• ५ पुस २०८१, शुक्रबार

चार पालिकाले दशैंमा तलब भत्ता खुवाउन सकेनन्

blog

पर्सा गाउँपालिकाको कार्यालय सर्लाही । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असोज २४ गते । सर्लाहीको चारवटा पालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मी प्रमुख पर्व दशैँमा समेत तलब, भत्ता नपाउँदा निराश बनेका छन् । 

ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, एक महिलालगायतले समेत सामाजिक सुरक्षा भत्ता पाउन सकेनन् । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलङ्गवाका अनुसार कविलासी नगरपालिका, पर्सा गाउँपालिका, विष्णु गाउँपालिका र बसबरिया गाउँपालिकाको तलब, भत्ता निकासा हुन सकेन । 

वर्ष दिनको मुख्य चाडपर्वमा समेत तलब सुविधा नपाउँदा चार पालिकामा कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले खल्लो महसुस गरेका छन् । ऋण गरेर दशैँ मनाउनुपर्ने अवस्था आएको कविलासी नगरपालिकामा कार्यरत एक कर्मचारीले गुनासो गर्नुभयो । 

चार पालिकाबाट तलब, भत्ता निकासाका लागि नियमअनुसार कागजात प्राप्त हुन नसकेको कोलेनिका सर्लाहीका लेखापाल रामप्रकाश साहले जानकारी दिनुभयो । 

लेखापाल साहले भन्नुभयो, “तलब, भत्ता निकासका लागि गाउँ तथा नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रम र बजेटसहित अन्य आवश्यक कागजात पेश गर्नुपर्ने हुन्छ तर कविलासी, पर्सा, विष्णु र बसबरियाबाट त्यस्ता कुनै कागजात प्राप्त हुनसकेन । प्रक्रिया पूरा गरी आएका अरु १६ वटा पालिकाको केही दिन पहिले नै तलब, भत्ता निकासा भइसकेको छ ।” 

केही पालिकामा आन्तरिक विवाद रहेको र केही स्थानमा गाउँ तथा नगरसभा नै नभएको अनौपचारिक सूचना प्राप्त भएको कोलेनिका स्रोतले जनाएको छ । कविलासी नगरपालिकाले नगरसभा र पर्सा गाउँपालिका तथा बसबरिया गाउँपालिकाले गाउँसभाको उद्घाटन सत्र गरे पनि बजेटमाथि छलफल गरेर बजेट पारित गर्न सकेका छैनन् । 

विष्णु गाउँपालिकामा गाउँसभा नै प्रारम्भ हुन सकेको छैन । विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय यादवले असोज पहिलो साता जसरी पनि गाउँसभा गरेर बजेट पारित गर्ने दाबी गर्दै आउनुभएको थियो । 

दशैँमा समेत तलब, भत्ता निकासा गर्न असफल भएपछि चारवटा पालिकाका पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत कोही फोन उठाउन छाडेर बसेका छन भने कोही फोन ‘स्वीच अफ’ गरेर बसेका छन् । उहाँहरु सम्पर्कमै आउन चाहनुभएको छैन । 

पर्सा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सतेन्द्र यादवले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक अख्तियारी नदिँदा तलब, भत्ता निकासा हुन नसकेको दाबी गर्नुभयो ।  “हाम्रो पालिकामा बजेट पारित भइसकेको छ तर अहिले भएका निमित्तलाई तीन महिनाका लागि दिइएको आर्थिक अधिकार मन्त्रालयबाट थप नगरिँदा समस्या परेको हो,” वडाध्यक्ष रायले भन्नुभयो, “नयाँ सरुवा गरिएको प्रशासकीय अधिकृत हाजिर हुन नआएकाले दशैँमा तलब, भत्ता खुवाउन सकिएन ।” 

अघिल्लो आर्थिक वर्षमा आन्तरिक विवादका कारण निकै ढिलो गरी बजेट ल्याएका हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले यो वर्ष सबैभन्दा सुरुमा नै तलब, भत्ता र दशैँ खर्च निकासा गरेर कर्मचारी, शिक्षकलाई वितरण पनि गरिसकेका छन् । यी पालिकाका कर्मचारी यो वर्ष बेलैमा तलब, सुविधा पाउँदा खुसी देखिन्छन् ।  

जिल्लाको गोडैता नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति नै जारी गरी कर्मचारीको तलब सुविधा वितरण भइसकेको जनाएको छ । नगरप्रमुख देवेन्द्र यादवले केही सञ्चारमाध्यममा गोडैताले पनि तलब, भत्ता निकासा नगरेको भनी समाचार आएकोप्रति आपत्ति जनाउँदै सो समाचार भ्रामक रहेको उल्लेख गर्नुभएको छ ।