• ४ कात्तिक २०८१, आइतबार

सडक दुर्घटनामा त्रिचालिसको मृत्यु

blog

गोकर्ण दयाल

बैतडी, कात्तिक ४ गते । कञ्चनपुरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस असोज २९ गते डडेलधुराको खस्रेखानमा दुर्घटना हुँदा बैतडीका एक शिशुसहित एकै परिवार चार गरी पाँच जनाको मृत्यु भयो । दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । यस्तै प्रकृतिका २० वटा सडक दुर्घटनामा बैतडीमा गएको तीन वर्षमा ४३ जनाको अकालमै मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार वर्ष २०७८/७९ मा पाँच वटा सवारी दुर्घटनामा परी ११ पुरुष, चार महिला गरी १५ जना, २०७९/८० मा पनि पाँच वटा सवारी दुर्घटनामा तीन पुरुष, ११ महिला गरी १४ जना, २०८०/८१ मा सात वटा दुर्घटनामा छ जना पुरुष र एक महिला गरी सात जना र चालु आव २०८१/८२ को साउनदेखि कात्तिक २ गतेसम्म जिल्लाभित्र तीन वटा र छिमेकी डडेलधुराको सिमानामा भर्खरै भएको बस दुर्घटनामा पाँच जना गरी सात जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार साँघुरो सडक संरचना, सवारी चालक अनुमतिपत्र नभई सवारी हाँक्ने प्रवृत्ति, मादक पदार्थ र लागुऔषध सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने र पुनारो सवारीसाधनका कारण बढी दुर्घटना हुने गरेका छन् । स्थानीय तहले सडक डिभिजन कार्यालयसँग समन्वय नगरी हचुवामा निर्माण गरेका ग्रामीण सडक दुर्घटनाका कारण बने पनि यो विषयमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन । 

साँघुरा सडक चौडा पार्ने नाममा २० करोडका सडक बार (स्टिल क्रस ब्यारियर) भत्काइएको छ । सडकको मोड सुधार गर्ने नाममा दशरथचन्द लोकमार्ग, जयपृथ्वी र महाकाली लोकमार्गमा लगाइएका स्टिल बार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैङ्कको सहयोगमा २०७४ सालमा बैतडीको दशरथचन्द लोकमार्ग, बझाङको जयपृथ्वी लोकमार्ग र दार्चुलाको महाकाली लोकमार्गमा स्टिल बार लगाउने काम भएको थियो । 

बैतडीको खोड्पेदेखि बझाङ सडकखण्डको १०६ किमिमध्ये दुर्घटना बढी हुने ११.४५ किलोमिटर, बैतडीको सतबाँझ–झुलाघाट सडकखण्डको ३७ किलोमिटरमध्ये ४.७९ र बैतडीको सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डको १२६ किलोमिटरमध्ये १०.३३ किलोमिटर क्षेत्रमा स्टिल बार लगाइएको थियो । सडक चौडा पार्ने नाममा अहिले अधिकांश ठाउँका सडक बार भत्काइएका छन् । सडक चौडा पार्ने नाममा बैतडीको खोड्पे–बझाङ सडकखण्डको सडक बार मात्रै नभई यसअघि २०६६ सालमा गरिएको कालोपत्रेसमेत भत्काइएको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश विष्टले बताउनुभयो । 

घाइतेको उपचार गर्ने केन्द्र अलपत्र 

जिल्लाको बढी दुर्घटना हुने सडक क्षेत्रका रूपमा रहेको बैतडीको खोड्पे–बझाङ सडकखण्डलाई ध्यान दिएर घाइतेको आकस्मिक उपचारका लागि निर्माण हुने भनिएको आपतकालीन उपचार केन्द्र (ट्रमा सेन्टर) बजेट नहुँदा अलपत्र परेको छ । 

बैतडी, बझाङ र डडेलधुराको सीमाक्षेत्र खोड्पेमा ट्रमा सेन्टर सञ्चालनमा आए पहाडी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार गर्न सहज हुने लक्ष्यसाथ निर्माण सुरु भएको ट्रमा सेन्टर बजेट अभावकै कारण अलपत्र परेको विष्टले बताउनुभयो । थप बजेट नआउँदा ट्रमा सेन्टरको निर्माण पूरा हुन सकेको छैन । ट्रमा सेन्टरका लागि २०७६ मा ५० लाख रुपियाँ बजेट आए पनि कोरोनाका कारण १५ लाख रुपियाँ फ्रिज भएको र त्यसपछि बजेट नआएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मदन महराले बताउनुभयो ।