• १० कात्तिक २०८१, शनिबार

‘प्रतिष्ठानबिच समन्वय आवश्यक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा–प्रतिष्ठान र केन्द्रका प्रज्ञा–प्रतिष्ठानबिचको समन्वय तथा एकरूपतामा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

मन्त्री पाण्डेले कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठुलो योगदान पुगेको चर्चा गर्दै ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको बताउनुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन मङ्गलबार ग्रहण गर्दै मन्त्री पाण्डेले सो धारणा व्यक्त गर्नुभएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले केन्द्रका प्रतिष्ठानहरू र मन्त्रालयका बिचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनीभूत बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले आव २०८०/८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीको विस्तृत जानकारी गराउनुभयो । उहाँले रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरिएका भित्तेचित्र, शिक्षामा सिपलगायत कार्यक्रमबारे समेत चर्चा गर्नुभएको थियो ।