• ५ कात्तिक २०८१, सोमबार

ट्राफिक जरिबाना ‘नागरिक एप’ बाट

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ५ गते । सवारी नियम उल्लङ्घन गर्ने चालकले अबदेखि ‘नागरिक एप’ बाट नै भुक्तानी गर्न पाउने भएका छन् । 

काठमाडौँ उपत्यकामा पहिलो पटक सो एपमार्फत जरिबाना गराउने अभियानको आइतबार गृहमन्त्री रमेश लेखकले शुभारम्भ गर्नुभयो । यसको प्रयोग पहिलो चरणमा काठमाडौँ उपत्यकामा परीक्षणका रूपमा सुरु गरिएको हो । निकट भविष्यमा नै देशभर लागु गर्ने तयारी सरकारको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री लेखक तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संयुक्त रूपमा यसको शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताउँदै सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झन्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गर्न सरकार प्रतिबद्धता रहेको बताउनुभयो ।

उहाँले सडक नियम उल्लङ्घन गरे डिजिटल माध्यमबाटै कारबाही र तत्कालै जरिबाना तिर्न सकिने व्यवस्था कार्यान्वयनमा आएपछि ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको पनि बताउनुभयो । 

नागरिक एपमार्फत ट्राफिक उल्लङ्घन गर्ने सवारीचालकलाई रेकर्ड सिस्टम (टिभिआरएस) को ई चलान (डिजिटल चिट) बाट जरिबाना गर्न मिल्ने छ । यसै गरी आइतबारदेखि नै सोही नागरिक एपमार्फत आफ्नो सवारी लाइसेन्स पनि मोबाइल फोनबाटै देखाए पुग्ने व्यवस्था गरिएको छ । सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने क्युआर कोडलाई स्क्यान गरी डिजिटल चिट काट्न सकिने छ । 

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले न्यून साधन स्रोतको उपलब्धताका बिच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यात्रु सुरक्षालाई प्रभावकारी बनाउँदै आएको बताउनुभयो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरत बोहराले अत्यधिक सवारी चाप, सीमित सडक सञ्जाल, सडक नियम पालना नगर्ने प्रवृत्तिलगायतले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको बताउनुभयो ।