• ११ मंसिर २०८१, मङ्गलबार

ग्रामीण सडकमा दुर्घटनाको जोखिम बढ्दो

blog

क्षमताभन्दा बढि यात्रु बोकेर ग्रामीण क्षेत्रमा जाँदै गरेको एक सवारी साधन । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा  
सिन्धुलीमाढी, कात्तिक ९ गते ।
सिन्धुली जिल्लामा चाडपर्वको बेला यात्रुको भिडभाडसँगै ग्रामीण क्षेत्रका सडकमा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

यो वर्षको वर्षादको मौसमसँगै गत असोज महिनाको बाढीपहिरोका कारण भत्किएर जीर्ण बनेका ग्रामीण सडकमा सवारी साधनले क्षमताभन्दा बढि यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढेको हो । जीर्ण ग्रामीण सडकमा चल्ने बोलेरो जीप, बस लगायतका यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट ग्रामीण क्षेत्रका सबै सडकमा नियमित बस सेवाको सुविधा छैन । ती सडकमा चार पाङ्ग्रे बोलेर जिप नै एक मात्रा सवारी साधनको रुपमा निर्वाध सञ्चालन हुँदै आएको छ । ती बोलेरो जिपले ढुवानी गर्ने उपभोग्य सामग्रीसँगै कोचाकोच यात्रु पनि बोक्दा दुर्घटनाको जोखिम बढेको हो ।

ध्याङलेख गाउँपालिका–३ निवासी सञ्जय तमाङले पिपलभञ्ज्याङ–अमले–बस्तिपुर सडकमा सञ्चालन हुने बोलेरो जिपहरुले जोखिमपूर्ण तरिकाले यात्रु बोकी रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘बोलेरो जिपमा सामान पनि उत्तिनै हुन्छ । त्यसमाथि यात्रुको चापले खुट्टा राख्ने ठाउँ पाउन मुस्किल पर्छ । ज्येष्ठ नागरिक र बालबालिकालाई त अहिले ग्रामीण सडकको यात्रा सास्ती नै छ ।’’

यात्रुको चापसँगै ती सवारी साधनले भाडा पनि जथाभावि लिने गरेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार राष्ट्रिय राजमार्गको पँहुच नपुगेको ग्रामीण क्षेत्रका सडकमा सञ्चालन हुने बोलेरो जिप लगायतका यातायातका साधनलाई अहिले क्षमताभन्दा बढि यात्रु बोक्नु बाध्यता बनेको छ ।

जिल्लाका बिपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै ग्रामीण क्षेत्रका सडकमा ती सवारी साधन सञ्चालन भइरहेका छन् । तर ती सवारी साधनले राजमार्गको ठाउँ–ठाउँमा राखिएको प्रहरी चेक पोष्टमा बस्ने प्रहरीकै मिलेमतोमा क्षमताभन्दा बढि यात्रु बोकेर सवारी सञ्चालन भइरहेको सुनकोसी गाउँपालिका–७ मझुवाका तीलकबहादुर कार्की बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘सिन्धुलीमाढीबाट मझुवा आउँदा बिपी राजमार्गको हिरापानीमा प्रहरीको चेकपोष्ट छ । तर त्यहा प्रहरीले गाडी रोकेर चेक गरेजस्तो गर्छ, उनीहरुकै आँखा अगाडि गाडीले क्षमताभन्दा बढि सामान र यात्रु हिँड्छ ।’’ ग्रामीण क्षेत्रका सडकमा सावारी साधन चेकजाँचको भरपर्दो व्यवस्था नहुदा कष्टकर यात्रा बनेको उहाँको गुनासो छ ।

सदरमुकाम सिन्धुलीमाढीदेखि मझुवासम्म सञ्चालन हुने एक बोलेरो जिपका चालकले भन्नुभयो, ‘‘गाडी देखेपछि सबै चढ्न खोज्छन् । हामीले कसलाई चढ् भन्नु, कसलाई नचढ भन्नु । क्षमताभन्दा बढि बोक्नु बाध्यता नै परेको छ ।’’ ग्रामीण क्षेत्रका सडकमा पर्याप्त सवारी साधन सञ्चालन नहुदा गाडीमा यात्रुको चाप बढेको उनको ठम्याई छ ।

जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले भने जिल्लाबाट छुट्ने तथा भित्रिने सवारीका साधनमा निगरानी बढाएको जनाएको छ । क्षमताभन्दा बढि यात्रु बोक्ने सवारी साधनलाई कारबाही गर्दै आएको कार्यालयले जनाएको छ ।