• १४ पुस २०८१, आइतबार

प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल

blog

फाइल तस्बिर ।

काँक्रेविहार (सुर्खेत),  असोज ३० गते ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले  जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसँग सामना गर्न  नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै  आएको बताउनुभएको छ ।  

६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा  उहाँले नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरीको समर्पणभाव सबैको प्रेरणाको स्रोत छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति हामी नेपाली र हाम्रो राष्ट्र नेपालका लागि पुँजी रहेको छ । सीमित साधन र स्रोका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलताका लागि सिङ्गो प्रहरी सङ्गठनलाई म धन्यवाद दिन चाहन्छु ।”

मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको चर्चा गर्दै उहाँले  आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको  प्रहरीको भूमिका प्रमुख हुन्छ भन्नुभयो ।  मुख्यमन्त्री कँडेलले  भन्नुभयो, “नागरिकलाई कानुनी शासनको प्रत्याभूत हुनेगरी  प्रहरी सबै खालका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रणमा पूर्ण सक्षम छ र सक्षम रहिरहनेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ । ”

बदलिँदो परिस्थितिमा सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ/नयाँ आयाम विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपुर उपयोग गर्न अझ सक्षम बन्नुपर्नेमा उहाँको जोड रहेको छ । उहाँले संविधानतः प्रदेश मातहत प्रदेश प्रहरी रहने व्यवस्था भए पनि सङ्घीय कानुनको अभावमा प्रदेश प्रहरी  प्रदेश सरकार मातहत अझै आइसकेको छैन भन्नुभयो । रासस