• १० मंसिर २०८१, सोमबार

जगेर्ना गरिँदै सराय नाच

blog

केशवराज खनाल

भैरहवा, कात्तिक ४ गते । दसैँको टीका पूर्णिमासम्म लगाउने प्रचलन छ । तथापि, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, कपिलवस्तु, दाङ, बाग्लुङ, स्याङ्जा, प्युठानलगायत जिल्लामा प्रायः एक दिन मात्रै दसैँको टीका ग्रहण गरिन्छ । टिकापछि यी जिल्लामा सरायको बेग्लै रौनक सुरु हुन्छ । यिनै जिल्लाबाट तराई बसाइँ झरेकाले पहाडतिर लोप हुँदैगएको सराय नाचलाई ब्युताएका छन् । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४, जितपुरमा चार वर्षदेखि सराय नाचलाई निरन्तरता दिइँदै आएको छ । भैरहवाका जीवलाल खनालले सराय नाचलाई भैरहवा क्षेत्रमा नचाउन स्थानीय युवालाई आग्रह गरेबमोजिम कृष्णप्रसाद भण्डारीको पहलमा २०७६ सालदेखि नियमित यस भेगमा सराय नचाइँदै आएको छ । 

सिद्धार्थनगर नगरपालिका–७ स्थित दुर्गा मन्दिर परिसरमा सराय हरेक वर्ष प्रदर्शन गरिन्छ । नाचमा विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर भैरहवा आएका युवायुवती तथा प्रौढसमेतको उल्लेख्य सहभागिता रहने गरेको बताइन्छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमदले लुम्बिनी प्रदेशकै मौलिक, कला र संस्कृतिलाई बचाउन र संवर्धन गर्न सराय नाच देखाउने प्रचलनले थप बल पु¥याएको बताउनुभयो ।

सरायका अध्यक्ष सरोज भट्टराईका अनुसार दसैँको टीकाको भोलिपल्टदेखि पश्चिम क्षेत्रका कोट, मन्दिर र शक्तिपीठमा पञ्चैबाजा बजेको सुन्न थालिएको छ । दसैँमा गाउँ फर्किएकाहरू सराय नाच सकिएपछि मात्रै आआफ्नो कर्मथलो फर्किने गरेका छन् । नाचका क्रममा युवा र बुढापाका खुँडा र ढाल जुधाएर नाच्ने गर्छन् । बाजासहितको तालमा ‘वाख्यै–वाख्यै’ भन्दै नाच्छन् । खुँडा नचाउँदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गरेको मानिन्छ  । त्यस क्रममा हतियार नचाउने र देवीदेवताको पूजा गर्ने गरिन्छ । 

पृथ्वीनारायण शाहको पालामा पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानमा भुरेटाकुरे राजाहरू थिए । ती जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यका रूपमा लिने गरिन्थ्यो । त्यतिबेला पनि राजालाई शक्तिपीठ, कोट र मन्दिरमा विजयादशमीका बेला सराय नाच देखाउने चलन थियो । किंवदन्ती अनुसार खाँचीकोट दरबारका राजा दलजित शाहकी छोरी चन्द्रप्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो । त्यसबेलादेखि खाँचीकोटको दरबारलाई विशेष महत्वका रूपमा लिन थालिएको हो । चन्द्रप्रभावतीले पृथ्वीनारायणलाई राजकीय विधि, शासन पद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण भएको मान्यता छ । राक्षसी प्रवृत्तिमाथि दैवीशक्तिको विजयी भएको उपलक्ष्यमा यो नाच मनाउन सुरु गरिएको बताइन्छ । ‘वाख्यै’ मगर समुदायभित्र प्रयोग हुने शब्द हो । देवीले महिसासुरको बध गरेपछि त्यसलाई विजय प्रतीकका रूपमा लिँदै देवीको गुणगान गाउँदै यो नाच मनाउन थलिएको किंवदन्ती छ ।