• ३० असोज २०८१, बुधबार

कम्प्युटर र मोटरसाइकल चलाउन नजाने जागिर चट

blog

जिल्ला हुलाक कार्यालय तनहुँ । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, असोज ३० गते । तनहुँमा कार्यरत हुलाकीले कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन नजानेमा जागिर चट हुने भएको छ । सेवालाई थप प्रभावकारी बनाउन कम्प्युटर र मोटरसाइकल चलाउनुपर्ने प्रावधान राखिएको र चलाउन नजानेमा जागिर चट हुने भएको हो । 

सरकारद्वारा हुलाकको पुनः संरचना अन्तर्गत चिठी वितरण गर्ने हुलाकीलाई प्रविधिमैत्री बन्नु पर्ने प्रावधान राखिएकोले कम्प्युटर र मोटरसाइकल चलाउन नसक्नेले जागिर छोड्नुपर्ने जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिनुभयो  । पालिका तथा जिल्ला हुलाक कार्यालयमा रहेका चिठीपत्र वितरण गर्ने हल्कारालाई कम्प्युटरको सिप सिकेको हुनुपर्ने र मोटरसाइकल चलाउन सक्ने हुनुपर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनभयो । 

सेवाग्राहीलाई छिटो र छरितो ढङ्गबाट सेवा प्रदान गर्नका लागि प्रविधिमैत्री बनाउने क्रममा कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन सक्ने बन्नुपर्ने प्रावधान राखिएको भट्टराईले जानकारी दिनुभयो । भट्टराईले भन्नुभयो, “तीन महिनाभित्र सिप सिक्न भनेका छौँ, सो समयमा कम्प्युटर र मोटरसाइकल चलाउन नसक्नेलाई अवकाश हुन्छ ।” प्रविधिमैत्री बनेका हल्काराको सुविधा थप हुने भट्टराईले जानकारी दिनुभयो । पहिला १५ हजार तलब पाउने हल्काराले कम्प्युटर र मोटरसाइकलन चलाउने ज्ञान लिएपछि २६ हजार ८२ रुपियाँ तलब पाउने उहाँले बताउनुभयो । कम्युटर, मोटरसाइकल, स्कुटर चलाउन सक्ने एक जना हल्काराले दुई जनाको काम गर्न सक्ने भएकाले सुविधा पनि थप गरिएको भट्टराईले बताउनुभयो । 

भट्टराईका अनुसार सरकारले हुलाकको पुनः संरचना अन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै जिल्लामा प्रत्येक पालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । तनहुँका ३७ अतिरिक्त हुलाक कार्यालय र १४ इलाका हुलाक कार्यालय खारेजी गरी पालिकामा कार्यालय स्थापना गरिएको हो । सरकारले प्रस्तुत गरेको बजेटमा इलाका अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णयसँगै जिल्लाका अतिरिक्त र इलाका हुलाक कार्यालय बन्द गरिएको हो । 

इलाका र अतिरिक्त बन्द गरी पालिका हुलाक कार्यालय स्थापना गरिएको कार्यालयले जनाएको छ । इलाका र अतिरिक्त हटाई प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम जिल्लाका व्यास नगरपालिकाबाहेका नौ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो । व्यासमा शिशाघाटमा इलाका हुलाक कार्यालय राखिएको छ । जिल्ला सदरमुकाममा रहने जिल्ला कार्यालयले सोही स्थानीय तहको हुलाकको काम गर्ने भएकोले व्यासमा कार्यालय स्थापना नगरिएको हो । 

यसैबिच कार्यालयले आव २०८०/८१ को वार्षिक प्रगति समिक्षा एवं आव २०८१/८२ को दुई दिने कार्यव्रmम योजना तयारी गोष्ठी गरिएको छ । जिल्ला हुलाक कार्यालयको आयोजनामा पालिकाहरूमा रहेका कार्यालयको सहभागितामा दमौलीमा सोमबार र मङ्गलबार गरी दुई दिने गोष्ठी गरिएको हो । सेवालाई कसरी प्रभावकारी बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।