• ५ कात्तिक २०८१, सोमबार

बुटवलमा औद्योगिक व्यापार मेला हुने

blog

संघको आयोजनामा भएको औद्योगिक व्यापार मेलासम्बन्धि बैठक । तस्बिरः छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, कात्तिक ५ गते । 
बुटवलमा पुस महिनामा औद्योगिक व्यापार मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ का लागि सोमबार सङ्घमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँट गरेको छ ।

बुटवलको व्यापार विस्तार तथा यस क्षेत्रको औद्योगिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले बुटवलमा हरेक वर्ष औद्योगिक व्यापार मेला आयोजना हुँदै आएको छ ।   

औद्योगिक व्यापार मेला–२०८१ को मूल कार्यसम्पादन समितिको संयोजकमा सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल रहनुभएको छ ।त्यस्तै गरी सङ्घका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मूल्याङ्कन तथा अनुगमन समितिको जिम्मेवारी प्रदान गरिएको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई मेला मूल सम्पादन समितिको सहसंयोजकसहित सरकारी निकाय समन्वय, विषयगत उपसमिति समन्वय, संस्कृति कार्यक्रम, साउण्ड सिस्टम तथा स्टेज सञ्चालन, स्वागत तथा प्राथमिक उपचार र विद्युत व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

सङ्घका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

उद्योग उपाध्यक्ष सुरज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको साथै व्यावसायिक सङ्घसंस्था समन्वय, पूर्वाधार तथा उद्योग क्षेत्र समन्वय, गोष्ठी सेमिनार, स्टल दर्ता तथा वितरण, घरेलु हस्तकला तथा पर्यटन प्रवर्द्धन र कृषि प्रविधि तथा बजारीकरणको जिम्मेवारी प्रदान गरिएको सङ्घले जनाएको छ ।

त्यसैगरी वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको साथै राजनीतिक दल समन्वय, परिचय पत्र स्टल निर्माण र खानेपानी तथा सरसफाइको जिम्मेवारी प्रदान गरिएको छ ।

सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीलाई कार्यसम्पादन समितिको सदस्य सचिव तथा प्रवक्ताको साथै सचिवालय, सुरक्षा र पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

कोषाध्यक्ष वसन्तप्रसाद ढकाललाई कार्यसम्पादन समितिमा आर्थिक समितिको संयोजक सहित सौजन्य, खाना तथा खाजा र टिकट व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । सङ्घका सचिव प्रतीक पोखरेललाई कार्यसम्पादन समितिमा सहसचिवको जिम्मेवारी प्रदान गरिएको छ ।