• १२ पुस २०८१, शुक्रबार

लोकल माहुरीपालनबाट राम्रो आम्दानी

blog

बंगलाचुली गाउँपालिका–२ मर्पेसमा सुरज विश्वकर्माले पालन गरेको लोकल माहुरी । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, कात्तिक ६ गते । दाङमा लोकल माहुरीको व्यावसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यावसायिक पालनबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाको पहाडी क्षेत्रमा जङ्गलमा पाइने सेरेना माहुरीको पालन बढ्दै गएको हो ।

त्यहीमध्येका एक हुन्, बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी डाँसबहादुर डाँगी । डाँगीले विगत १० वर्षदेखि स्थानीय सेरेना जातको माहुरीको व्यावसायिक रूपमा पालन गर्दै आउनुभएको छ । जङ्गलमा रुख र भिरमा बस्ने माहुरीलाई घरमा व्यवस्थित रूपमा घार निर्माण गरेर पाल्दै आउनुभएको छ । 

जङ्गलबाट खोजेर घरमा ल्याउँदै पाल्ने गर्नुभएका डाँगीले अहिले करिब ४०-५० घार माहुरी पाल्ने गरेको बताउनुहुन्छ । पहाडी क्षेत्रमा चिउरी लगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने र लोकल माहुरीबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । 

कुनै दिन शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढसयसम्म पुर्‍याएको भन्दै डाँगीले भन्नुभयो, "जङ्गल क्षेत्रमा भएकाले माहुरीलाई समय पनि दिनुपर्छ तर पछिल्लो समय बाहिरी काममा पनि जोडिँदा घरमा समय दिन नपाउँदा माहुरीको घारको सङ्ख्या घटेका छन् ।" अहिले करिब ५० वटा माहुरीका घार छन् । आफू नहुँदा पछिल्लो समय घरमा माहुरी श्रीमतीले गोमाले हेर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कात्तिक महिनामा निकालेको मह १२ देखि १३ सय रुपियाँ प्रतिकिलो मह बिक्री हुने गर्दछ । 

यसैगरी बंगलाचुली गाउँपालिका–२ मर्पेसका सुरज विश्वकर्माले पनि स्थानीय सेरेना जातको माहुरी पालन गर्दै आउनुभएको छ । जङ्गलबाट घरमा ल्याएका व्यावसायिक रूपमा पालन गर्दै आउनुभएका विश्वकर्माले मह विक्रीबाट राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ । व्यावसायिक रूपमा पाल्ने माहुरीभन्दा स्थानीय जातको माहुरीको मह स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले बिक्रीमा समस्या नभएको उहाँले बताउनुभयो । 

मह विक्रीमा समस्या नहुने राम्रो आम्दानी भइरहेकाले अहिले भएका १६ घार माहुरीलाई बढाउँदै २५-३० घारसम्म पुर्‍याउने सोच रहेको बताउनुहुन्छ । उहाँले अहिले वार्षिक रूपमा ६० देखि ७० केजीसम्म बिक्री हुने गरेको बताउनुहुन्छ । 

प्राकृतिक रूपमा माहुरीले उत्पादन गर्ने मह शुद्ध र पोसिलोसँगै चिनीको कुनै प्रयोग नहुने भएकाले उपभोक्ताले मह मन पराउने गरेको उहाँले बताउनुभयो । "लोकल माहुरीको महको माग बढी हुने भएकाले घार सङ्ख्या बढाउँदै लैजाने सोच छ," उहाँले भन्नुभयो । महको आम्दानीबाट घर खर्च चलाउन सहज हुने भएपछि व्यवसायलाई विस्तार गदै २५–३० घारसम्म पुर्‍याउने लक्ष्य रहेको बताउनुहुन्छ ।