• ४ कात्तिक २०८१, आइतबार

ओखलढुङ्गामा ८४ जनालाई डेंगु सङ्क्रमण

blog

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक ४ गते । ओखलढुङ्गाका ८४ जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाको तथ्याङ्क अनुसार हालसम्म ८४ जनालाई डेंगु लागेको पुष्टि भएको हो । 

कार्यालयका सूचना अधिकारी विनोद पोखरेलका अनुसार ३८ जना पुरुष र ४६ जना महिला गरि ८४ जनालाई सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो । 

उहाँहरुले घरमै बसेर उपचार गराइरहनुभएको छ । ओखलढुङ्गा सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रानिबन स्वास्थ्य चौकीमा डेंगु परीक्षण हुने गरेको छ । डेंगु सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने बारे सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । 

घर, कार्यालय वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पुरा बाहुला भएको कपडा लगाउन आग्रह गरिएको छ । डेंगी लागेको शङ्का लागेमा वा अत्यधिक टाउको दुख्ने, ज्वरो आउने, जोर्नी दुख्नेलगायतका स्वास्थ्य समस्या भएमा तत्काल परीक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यालयले जिल्लावासीलाई आग्रह गरेको छ ।