• १ कात्तिक २०८१, बिहिबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना अधिकृतलाई पूर्व सेवाकालीन तालिम

blog

नवनियुक्त अधिकृतहरुका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बिहीबारबाट काठमाडौँमा सञ्चालन गरेको १४ दिने पूर्व सेवाकालिन तालिम । तस्बिर : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

काठमाडौँ, कात्तिक १ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनोट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई १४ दिने पूर्व सेवाकालीन तालिम बिहीबारबाट काठमाडौँमा सञ्चालन गरेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यन्वयनमा यो ठुलो सङ्ख्याको जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

जनताको ठुलो विश्वास बैंकप्रति रहेको हुँदा व्यावसायिक ढङ्गबाट कार्य गर्ने सोच बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले विभिन्न प्रक्रियापश्चात् बैंकले एकपटक ठुलो सङ्ख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ् क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

अरु सहायक स्तरका कर्मचारीको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताउनुभयो ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनुभएको थियो ।


कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, मानव संशोधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरुलाई बधा तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिका विभागका विभागीय प्रमुख पदमा लक्ष्मी जिसीलगायत कर्मचारीको उपस्थिति थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ् सेवा छ ।