• १० कात्तिक २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

प्रेमराज सिम्खडा 

कालीकोट, कात्तिक ८ गते । जिल्ला र बाजुरा जिल्लाको सीमा क्षेत्र भुका खोलामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कर्णाली कोरिडोरको खुलालु–हिल्सा सडक खण्ड अन्तर्गत बाजुरा जिल्लाको भुका खोलामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । 

कालीकोट जिल्लाबाट बाजुराको जग्गनाथ गाउँपालिका-४ का जडीबुडी व्यापारी खड्क भण्डारीलाई पुगाउन जानुभएका सान्नीत्रिवेणी गाउँपालिका ८ मुर्माका २७ वर्षीय खेमराज बुढाको मृत्यु भएको हो । बुढाको मृत्यु भएको घटना स्थल कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्छ । 

दुर्घटनामा परेका बुढा सडकभन्दा तल भिरमा खसेका कारणले मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले कर्णाली प्रदेश ०२००१ प ४१ नम्बरको मोटरसाइकल अन्यिन्त्रीत भएर दुर्घटना भएको र पछाडि सवार भण्डारी र मोटरसाइकल सडकमै अड्किएको र बुढा भिरमा खसेका कारणले मृत्यु भएको बताउनुभयो । 

मोटरसाइकल दुर्घटना भएको खबर प्राप्त हुनासाथ कालीकोटको रास्कोट इलाका प्रहरी कार्यालय र बाजुराको कोल्टी प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर भिरबाट शव निकालेर आफन्तको जिम्मा लगाएको छ । दुर्घटना परेर घाइते भएका खड्क भण्डारीलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

दुर्घटना परेर मृत्यु भएका बुढा कालीकोटमा रहेको हुरेन्डेक नेपालको साझेदारीमा सञ्चालित जल परियोजना अन्तरगर्त नरहरीनाथ गाउँपालिकामा कार्यरत रहनुभएको सो संस्थाले जनाएको छ । संस्थाका जिल्ला व्यवस्थापक दिलीप कुमार शाहीले जल परियोजनामा कार्यरत फिल्ड प्राविधिक खेमराज बुढाको निधनले दुखी बनाएको र संस्थालाई क्षति पुगेको बताउनुभयो । मृतक बुढाका साथी खेमराज सिम्खडाले साथीको मृत्युले गाउँ नै शोकमा रहेको बताउनुभयो ।