• २६ असोज २०८१, शनिबार

नेपालगन्जमा ५५ फिट अग्लो रावणको पुतला दहन

blog

स्थानीय रामलिला मैदानमा थडाइएको ५५ फिटको रावणको पुतला दहन गरिंदै। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज २६ गते। नेपालगन्जको रामलिला मैदानमा शनिबार साँझ भव्य कार्यक्रमका बिच ५५ फिटको रावणको पुतला दहन गरिएको छ। 

विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिबार साँझ केही बेर अघि दसैँ मेलामा रावणको पुतला दहन गरिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो।  

अध्यक्ष कनोडियाका अनुसार रामलिला सञ्चालक समितिद्वारा आयोजित भव्य मेला शनिबार दिउँसो सुरु भएको थियो। सोही मेलामा साँझ केही बेर अघि रावणको पुतला दहन गरिएको छ।  

भारतको मधुरा बृन्द्राबनको राधारमण मण्डलबाट आएका २५ जना कलाकारको समूहबाट रामको भूमिका निर्वाह गर्नुभएका कलाकारले रावणको पुतलामा अग्नि वाण प्रहार गरेर पुतला दहन गर्नुभएको अध्यक्ष कनोडियाले बताउनुभयो।   

रावणको पुतला दहन हेर्नका लागि नेपालगन्ज लगायत वरिपरिका ग्रामीण क्षेत्रबाट समेत सयौंको संख्यामा सर्वसाधारण रामलिलामा पुगेका थिए। 

आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सम्पन्न गरिने रामलिला सञ्चालक समितिका सदस्य भरतकिशोर वैश्यले बताउनुभयो।

१५० वर्ष अघिदेखि आयोजना हुदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलवारी, धनुषयज्ञ, प्रशुराम, वाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकादहन र लक्ष्मण शक्ति वाण लगायत लीला प्रर्दशन यसअघि नै गरिसकिएको रामलिला सञ्चालक समितिले जनाएको छ।