• १० कात्तिक २०८१, शनिबार

आन्तरिक पर्यटकको रोजाइमा ढङढङ्गे झरना

blog

ढङढङ्गे झरनाको भ्रमणमा पुगेको आन्तरिक पर्यटकहरु । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ४ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरना आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। 

निकै मनमोहक, आकर्षक र सुन्दर ढङढङ्गे झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुन थालेको पाइएको छ । फुर्सद र चाडपर्वको समयमा आन्तरिक पर्यटकका लागि ढङढङ्गे झरना उपयुक्त तथा आकर्षक गन्तव्य बन्दै गएको छ । हाल ढङढङ्गे झरनामा रमाउन समूहगत रूपमै आन्तरिक पर्यटकको उपस्थिति बढ्न थालेको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूले बताउनुभयो ।

वडाध्यक्ष लिम्बूका अनुसार विगतमा भन्दा यसवर्ष चाडपर्वको समयमा ढङढङ्गे झरनाको भ्रमण गर्ने आन्तरिक पर्यटकको उपस्थिति बाक्लिएको छ । चाडपर्व, बिदा र फुर्सद समयको सदुपयोग गर्दै झरनाको भ्रमण गर्ने पर्यटकको उपस्थिति बढेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । उहाँकाअनुसार ढङढङ्गे झरनाको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । वरिपरि हरियाली जङ्गलसँगै भीर र पहराको बिचबाट झर्ने झरना निकै सुन्दर रहेको उहाँको भनाइ छ । 

स्थानीय रेनु लिम्बूका अनुसार सुरुसुरुमा न्यून सङ्ख्यामा पर्यटकले ढङढङ्गे झरनाको भ्रमण गर्ने गरेका थिए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा ढङढङ्गे झरनाको तस्बिर र भिडियोहरू लगाउने (पोस्ट गर्ने) क्रमले त्यस्ता पोस्टहरू भाइरल हुन थालेपछि आन्तरिक पर्यटकहरू थप आकर्षित हुँदै गएका लिम्बूको भनाइ छ । उहाँकाअनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूबाट झरनाको प्रचार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो ।

यता सिदिङ्वा गाउँपालिकाले पनि ढङढङ्गे झरनासहित सो क्षेत्रमा रहेको तिम्बुङपोखरी, सिदिङ्मा धाम, चमेरे गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल सुरु गरेको जनाएको छ । उक्त पर्यटकीय गन्तव्यहरूमा आवश्यक प्रचारप्रसारका काम, सडक लगायतका पूर्वाधारहरू निर्माण गर्न थालेको गाउँपालिकाले जनाएको छ । आन्तरिक मात्र नभई बाह्य पर्यटक समेतलाई भित्र्याउने गरी तिम्बुङ पोखरी, ढङढङ्गे झरना लगायतलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी पहल भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (वन्दना) ले जानकारी दिनुभयो।