• ११ मंसिर २०८१, मङ्गलबार

दसैँ मनाउन घर गएकाहरू कर्मथलो फर्किन थाले

blog

धादिङ जिल्लाको मध्य र उत्तरी भेगका गाउँवस्तीबाट पनि दसैँ मनाएर काठमाडौँ, पोखरा, चितवन लगायतका क्षेत्रमा फर्कनेहरुको भीड । तस्बिर : मुरारी अधिकारी

मुरारी अधिकारी
धादिङ, असोज ३० गते ।
दसैँ मनाउन जन्मथलो आएका सर्वसाधारण धमाधम कर्मथलो फर्कन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मथलो छाडेर अन्यत्र गएकाहरु दसैँ मनाउन घर जाने गर्दछन् ।

धादिङ जिल्लाको मध्य र उत्तरी भेगका गाउँबस्तीबाट पनि दसैँ मनाएर काठमाडौँ, पोखरा, चितवन लगायतका क्षेत्रमा फर्कनेहरुको भीड लाग्न थालेको छ । धादिङबेसीमा मङ्गलबार दिनभर गाउँबाट काठमाडौँ फर्कनेहरुको भीड लाग्यो भने बुधबार बिहानैदेखि टिकट काउन्टर मानिसको भीड लागेको छ ।

मङ्गलबारदेखि बडादसैँका लागि दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै गाउँबाट काठमाडौँ फर्कनेहरुको चाप सदमुकाममा देखिएको हो । कर्मथलो फर्किने यात्रुको चाप बढेसँगै धादिङबेसी पुछारबजार, बिच बजार र शीतलबजार क्षेत्रमा भिडभाड बढेको छ ।

धादिङ जिल्लाबाट मात्रै होइन देशभरबाट काठमाडौँ फर्किनेको भीड बढ्दै गएको र पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरु पृथ्वी राजमार्ग हुँदै काठमाडौँ उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।