• १० मंसिर २०८१, सोमबार

ढुङ्गाले च्यापिएर बालकको मृत्यु

blog

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ४ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित छारखोलामा एक बालकको मृत्यु भएको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबारा निवासी वीरचन्द्र डाँगीको छोरा ८ वर्षीय संस्कार डाँगीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार बाँफीकोट गाउँपालिका –५ स्थित छारखोलामा शनिबार खेल्न गएका बालक डाँगीको खोलामै ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

खोलामा खेल्ने क्रममा बालकले टेकेको ढुङ्गा पल्टिएको र सोही ढुङ्गाले च्यापिएर बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालक डाँगी डोल्पाबाट बाँफिकोटमा रहेको मामा घर आएका थिए ।

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरीको अनुसन्धान टोली घटनास्थल गएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।