• १० मंसिर २०८१, सोमबार

टिप्परले गर्दा सडक जीर्ण

blog

जीर्ण बनेको घोराही–कमिरेचौर सडकखण्ड । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, कात्तिक ६ गते । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण तीन वर्षअघि कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडकखण्ड जीर्ण बनेको छ । आर्थिक वर्ष २०७७/७८ मा करिब ३४ करोड १६ लाख रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको सडक ओभरलोड बोकेर गुड्ने टिप्परका कारण तीन वर्षमै कालोपत्रे उम्किएर खाल्डाखुल्डीमा परिणत भएको हो । 

सडकमा परेका खाल्टाखुल्टीका कारण कालोपत्रे सडक भेट्नै मुस्किल पर्ने अवस्था भएको छ । खाल्डाखुल्डीसँगै बर्सातको समयमा खसेको पहिरोका कारण यात्रुलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी ठुला सवारीसाधन चले पनि खाल्डाखुल्डीका कारण साना साधन कार, मोटरसाइकल, अटोलगायतका साधनमा यात्रा गर्न समस्या हुने गरेको बताउनुहुन्छ । 

घोराही–कमिरेचौर–प्युठान सडक अन्तर्गत घोराहीको नवलपुरदेखि बंगलाचुली गाउँपालिकाको कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक हस्तान्तरण नहुँदै कालोपत्रे उप्किएकाले निर्माण व्यवसायीले सडक बनाउनुपर्ने सडक कार्यालयको अडान छ तर सडक निर्माणको जिम्मण पाएको लुम्बिनी जलजला जेभीले भने सडकको क्षमताभन्दा बढी चुनढुङ्गा बोक्ने टिप्परका कारण सडक कालोपत्रे गरिएको एक वर्षभित्रै उप्किएको भन्दै करिब एक वर्षअघि नेपाल आर्बिट्रेटर काउन्सिलमा निवेदन दिएको छ । अदालत हुँदै नेपाल आर्बिट्रेटर काउन्सिलमा पुगेको विवाद समयमै सुनुवाइ नहुँदा जनताले दुःख पाउनुपर्ने अवस्था सिर्जना भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले बताउनुभयो । 

प्रमुख विष्टले ठेक्का सम्झौताको प्रावधान अनुसार हस्तान्तरण नहुँदै भत्किएको सडकको मर्मतको काम सम्बन्धित निर्माण कम्पनीले गर्नुपर्ने भन्दै प्रमुख विष्टले भन्नुभयो, “सडक निर्माणका क्रममा उप्किएपछि त्यो मर्मत गर्ने काम सम्बन्धित निर्माण कम्पनीको हो । मुद्दा जितेको खण्डमा थप क्षतिपूर्तिसमेत पाउने अवस्था छ । तर निर्माण कम्पनीले विवाद देखाउँदै मर्मत गर्न मानेको अवस्था छैन ।”  जसका कारण सरकारले गरेको करोडौँको लगानी खेर गएको अवस्था छ । 

जीर्ण बनेको सडकका विषयमा पटक पटक जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि ओभरलोड बोक्ने सिमेन्ट उद्योगका टिप्पर नियन्त्रणमा ध्यान नपुगेको बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन बताउनुहुन्छ । घोराही–सिस्नेखोला–कमिरेचौर सडकखण्डमा सम्राट सिमेन्ट उद्योग, घोराही सिमेन्ट उद्योगका टिप्पर दिनहुँ चल्ने गर्छन् । 

अत्यधिक भारका गाडी गुडेकै कारण सडक बिग्रिएको, खाल्डाखुल्डीसँगै धुलाम्मे भएको भन्दै जनताले आन्दोलन गर्ने गरे पनि सडक भने मर्मत हुन सकेको छैन । सडकमा उड्ने धुलोका कारण नागरिकको जीवनमा गम्भीर असर पर्ने गरेको जुम्लेपानी निवासी मोतीलाल घर्ती बताउनुहुन्छ । 

उहाँले सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परको तौल जाँचका लागि बंगलाचुलीको कमिरेचौरमा निर्माण गरिएको धर्मकाँटा सञ्चालनमा ल्याउन सके सडक सुधारमा सहयोग पुग्ने बताउनुभयो । भत्किएको सडक मर्मत गर्नुपर्ने र सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका लागि वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।