• १० कात्तिक २०८१, शनिबार

जल संरक्षणका लागि बहुउपयोगी जलाशय निर्माण गरिने

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक ६ गते । कर्णाली प्रदेश सरकारले जल संरक्षण र पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित बहुउपयोगी जलाशयको निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलाशयहरूको निर्माण गर्न लागिएको हो ।

सिँचाइ सुविधा पुर्‍याउने तथा जल संरक्षण गर्ने उद्देश्य राखेर बहुउपयोगी जलाशयको निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । चालु आवमा बहुउपयोगी जलाशयको निर्माणका लागि १७ करोड बजेट विनियोजन गरिएको छ । यस वर्ष सम्भावित जलाशयको सम्भाव्यता अध्ययन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । चालु आवमा चार/पाँच वटा सम्भावित जलाशयको सम्भाव्यता अध्ययन गरिने मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सम्भाव्यता अध्ययनका लागि १७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले सिँचाइको सुविधा पु¥याउने, भावर क्षेत्रमा जमिनमुनिको पानी पुनर्भरण (रिचार्ज) गर्ने तथा जलपर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको छ । पहाडबाट बग्ने बर्सातको पानी सङ्कलन गरेर ठाउँ ठाउँमा बहुउपयोगी जलाशयहरू बनाइने छ ।

जलाशयको वरिपरि पर्यटक बस्ने र मनोरञ्जन गर्ने भौतिक संरचना बनाउने, माछापालन गर्ने, होटल, रिसोर्ट र होमस्टे सञ्चालन गर्ने, डुङ्गा सयरको व्यवस्था मिलाउने र पर्यटन प्रवर्धन गर्ने लक्ष्य सरकारले राखेको छ । जैविक विविधताको संरक्षणका लागि समेत यो आयोजना महìवपूर्ण हुने भएकाले यस वर्ष सम्भाव्यता अध्ययन गरेर निर्माणको काम थालिने मन्त्रालयका सचिव अधिकारीको भनाइ छ । प्रदेश सरकारले यस वर्ष जलसंरक्षणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस वर्षबाट जल संरक्षणका धेरै कार्यक्रम थालिएको छ ।

जलस्रोतमाथिको बढ्दो चाप तथा जलवायु परिवर्तनले पारेको प्रतिकूल असर न्यूनीकरण गर्न बहुउपयोगी जलाशयहरूको निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बहुउपयोगी जलाशयको निर्माण गरिने जलस्रोत मन्त्रालयका सचिव अधिकारीले जानकारी दिनुभयो । जल संरक्षण गरेर पर्यटन प्रवर्धनमा जोड दिने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

ताल संरक्षणको अभाव

प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । कर्णाली प्रदेशका दैलेख, डोल्पा र सुर्खेतमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् । दैलेख जिल्लाकै ठुलो ताल मदान ताल हाल संरक्षणको पर्खाइमा छ । आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरे पनि यो ताल संरक्षण हुन सकिरहेको छैन । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–३ मा रहेको यो ताल संरक्षण पर्खाइमा छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बिचमा अवस्थित वराहताल पनि संरक्षणको पर्खाइमा छ । 

डोल्पा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय धमाधम नयाँ ताल फेला परिरहेका छन् तर तिनको संरक्षण हुन सकेको छैन । डोल्पोबुद्ध गाउँपालिकाले गत वर्ष मात्र नयाँ ताल फेला पारेको छ । पाँच हजार १९० मिटर उचाइमा नयाँ ताल फेला परेको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताउनुभयो । 

समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका–६, फालगाउँको हिमालमा नयाँ तालका रूपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन् । स्थानीयले नै तालको नामकरण गरेका छन् । उक्त ताल हाल संरक्षणको पर्खाइमा छ ।

डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ । सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका–१ स्थित उच्च मानव बसोबास भएको छार्कभोटमा युवाले पहिचान गरेका हुन् । एकपछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाहरूको भण्डार मानिएको छ तर ती तालहरूको संरक्षण हुन सकेको छैन ।