• १० मंसिर २०८१, सोमबार

'एक चिहान' मञ्चन

blog

एक चिहान मञ्चन हुँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक ९ गते । वि.स २०११ मा साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेख्नुभएको 'एक चिहान'को मञ्चनमा स्याङ्जा विद्यार्थीको आकर्षण बनेको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाट्य रुपान्तरण तथा निर्देशन गरेको एक चिहान स्याङ्जामा गरिएको मञ्चनमा विद्यार्थीको आकर्षण बनेको हो ।  

यहाँ तीन दिनमा नौ पटक गरिएको मञ्चनमा २२ विद्यालयका विद्यार्थीसहित तीन हजार भन्दा बढीले अवलोकन गर्नुभएको थियो । नाटकमा परिवर्तन, रमेशबाबु तिमल्सिना, रोशनी रामदम, रबिन्द्र मल्ल, कविता घर्ती मगर, प्रकाश रेग्मी हमाल, सनम पुन, सुसन पौडेल, कविता आचार्य, उत्सर्ग सुवेदी, रामखेलावान रावत, प्रतीक घिमिरे, धनकाजी श्रेष्ठ, रन्जु दाहाल, सिर्जना राना, सुरक्षा दाहाल, दिल थापा मगरले अभिनय गर्नुभएको छ । 

एक चिहान गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर मञ्चन गर्ने लक्ष्य अनुरुप थिएटरका अध्यक्ष परिवर्तनले आफ्नो गृह जिल्लामा गरेको बताउनुभयो । जन्म जिल्ला पनि रहेकोले पहिलोपटक नाटक मञ्चन गर्न पाउदाँ आफू निकै हर्षित बनेको परिवर्तनले बताउनुभयो । जन्मथलोमा नाटक लिएर आउँदा धेरै माया मिलेको परिवर्तनको भनाइ छ । कक्षा १२ को पाठ्यक्रममा समावेश रहेको यो उपन्यासका कारण नाटकमा बढी विद्यार्थीको आकर्षण रहेको हो । 

२००७ साल पश्चातका नव सामन्तले गरिब किसान र मजदुरहरु माथी गरको दमनलाई एक चिहानमा उजागर गर्ने काम गरेको छ । अर्जुन चौपारी –१ का कमल अर्यालले यस्ता नाटकलाई गाउँ गाउँमा पुगेर मञ्चन गर्नुपर्ने र जनतालाई सचेत गराउनुपर्ने बताउनुभयो । 

वि.सं. २०७६ सालको साउन महिनामा पहिलोपटक यो नाटक पोखरा थिएटरमा मञ्चन गरिएको थियो । नाटकको २६० पटक मञ्चन भएको र ६० हजार धेरै दर्शकले नाटक हेरिसकेका छन् । थिएटरका अध्यक्ष परिवर्तनले बितेका कुरा, निरमाया, बाकस, केहि दिन वर्वाद होस निर्देशन गर्नुभएको छ । यसअघि पर्वत, तनहुँ, कास्की, लम्जुड्ढमा मञ्चन भैसकेको छ । एक चिहान नाटक यही कात्तिक ११ र १२ गते वालिङ् बजारमा पनि मञ्चन गरिने छ ।