• १ कात्तिक २०८१, बिहिबार

चुनौती समाधानका लागि गठबन्धन : एमाले महासचिव पोखरेल

blog

बिहीबार बाँकेको कोहलपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक १ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको राजनीतिमा देखिएको सबैभन्दा जटिल र चुनौतीपूर्ण समस्यालाई हल गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य भएको बताउनुभएको छ ।

एमाले बाँके  क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटीले बिहीबार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले बहुदलीय व्यवस्था पुनः स्थापनापछिका ३४ वर्षमा २८ पटक प्रधानमन्त्री हुनु आफैंमा गम्भीर विषय भएको बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो,  ‘देश बन्नका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक पार्टी र राजनीतिक स्थायित्व आवश्यक हुन्छ, जुन नेपालमा हालसम्म देखिएको छैन ।’

उहाँले पछिल्लो समय राजनीतिमा देखिएका समस्यालाई समाधानका लागि प्रमुख दुई राजनीतिक दलबिच सरकार सञ्चालनमा सहकार्य भएको प्रष्ट पार्नुभयो ।

राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यका लागि वर्तमान सत्ता गठबन्धन बनेको उहाँको भनाइ छ । एमाले र कांग्रेसको गठबन्धन भएपछि मिसन ८४ पहिलो प्राथमिकता रहेको महासचिव पोखरेलले बताउनुभयो । 

भारत र चीनमा बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व भएकाले ती देश विश्वमै विकासको हिसाबले अगाडि बढ्न सकेको बताउनुभयो ।

आगामी निर्वाचनबाट एमालेलाई  निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक भएको भन्दै उहाँले यसमा असफल हुने छुट कसैलाई नभएको दाबी गर्नुभयो । हरेक वडामा कम्तीमा मतदाताको ३ प्रतिशत पार्टी सदस्य बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले हरेक कमिटीमा पार्टीलाई एकताबद्ध बनाउन सकेमात्र मिसन ८४ सफल हुने दाबी गर्नुभयो ।