• १० मंसिर २०८१, सोमबार

अनुसन्धान गर्दै प्रहरी, प्रदर्शनमा रास्वपा

blog

मङ्गलबार पोखरामा विरोध र्‍यालीमा सहभागी रास्वपा नेता, कार्यकर्ता ।

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ७ गते । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पक्राउ पर्नुभएका लामिछानेसँग कास्की प्रहरीले सोमबारबाट बयान लिन सुरु गरेको छ । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा ठगी र सङ्गठित अपराध अभियोगमा प्रहरीले अनुसन्धान गरिरहँदा रास्वपाले भने आन्दोलन चर्काउन थालेको छ । शुक्रबार जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरी शनिबार पोखरा ल्याइपुर्‍याएको थियो । लामिछाने पक्राउ परेपछि रास्वपा नेता, कार्यकर्ता पोखराकेन्द्रित भएका छन् । देशभरबाट रास्वपाले नेता, कार्यकर्तालाई पोखरामा उतारेर विरोध प्रदर्शन गरिरहेको छ । चितवनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लामिछानेलाई आइतबार अदालतले छ दिन म्याद थपेको थियो । सूर्यदर्शनको एक अर्ब ३५ करोड अपचलन र सङ्गठित अपराधमा अनुन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ ।

अदालतले म्याद थप गरी अनुसन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनको आलोचना भएको छ । अधिकारकर्मी रामबहादुर पौडेल अदालतमा प्रवेश गरिसकेको विषयलाई प्रभावित गर्न राष्ट्रिय राजनीतिक दलले लगातार विरोध प्रदर्शन र दबाब दिनु अनुचित भएको टिप्पणी गर्नुहुन्छ । “अदालतलाई प्रभाव पार्ने गरी काम गर्नु कानुनसम्मत होइन । यो कदम गलत छ । सरकारको विरोधै गर्ने भए पनि सडक अवरुद्ध गर्ने, नागरिकलाई दुःख दिने कुरा गर्नु हुँदैन,” उहाँ भन्नुहुन्छ ।

लामिछाने पक्राउ परेको भोलिपल्ट शनिबार रास्वपाले चिप्लेढुङ्गामा विरोध प्रदर्शनसहित र्‍याली गरेको थियो । आइतबार रास्वपा नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै पोखराको सहिदचोकमा दिनभर प्रदर्शन गरेका थिए । आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहिद चोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर्नुभएको छ । 

आइतबार यी क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा गर्न निषेध गरिएपछि रास्वपाले विरोध प्रदर्शन स्थल परिवर्तन गरेको छ । सोमबार पोखरा आवागमनको मुख्य विन्दु पृथ्वी चोकमा विरोध सभा गरेको रास्वपाले मङ्गलबार जिरोकिमीमा विरोध सभासहित र्‍याली निकालेको छ । दिनदिनै विरोध सभा र र्‍यालीका कारण पोखराको आवागमन र जनजीवन प्रभावित बनेको छ । 

बुधबारसम्म लामिछानेको अनुसन्धान सकिने सम्भावना देखिँदैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले लामिछानेसँग बयान लिन सुरु गरिएको जनाउँदै बुधबारै अनुसन्धान सकिने सम्भावना नरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “उहाँसँग सोमबारबाट बयान लिन थालिएको छ । केही दिन लाग्ला । अनुसन्धानका लागि आवश्यक परे म्याद थपका लागि बिहीबार अदालत लैजान्छौँ ।”

रास्वपाको आन्दोलन जारी रहँदा पोखराका पर्यटन व्यवसायी भने चिन्तित छन् । पर्यटकीय सिजनको सुरुवातमै लगातार आन्दोलन र प्रदर्शनले नकारात्मक सन्देश जाने र तङ्ग्रिन लागेको पर्यटन क्षेत्रमा असर पर्ने उनीहरूको चिन्ता छ । होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण बराल आन्दोलनमा आएका नेता, कार्यकर्ताले होटेलको व्यापार थोरै बढे पनि आफूहरू यस खालका गतिविधिको पक्षमा नरहेको टिप्पणी गर्नुहुन्छ । “केही होटेल, रेस्टुरेन्टको थोरै व्यापार भयो होला तर हामी यस खालको व्यापारको पक्षमा छैनौँ,” बराल भन्नुहुन्छ, “आन्दोलन लम्बिँदै र चर्किंदै गए भइसेकका बुकिङ पनि रद्द हुने र यहाँ आउने पर्यटक अन्यत्र मोडिने चिन्ता छ ।” अर्का पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठ पनि राजनीतिक पार्टीले गर्ने आन्दोलनले पर्यटन राजधानी असुरक्षित छ भन्ने सन्देश जाने हो कि भनी व्यवसायी चिन्तित बनेको उल्लेख गर्नुहुन्छ । 

रास्वपाले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको दाबी गर्दै आन्दोलनलाई निरन्तर राख्ने जनाएको छ । रास्वपा प्रवक्ता मनिष झा लामिछानेलाई पक्राउ गरिनु राजनीतिक प्रतिशोध मात्रै भएको दाबी गर्नुहुन्छ । 

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडिया प्रालिमा अवैधानिक रूपमा गएको देखिएको छ । लामिछानेविरुद्ध अनुसन्धान सुरु भएपछि सहकारीपीडित पनि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र बचत फिर्ताको माग गर्दै सडकमा छन् ।