• १४ पुस २०८१, आइतबार

‘जीवन सारङ्गी रेटेरै चलेको छ’

blog

सारङ्गी बजाएर गीत सुनाउनुहुँदै डम्बर गाइन । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज ३० गते ।
पातलो दुब्लो शरीर । गालामा झुस्स दाह्री जुङ्गा । पछाडि दुईकाँधे झोला भिरेर सारङ्गी रेट्दै गरेको अवस्थामा भेटिनुभयो, भेरी नगरपालिका वडा नम्बर ८ जाजरकोट स्थायी ठेगाना भई हाल बर्दियामा बस्दै आउनुभएको डम्बर गाइन ।

जाजरकोट स्थायी ठेगाना भई हाल बढैयाताल गाउँपालिका वडा नम्बर ४ दक्षिणभकारी बस्दै आउनुभएका ५३ वर्षीय डम्बर गाइन मङ्गलाबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर स्थित एक घरमा सारङ्गी रेट्दै गीत गाउँदै गरेको अवस्थामा भेटिनुभयो ।

डम्बर गाइनले सानैदेखि सारङ्गी बजाउन सिकेको बताउनुहुन्छ । “हाम्रा बाजेबराजुदेखि चल्दै आएको पुर्ख्यौली पेशा हो सारङ्गी बजाएर घरघरमा गीत सुनाउँदै हिँड्ने, म सानैदेखि बुवाको पछिपछि लागेर हिँड्दै गर्दा सारङ्गी बजाउन सिकें र गीत पनि गाउन सिकें ।,” डम्बरले भन्नुभयो, “जीवन सारङ्गी रेटेरै चलेको छ, घरघरमा सारङ्गी बजाएर गीत सुनाउँदै हिँडेरै अहिलेसम्म परिवारको पेट पालेको छु ।”

“घरजग्गा छैन, चारजनाको परिवार छ, अरुको घर जग्गामा बसेका छौं, घरधनीकै जग्गामा खेती गरेका छौं, घरधनी त्यहाँ हुनुहुन्न जिल्लाबाहिर बस्नुहुन्छ, उहाँले हामीलाई घर जग्गा हेरिदिनु भनेर राख्नुभएको हो ।,” डम्बरले भन्नुभयो, “अहिलेसम्म न त स्थानीय सरकारले सहयोग गरेको छ न अरु कसैले, आफ्नै घर जग्गा छैन भूमिहीन छु, कहीँ कतैबाट केही सहयोग मिले जीवन काट्न अलि सहयोग हुनेथियो ।”

पुर्खादेखि चलिआएको सारङ्गी बजाउने पेशा छोराको पुस्ताले हात नहाल्दा भने डम्बर गम्भीर बन्नुभयो । “हाम्रो परम्परा संस्कृति रीतिरिवाज मात्र नभएर जीवन धान्ने माध्यम यही पेशा हो, श्रीमती, एक छोरी र एक छोरा गरेर चार जनाको परिवार छौं, छोरी सानै छ, छोरा १७-१८ वर्षको पुग्यो ।,” डम्बरले भन्नुभयो, “छोराको उमेरमा म बाउलाई साथ दिँदै हिँड्थे, छोराले सारङ्गी बजाउन लाज लाग्छ भन्छ, सारङ्गी बजाउँदिन भन्छ, सीप सिकेको पनि छैन, अब म पछि यो पेशा मेरो घरपरिवारबाट लोप हुने भयो, चिन्ता लाग्छ ।”

बाँके, बर्दियालगायतका अन्य जिल्लामा पनि सारङ्गी बजाएर गीत सुनाउँदै हिँड्ने गरेको बताउनुहुन्छ डम्बर । “पेशै यही भएपछि बाँच्न र परिवार पाल्नका लागि बाँके र बर्दियाका विभिन्न गाउँघरमा सारङ्गी बजाउँदै हिँड्ने गरेको छु, आज बिहान नेपालगन्ज आएको हुँ, घरघरमा सारङ्गी रेट्दै हिँड्दा कसैले २०-५० रुपियाँ दिनुहुन्छ, माया गर्नुहुन्छ, कसैकसैले बसालेरै गीत गाउन लगाउनुहुन्छ १००-२०० सम्म पनि दिनुहुन्छ, कसैले जा भाग् भनेर भन्नुहुन्छ, दुःख लाग्छ ।”

पेट पाल्न मात्रै नभएर समाजबाटै लोप हुँदै जान थालेको पुरानो मौलिक संस्कृति बचाउन र चिनाउन पनि आफू गाउँगाउँ पुग्ने गरेको डम्बरको भनाइ छ । अब आउने नयाँ पुस्ताले यो परम्परागत पेशालाई जगेर्ना नगर्ने हुन् कि भनेर आफू चिन्तित बनेको डम्बरले बताउनुभयो ।