• १ मंसिर २०८१, शनिबार

संस्कृति जीवन्त राख्ने तिहार

blog

नेपाल संस्कृति, चाडपर्वको धनी देश हो । हाम्रा जातजाति, भौगोलिक परिवेश अनुसार भिन्नाभिन्नै चाडपर्व छन् । सबै चाडपर्वमा आआफ्नै महत्व तथा विशेषता देखिन्छ । यी चाडपर्वले हाम्रा संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

तिहार हिन्दु धर्मावलम्बीको एक ठूलो पर्व हो । यस पर्वलाई दीपावली पनि भनिन्छ । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीमा काग तिहारका दिनबाट सुरु भएर कात्तिक शुक्लपक्षको द्वितीयामा भाइटीकाको दिनसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भन्ने गरिएको छ । 

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले पनि यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । तिहारमा भगवान् धन्वन्तरिको जन्म भएको हुनाले धन्वन्तरि जयन्तीसमेत मनाइन्छ । तिहारमा साँझमा घरको मूलद्वारमा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ । 

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वरदान माग” भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुहोला र  दिदी–भाइ, दाजु–बहिनीको प्रेम सदा अटल रहोस् अनि दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस्” वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वर दिई आफ्नी बहिनीसँग बिदा लिएका थिए । त्यस्तै यी पाँच दिन इन्द्रादि १० दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने पौराणिक मान्यता रहिआएको छ । 

यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । दीपावली गर्ने र देउसी, भैलो खेल्दै सेल रोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । 


काग तिहार

यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्छ । यस दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पन्छी हो । काग सर्वभक्षी प्राणीमा पर्छ । कागले अन्न बालीमा लाग्ने किरा, फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । 

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार पर्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । आज्ञापालक एवं रक्षक कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौँ ।

गाई तिहार र लक्ष्मी पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहार र लक्ष्मी पूजा पर्छ । गाई तिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा पवित्र तुल्याउने हिन्दु संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दुले गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । 

कात्तिक कृष्ण औँशीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । अन्धकारमा रातलाई आलोकित पार्न घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । 

नेपालमा यसलाई यमपञ्चकको एक भागका रूपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीले घरघरै गई भैलो खेल्ने चलन छ ।

विक्रम संवत् १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको धोबीधारामा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए । लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो । 

गोरु तिहार

यमपञ्चकको चौथो दिन गोरु तिहार वा गोवर्धन पूजा पर्छ । यस दिन घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । 

पौराणिक कथानुसार गोवर्धन गोकुलनजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एक दिन गोकुलवासीलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् । सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । 

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकाले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराउँछन् । गोकुलवासीलाई यसबाट बचाउन कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबैलाई आश्रय दिन्छन् । अन्त्यमा आफ्नो हार मानेर इन्द्रले कृष्णसमक्ष क्षमा माग्छन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रस्ट्याउँछ ।

भाइतिहार 

यमपञ्चकको पाँचौँ दिन भाइतिहार पर्छ । तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसै गरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । 

भाइटीकाको अघिल्लो दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीकाको निम्तास्वरूप पानसुपारी, फूल आदि दिने चलन । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।  

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका उद्ध्र्वाकार रेखामा लगाइदिन्छन् । सप्तरङ्गी टीकामा पहेँलो, नीलो, सुन्तला, सेतो, हरियो, रातो र कालो गरी सात रङ हुन्छन् । 

त्यस्तै दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले राष्ट्रियता पनि झल्काउँछ । दिदीबहिनीले पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नु पर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिने गर्छन् । सगुनका रूपमा दही ख्वाइदिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छे अनुसार नगद या उपहार दिन्छन् । 

त्यस दिन काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आम मानिसका लागि एक दिन खोलिन्छ । दिदीबहिनी तथा दाजुभाइ नहुनेले भाइटीकाको दिन यस मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाउने प्रचलन छ । 

– अच्युतमान सिंह प्रधान  

–युवामञ्च