• १० कात्तिक २०८१, शनिबार

पहाडको चुचुरोमा रमाउँदै पर्यटक

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज ३० गते । बाँकेको नरैनापुर गाउँपालिका–५, वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 

केही वर्षअघिसम्म सुनसान रहने गरेको सो मन्दिरमा केही समययता आएर धार्मिक पर्यटकको चाप थेगिनसक्नु छ । महादेव मन्दिर र त्यहाँको मनोरम दृश्य अवलोकन गर्न वार्षिक करिब २० देखि ३० हजार नेपाली र भारतीय त्यहाँ पुग्न थालेका नरैनापुर गाउँपालिकाले जनाएको छ । सो मन्दिर नेपालगन्जबाट २५ किलोमिटर पूर्वदक्षिणमा रहेको नरैनापुरको कोहलादेखि आठ किलोमिटर उत्तरपूर्व पहाडको चुचुरोमा अवस्थित छ । सन्तान नभएकाले त्यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेकाले सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङ र सीमापारि भारतका विभिन्न स्थानबाट पर्यटक दर्शनका लागि आउने गरेका छन् । 

पर्यटक पहाडको उकालो चढिरहँदा जति थकित देखिन्छन्, सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किंदा उनीहरू त्योभन्दा बढी हर्षित र खुसी देखिने गरेका स्थानीय बताउँछन् । चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवान्को दर्शनसँगै पहाडको मनोरम दृश्य अवलोकन गर्न पाउनु सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो । मन्दिरपरिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका अवलोकन गर्न सकिन्छ । 

मन्दिरको दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँका भक्तजन ठुलो सङ्ख्यामा आउन थालेका नरैनापुर–६ का वडाध्यक्ष प्रेम मौर्यले बताउनुभयो । उहाँका अनुसार नरैनापुर कोहलाबाट दुई घण्टाको हिँडाइपछि सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्न सकिन्छ । त्यहाँबाट डाँडाको बाटो हुँदै करिब एक घण्टा पैदल हिँड्नु पर्छ । 

पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्दा भारतीय पर्यटक निकै उत्साहित हुने गरेका नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । यसलाई पर्यटकीय हब बनाउन पालिकाले विकासका केही योजना तयार पारेको जनाउँदै अध्यक्ष शाहले जतिसक्दो बढीभन्दा बढी पर्यटक आकर्षित गराउने उद्देश्य रहेको बताउनुभयो ।