• १० मंसिर २०८१, सोमबार

कांसाहोप ताल पर्यटकको गन्तव्यस्थल बन्दै

blog

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा स्थानीयले श्रमदानबाट निर्माण गरेको कांसाहोप ताल । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई  

खोटाङ, कात्तिक ७ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी भङ्गेटारमा स्थानीयले श्रमदानबाट निर्माण गरेको कांसाहोप ताल पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ । तालमा डुङ्गा शयर गर्ने, रमिता हेर्ने र घुमफिर गर्न जानेको सङ्ख्या बढ्दो छ ।  

कोभिड–१९ को महामारीका बीचमा स्थानीयले निर्माण गरेको कांसाहोप तालका कारण भङ्गेटारभन्दा तल्लो क्षेत्रमा पानीको मुहान पनि वृद्धि भएको छ । भङ्गेटारका २२ घर स्थानीयले चन्दा सङ्कलन एवं श्रमदान जुटाएर २०७६ साल फागुन–चैतमा ताल निर्माण गरेका हुन् । डुङ्गा शेयर गर्ने व्यवस्था मिलाइएपछि कांसाहोप ताल आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदैगएको छ । साँढे ६ रोपनी जग्गामा फैलिएको तालमा २०७९ वैशाखदेखि माछा पालन पनि गरिएको छ ।  

मानव निर्मित तालमा २०७७ साउन १८ गतेदेखि काठको डुङ्गा चलाउन थालिएको हो । डुङ्गा चलाउन सुरु भएपछि तालमा डुङ्गा चढ्न जानेहरूको घुइँचो लाथ्यो । ताललाई थप व्यवस्थित बनाउन नसक्दा पछिल्लो समय अपेक्षित पर्यटकहरू नआएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताउनुभयो । जमिन रिचार्ज गर्ने, पानी सङ्कलन गरेर सुक्खा याममा तल्लो क्षेत्रमा सिँचाइमा प्रयोग गर्ने, माछा पालन गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने योजनासहित भंगेटारका स्थानीयले जलाशय निर्माण गरेका थिए । 

करिब आठ लाखमै जलाशय तयार भएको हो । ताल निर्माणमा जुटेका स्थानीयलाई वडा कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा २ लाख ५० हजार दिएको थियो । सरकारी निकायहरूको ध्यान गए ताललाई थप व्यवस्थित बनाए पर्यटकहरूको गन्तव्य स्थल बन्न सक्ने तामाङको भनाइ छ । 

कांसाहोप तालबाट नजिकै पश्चिममा रहेको रमितेडाँडा-रमितेढुंगा घुमफिरका लागि चर्चित छ । दिक्तेलबाट गाडीमा करिब दुई घण्टामा पुग्न सकिने कांसाहोप तालको डिलबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिन्छ । तालमा शैक्षिक भ्रमण गर्ने टोली उत्तिकै मात्रामा पुग्ने गरेका छन् । ताल नजिकै रहेको खार्मीकै बाँझो बारी पनि पर्यटक लोभ्यान सक्ने स्थान हो ।  

तामाङ भाषामा मटेङ्ग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेङ्ग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको सचिव तामाङले बताउनुभयो । कांसाहोप ताल निर्माण भएपछि तलो भेगमा पानीको नयाँ मुहानहरू निस्किएका छन् । तालले रिचार्ज पोखरीको काम गरेपछि तलका मुहानहरूमा खडेरीमा समेत पानी निस्किरहेको छ । भंगेटारभन्दा तल धारेढुंगाको खप्टेमा नयाँ मुहान निस्किएपछि किसानलाई खेतीपाती गर्न सहज भएको छ । 

जलाशयले जमिन रिचार्ज पोखरीको काम गर्दा भंगेटार हराभरा बढेको ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर श्रेष्ठले बताउनुभयो । ताललाई थप फराकिलो बनाउने योजना छ । तर गाउँको विकासमा जुटेको स्थानीयलाई हालसम्म अन्य ठाउँबाट बजेट प्राप्त भएको छैन ।