• १० मंसिर २०८१, सोमबार

पाँच झोलुङ्गे पुल निर्माण

blog

अर्जुन चौपारी –१ मा कौडीखोलामा जोड्नेगरी दरौँखोलामाथिको झोलुङ्गे पुल । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक ६ गते । स्याङ्जामा एक वर्ष भित्रमा पाँच वटा झोलुङ्गे पुल बनाइएको छ । यहाँको भीरकोट नगरपालिकामा तीन वटा, गल्याङ्ग नगरपालिका र अर्जुन चौपारी गाउँपालिकामा एक–एक वटा निर्माण गरिएको हो । 

भीरकोट –६ को थुम्का पुवात–लुम्दिखोलामा ३२ मिटर लम्बाई भएको पुल निर्माण गरिएको छ । यहाँ ३६ लाख १६ हजार ९७० रुपियाँ ४५ पैसामा निर्माण गरिएको हो । यस्तै, भीरकोट–३ को गुमार्दी रोजिखोला–किसिम खोलामा ३४ लाख ९९ हजार ६९६ रुपियाँ १३ पैसामा झोलुङ्गे पुल निर्माण गरिएको छ । 

यस्तै, भीरकोट–३ मै बास्तारा खोला जोड्ने झोलुङ्गे पुल ३६ लाख ८६ हजार २८९ रुपियाँ तीन पैसामा निर्माण गरिएको हो । यस्तै, गल्याङ्ग –११ मा भैँसेखोला जोडने झोँपु ५१ लाख ७५ हजार ४७१ रुपियाँ ९५ पैसामा निर्माण गरिएको छ । 

यस्तै, अर्जुन चौपारी –१ मा कौडीखोलामा जोड्ने गरी दरौँखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो । भीरकोटमा निर्माण गरिएका तीनै वटा ट्रस ब्रिज हुने भने गल्याङ्गमा निर्माण गरिएको डी टाइप र अर्जुन चौपारीको एन टाइपको हो । 

यहाँ निर्माण भएका सबै झोलुङ्गे पुल अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सामाजिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको छ । पुलहरू क्षेत्रगत कार्यक्रम अन्तर्गत सङ्घीय अनुदान ८५ प्रतिशत, पालिकाको १३ प्रतिशत र उपभोक्ताको दुई प्रतिशतमा निर्माण गरिएको हो । 

निर्माण भएका चार वटा ३२ मिटर लम्बाई भएका छन् । अर्जुन चौपारीको १०३ मिटर लम्बाइको छ । यहाँ २०८१–८२ मा आँधीखोलामा पाँच, अर्जुन चौपारीमा तीन र फेदीखोलामा एक वटा गरी नौ वटा झोलुङ्गे पुल बन्ने छन् । 

आँधीखोला र फेदीखोलामा बन्ने पुलको सर्वे तथा डिजाइन भएको छ भने अर्जुन चौपारीका कुनै पनि पुलको डिजाइन र सर्वे नभएको अधाअन्धीका कार्यालय प्रमुख एक नारायण सापकोटाले बताउनुभयो । अर्जुन चौपारी –१ का रमेश रोकाले झोँपु निर्माणले स्थानीय, विद्यार्थीलाई राहत मिलेको बताउनुभयो ।