• १ कात्तिक २०८१, बिहिबार

चार दिनदेखि मन्थलीमा रोकिएका पर्यटकलाई सोलुखुम्बु लान थालियो

blog

नवराज श्रेष्ठ

रामेछाप, कार्तिक १ गते। चार दिनदेखि मन्थली-लुक्ला उडान नहुँदा रामेछापको मन्थलीमा रोकिएका पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको छ।  

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान रोकिएपछि एक हजार भन्दा बढी पर्यटक मन्थलीमै रोकिएका थिए। 

सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बिहीबार पनि नखुलेपछि मन्थली रोकिएको पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उप-प्रबन्धक हिरण साहले बताउनुभयो। 


उहाँले भन्नुभयो, “गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान हिजो बुधबार केही घण्टा सुचारु भएको थियो। खुम्बु क्षेत्रमा फेरि मौसम खराब भएपछि बुधबार मध्यान्हबाट रोकिएको उडान बिहीबार पनि हुन सकेन। अहिले बिहीबार बिहान साढे ११ बजेबाट विभिन्न कम्पनीका पाँच वटा भन्दा बढी हेलिकप्टरले पर्यटकलाई सोलुखुम्बुको फाप्लु र सुर्के लगिरहेका छन्।” उहाँका अनुसार एउटा हेलिकप्टर मार्फत पाँच जना पर्यटक सोलुखुम्बु पुगिरहेका छन् भने सोही सङ्ख्यामा मन्थली फर्किरहेका छन्। 

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ।