• ११ मंसिर २०८१, मङ्गलबार

गाउँ जोड्ने कृषि सडक सञ्चालन

blog

चौघडा मक्राञ्चुली जोड्ने कृषि सडक । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक ७ गते । वर्षाले अवरुद्ध भएको ग्रामीण तथा कृषि सडक सञ्जाल सञ्चालनमा आएको छ । असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण पहिरोले अवरुद्ध बनेको चौघडा मक्राञ्चुली जोड्ने कृषि सडक मर्मत पश्चात सञ्चालनमा आएको हो । 

हेटौँडा उपमहानगरपालिका-६ र मकवानपुरगढी गाउँपालिका ३ नं वडा कार्यालयको प्रयासमा सडक सञ्चालनमा आएको छ । ग्रामीण सडक सञ्चालनका लागि उपमहानगरपालिकाले मेसिन उपलब्ध गराएको स्थानीय भिमसेन पौडेलले जानकारी दिनुभयो । कृषि सडक सञ्चालनमा आएपछि यहाँ उत्पादन भएको कृषि उपज बजारसम्म ल्याउन र लैजान सजिलो हुनुको साथै साना सवारीसाधन आवतजावतमा पनि सहजता भएको मकवानपुरगढी गाउँपालिका ३ नं. का वडा अध्यक्ष भागवत घिमिरेले बताउनुभयो । 

सडक सञ्जालका कारण वनमा लाग्ने डढेलो नियन्त्रण गर्न, वन पैदावर निकाल्न सजिलो हुनुका साथैं बजारसम्म पुग्न पनि सहज हुनेभएको रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । चौघडा–मक्राञ्चुली कृषि सडक दुई किलोमिटर रहेको छ । यो कृषि सडक सञ्चालनमा आएपछि यहाँका किसान पनि खुसी भएका छन् ।