुरु गरिएको छ । 

खानेपानी आयोजना निर्माणका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीको ३० करोड २२ लाख ३१ हजार ९३७ तथा स्थानीय उपभोक्ताको १० प्रतिशत जनश्रमदानबाट खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो । २०८० जेठ २६ गतेबाट सुरु गरिएको उक्त आयोजना आगामी २०८१ चैतसम्ममा सम्पन्न गर्ने योजना छ । यस्तै प्रदेश सरकार अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा २३ वटा योजना सञ्चालनमा रहेका छन् । 

जसमध्ये १५ वटा योजना सम्पन्नको अन्तिम चरणमा पुगेका छन् । २३ वटा योजना सम्पन्न हुँदा दुई हजारभन्दा बढी स्थानीयलाई खानेपानी उपलब्ध हुने डिभिजन प्रमुख रामभरोस यादवले जानकारी दिनुभयो । बाँकी आठ वटा योजना अर्को आर्थिक वर्षमा सम्पन्न हुने प्राविधिक गोविन्द आचार्यले बताउनुभयो । आठ वटा योजना सम्पन्न हुँदा तीन हजारभन्दा बढी जनसङ्ख्या खानेपानीको पहुँचमा रहने प्रमुख यादवको भनाइ छ ।

जिल्लाकै प्रदेश सांसद चेतनारायण आचार्य अघिल्लो सरकारमा अर्थमन्त्री र हाल मुख्यमन्त्री रहेकाले योजनाका लागि बजेट अभाव नभएपछि योजना समयममै सम्पन्न हुने भएका हुन् । घर घरमा घैँटा निर्माण गरी खानेपानी व्यवस्थापन गर्दै आएको र अहिले खानेपानी योजनाहरू निर्माण हुँदा निकै खुसी लागेको स्थानीय युवा केशव पन्थीले जानकारी दिनुभयो । 

एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनुपर्ने बाध्यतामा रहेका छत्रदेवका बासिन्दामा यो योजना सम्पन्न भएपछि सबैको घरमा खानेपानीका धारा, धाराबाट बचत भएको पानी तरकारी बारी र बगैँचामा प्रयोग गरिने भएपछि स्थानीयमा खुसियाली छाएको छत्रदेव–१, चिदिकाका युवा रामजी पाण्डेले जानकारी दिनुभयो । सो क्षेत्रमा खानेपानीको समस्याकै कारण देखाउँदै बर्सेनि बसाइँसराइ गर्ने दरसमेत बढेको स्थानीयको भनाइ छ ।