• ५ कात्तिक २०८१, सोमबार

धारामा पानी आएपछि बडरबोटका स्थानीय हर्षित

blog

बिन्दु थापा

तानसेन, कात्तिक ५ गते । खानेपानी घरमै आएपछि गाउँले खुसी भएका छन् । तानसेन नगरपालिका ११ बडरबोटका स्थानीयको घरमा पानी आएपछि खुसी भएका हुन् । 

दिन बिताएरै पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि स्थानीयको पानी बोक्नुपर्ने समस्याको समाधान भएको हो । आयोजनाले घरघरै धारा जडान गरेपछि वर्षामा धमिलो पानी खाने तथा गाग्रीमा पानी बोक्नु पर्ने बाध्यता हटेपछि गाउँले खुसी भएका छन् । 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले गार्गी खानेपानीको उद्घाटन गर्दै हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पुर्याउने नेपालको सरकार लक्ष्य भए अनुरुप यस वडामा खानेपानीको सुविधा पुर्याउन सक्दा खुसी लागेको बताउनुभयो ।  

खानेपानी उद्घाटन कार्यक्रममा तानसेन नगरपालिका ११  का वडाध्यक्ष यादव सिंह कार्कीले खानेपानी को समस्याले गर्दा विद्यालयमा पढ्न आउने विद्यार्थीलाई समेत प्रत्यक्ष प्रभाव परेकाले खानेपानी घरघरमा ल्याउन पाउँदा खुसी भएको बताउनुभयो । कार्कीले  पानीको आपूर्ति सहज भएसँगै तरकारी खेती तथा पशुपालन गरी आम्दानी वृद्धि गर्नमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।

खानेपानी भाटेखोला बाट ल्याइएको वडा सदस्य अमर बहादुर रानाले बताउनुभयो  । स्थानीय सङ्गीता भाटले पानी परेको बेला नजिक खानेपानी नहुँदा डोको बोकेर पानी लिन जाँदा समस्या समाधान भएपछि खसिको सीमा नभएको बताउनुभयो । भाटले भन्नुभयो “अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ बच्चालाई समयमै स्कुल पठाउन पाइएको थिएन ,सन्चो नहुदा पनि पानीकै समस्या हुन्थ्यो अब घरमै पानी आएपछि बच्चाले पनि पानी भर्न सक्छन् । ”