• १० कात्तिक २०८१, शनिबार

२३८ मृतकका परिवारलाई राहत वितरण

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ७ गते । असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण सुरु गरेको छ । 

गृह मन्त्रालयले मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप प्रतिव्यक्ति दुई लाख रुपियाँका दरले राहत रकम वितरण कार्य अन्तिम चरणमा पुगेको जनाएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म बाढीपहिरो प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म विपत्मा परी ज्यान गुमाएका २३८ मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप राहत रकम वितरण गरिएको छ । सबैभन्दा बढी विपत्मा ज्यान गुमाएका काभ्रेपलाञ्चोक जिल्लामा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ । त्यहाँ मृतक एक जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम उपलब्ध गराउने पनि मन्त्रालयले जनाएको छ ।

त्यसै गरी ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ । एक जनाको हकदार यकिन नभएकाले रोकिएको छ । प्रवक्ता तिवारीले काठमाडौँमा १९ जना मतृकका परिवार, भक्तपुरमा चार, झापामा दुई, पाँचथरमा सात, धनकुटा र उदयपुरमा एक/एक, सोलुखुम्बुमा पाँच, इलाममा एक, ओखलढुङ्गामा एक, महोत्तरीमा दुई, सप्तरीमा एक, सर्लाहीमा तीन र रौतहटमा चार जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

सिरहामा एक, मकवानपुरमा सात, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा सात–सात, रामेछापमा एक, सिन्धुलीमा तीन र रुपन्देहीमा दुई जना मृतकका परिवारलाई राहत स्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ ।

उहाँले विपत्मा परी ज्यान गुमाएकामध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रिया पनि अघि बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पारिवारिक विवरण यकिन नभएको, कागजात मिलाउने प्रक्रिया, हकदार यकिन नभएको, हकदार देशबाहिर रहेकालगायतका अवस्थाका मृतकका परिवारलाई मात्रै राहत रकम वितरण गर्न नसकिएको हो । बाँकी रहेकालाई राहत रकम वितरणमा जिल्ला प्रशासन कार्यालय सक्रिय छन् ।”

उहाँले विपत्लगत्तै प्रमुख जिल्ला अधिकारीसहितको टोली मृतक परिवारमै पुगेर राहत रकम वितरण गर्दै आएको र हालसम्म पाँच करोड ४६ लाख राहत रकम वितरण भइसकेको जानकारी दिनुभयो ।

विपत्लगत्तै गृहमन्त्री रमेश लेखकले मृतकका परिवारलाई राहत रकम वितरण, घाइतेको निःशुल्क उपचार, अवरुद्ध सडक सञ्चालन गर्न र लाभग्राहीको विवरण सङ्कलन गरी सहयोगलाई प्राथमिकता दिने बताउनुभएको थियो । पछिल्लो बाढी पहिरो र डुबानमा परी १७७ जना घाइते भएका थिए । १८ जनाको अवस्था अझै अज्ञात छ । 

सरकारले विपत् प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । जनधनको क्षतिका आधारमा सरकारले अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तह वर्गीकरण गरी राहत र पुनस्र्थापनाका लागि क्रमशः एक करोड, ७५ लाख र ५० लाख रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।