• ४ कात्तिक २०८१, आइतबार

पनौतीमा पर्यटकलाई निःशुल्क ‘सम्पदा पासपोर्ट’

blog

केदार तिमल्सिना 

बनेपा, कात्तिक ४ गते । यदि तपाईं पनौती घुम्न आउँदै हुनुहुन्छ भने पनौतीमा रहेको पर्यटक सूचना केन्द्रले तपाईंलाई निःशुल्क रूपमा ‘पनौती हेरिटेज पासपोर्ट’ सम्पदा पासपोर्ट र पथप्रदर्शक (गाइड) उपलब्ध गराउने छ । पनौतीमा पर्यटन सूचना केन्द्रले विश्व पर्यटन दिवसको दिनबाट नेपालमै पहिलो पटक पनौतीमा घुम्न आउने पर्यटकका लागि निःशुल्क हेरिटेज पासपोर्ट र पथप्रदर्शकको व्यवस्था सुरु गरेको हो । 

पनौती पर्यटन सूचना केन्द्रका सदस्य तथा फोटो पत्रकार प्रशान्त श्रेष्ठले पनौती घुम्न आउने पर्यटकलाई लक्षित गर्दै पनौतीमा रहेका ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको जानकारी दिनुका साथै पनौतीमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले हेरिटेज पासपोर्ट (सम्पदा पासपोर्ट) को व्यवस्था गरिएको बताउनुभयो । उहाँले पनौतीमा सुरु गरिएको सम्पदा पासपोर्ट नेपालको पर्यटन क्षेत्रमा पहिलो प्रयास भएको दाबी गर्दै केन्द्रले पनौतीमा आउने पर्यटकलाई सम्पदा पासपोर्टका साथै सम्पदासम्बन्धी नक्सा र एक जना पथप्रदर्शकसमेत निःशुल्क उपलब्ध गराउँदै आएको बताउनुभयो । “सम्पदा पासपोर्ट लागु गरेसँगै यहाँ आउने पर्यटकलाई पुराताìिवक, सांस्कृतिक तथा ऐतिहासिकस्थलको अवलोकनका साथै पनौती आसपास रहेका पर्यटकीय गन्तव्य, प्राकृतिक गन्तव्य, होटल, रिसोर्ट तथा घरवास (होमस्टे) का बारेमा जानकारी लिन सहज भएको छ,” केन्द्रका सदस्य श्रेष्ठले भन्नुभयो । उहाँले केन्द्रबाट पर्यटकलाई सम्पदा पासपोर्ट दिएपछि पनौती घुमेको प्रमाणका रूपमा सम्पदा पासपोर्टमा छाप लगाएर पठाइने बताउनुभयो । 

“पनौतीमा आउने पर्यटकले इको टुरिजम अन्तर्गत पनौतीका १२ वटै वडामा रहेका वनस्पति, चराचुरुङ्गी, खोलानालालगायतको अध्ययन गर्न सक्ने छन्, पर्यटकले वडा नं. ७ का साथै अन्य वडामा रहेका सांस्कृतिक सम्पदा, जात्रापर्व, एड्भेन्चर टुरिजम (प्राकृतिक पर्यटन) अन्तर्गत माउन्टेन बाइक, साइक्लिङ, हाइकिङको मजा लिन सक्ने छन् । यी सबै विषयमा केन्द्रले जानकारी उपलब्ध गराउने छ,” श्रेष्ठले थप्नुभयो । उहाँले पनौतीमा घुम्न आउने पर्यटकलाई जानकारी दिन २२ जना पथप्रदर्शकलाई तालिम दिइएको बताउँदै सामाजिक अभियन्ता अनिल चित्रकारको विशेष सहयोगमा सम्पदा पासपोर्टलगायतको अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले विगत वर्षका पनौतीमा आउने पर्यटकको तथ्याङ्क राख्ने प्रचलन नरहेको बताउँदै वार्षिक रूपमा करिब १० हजार पर्यटक आउने अनुमान गरिएको बताउनुभयो । उहाँले सम्पदा पासपोर्ट लागु गरेसँगै अहिले पनौतीमा दैनिक ५०/६० जना पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउनुभयो । 

“हामीले पनौतीका बारेमा जानकारी दिने उद्देश्यले सम्पदा पासपोर्ट लागु गरेका छौँ, अहिले पनि कतिपय पर्यटक सम्पदा पासपोर्ट लिनका लागि शुल्क तिर्नुपर्ने हो कि भन्ने डरले पासपोर्ट लिनमा आनाकानी गर्नुुहुन्छ, सम्पदा पासपोर्टबापत कुनै शुल्क लिँदै नौँ,” श्रेष्ठले थप्नुभयो । 

केन्द्रले पनौती आउने पर्यटकका लागि घुम्नुपर्ने पनौतीभित्रका सांस्कृतिक सम्पदा (मन्दिर) ३३ वटा मन्दिर तथा त्यहाँसम्म पुग्ने पनौती सांस्कृतिक पदमार्ग नक्सा तयार गरेको छ । पनौती बजार क्षेत्रभित्र १५ वटा होमस्टे (घरवास), रिसोर्ट पाँच वटा, सुविधाजनक होटेल एक तथा बजारबाहिर होटेल एवं होमस्टे रहेको र तिनीहरूको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका लागि गत आवमा बागमती प्रदेश सरकारले २५ लाख र नगरपालिकाले चार लाख रुपियाँ विनियोजन गरेकोमा चालु आवमा प्रदेश सरकारले १५ लाख र नगरपालिकाले चार लाख रुपियाँ विनियोजन गरेको छ ।