• ४ कात्तिक २०८१, आइतबार

सरकारको सय दिन : २६ वटा प्रशासकीय भवन, ४० झोलुङ्गे पुल निर्माण

blog

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलन ।

काठमाडौँ, कात्तिक ४ गते । शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हाल्नुभएको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले शहरी विकास मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको बताउनुभयो । जसअनुसार सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको जानकारी दिनुभयो । विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको बताउनुभयो ।

प्राकृतिक विपदको समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको बताउनुभयो । जसअनुसार कालीकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने भनेअनुसार दुई वटा पूर्ण रुपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरु बनिसकेको र बाथरुमको केही मात्रै बाँकी रहेको जानकारी दिनुभयो ।

सय दिनको बिचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेल्धुरा उपक्षेत्रीय अस्पताल भवन, डडेल्धुरा, इसिबु स्वास्थ्यचौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुङ्गा स्वास्थ्यचौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्यचौकी भवन गरी सात वटा सम्पन्न गरेको बताउनुभयो ।

जाजरकोट र रुकुमपूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माणका लागि आयोजना कार्यान्वयन एकाइ स्थापना गरी जनशक्ति खटाइएको बताउनुभयो । भौतिक सुविधासहित कार्यालय प्रमुख गइसकेको जानकारी दिनुभयो । भैंसेपाटीमा निर्माणधीन मन्त्री आवास निर्माणका लागि सबै मन्त्रीलाई सार्ने भन्ने लक्ष्य लिएकोमा सो लक्ष्य पनि पूरा गरिसकेको जानकारी दिनुभयो । दमक व्यापारिक कम्प्लेक्स र चितवनको सौरहा सभा हल निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो ।

सचिव गेलालले थापाथलीस्थित नेपाल राष्ट्र बैंक बैंकिङ कार्यालय भवनको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा सम्पन्न गरी राष्ट्र बैंकलाई हस्तान्तरण गरिसकेको बताउनुभयो । नेपालको सबैभन्दा लामो त्रिवेणी-सुस्ता बहुत्तरी झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भ सञ्चालनमा ल्याएको र गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन गर्ने कार्य निर्माणाधीन रहेको बताउनुभयो । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय अब छिट्टै हुने पनि बताउनुभयो ।