• ५ कात्तिक २०८१, सोमबार

बाँदर आतङ्कले स्थानीय हैरान

blog

गाउँमा आतङ्क फैलाउने बाँदर धपाउँदै स्थानीय। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ४ गते। बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण घर, बाली जोगाउन आपत् परेको गुनासो गरेका छन्। उनीहरूले त्यसको रोकथाम र व्यवस्थापनमा सरकारी निकायबाट कुनै किसिमको पहलकदमी नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘न घर जोगाउन सकियो, न त अन्नवालीनै,’ जानकी–५ गुरुवागाउँका रामकुमार यादवले भन्नुभयो, ‘यसबारे स्थानीय सरकार पुरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।’  गुरुवागाउँमा हरेक दिनजसो दुई सयको हाराहारीमा रहेका बाँदरका झुण्डले अराजकता मच्चाउने गरेका छन्।

स्थानीय गाउँलेका अनुसार, त्यसको सबैभन्दा बढी मारमा गरिबका झुपडी परेका छन्।

यतिबेला धान काट्नको चटारोमा किसान छन्।किसान खेतमा गएको बेला घरमा रडाको मच्चाउने बाँदरले खेतमा मान्छे नदेखे धानमा बुर्कुसी मार्छन् ।

जानकीका किसानहरूका अनुसार, बाँदर आतङ्कले तरकारी खेती र फलफूल खेती लगाउनै नसकिने अवस्था भइसकेको छ।

गाउँमा बाँदर लखेट्न हरेक जसो घरमा लठ्ठी बोकेका युवा र छानामा बाँदर दौडादौड गरिरहेको देखिन्थ्यो।किसानका यी समस्याबारे स्थानीय सरकारका प्रतिनिधि पनि बेखबर छैनन्।जानकी–५ का वडाध्यक्ष टिकानाथ यादव आफै बाँदर आतङ्कको सिकार भएको बताउनुहुन्छ। ‘निकै समस्या छ, समाधान दिन सकिएको छैन,’ आफू नै पीडित हुँदा पनि केही गर्न नसकिएको स्वीकार गर्दै वडाध्यक्ष यादवले भन्नुभयो, ‘गाउँलेलाई घर पनि खेत पनि बाँदरले सताएर आपत् बनाएको छ ।’ 

वडाध्यक्ष यादवले आइतबारसम्म जिल्ला वन कार्यालयसँग बाँदर व्यवस्थापनका लागि सहयोग माग्ने सुनाउँदै वडास्तरबाट समाधान गर्नसक्ने समस्या नभएकाले जनताको गुनासो बढेको बताउनुभयो।