• २० असोज २०८१, आइतबार

हेवा खोलामा फड्के बनेपछि फर्कियो खुशी (फोटो फिचर)

blog

हेवा खोलाको फड्के तर्दै यात्रु । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, असोज २० गते। बाढीले पुल बगाएपछि वारपार गर्ने माध्यम टुटेको मेची राजमार्गस्थित फिदिम-भारपाखण्डको हेवा खोलामा नेपाली सेनाले फड्के बनाएसँगै स्थानीयको खुशी फर्किएको छ।

असोज १२ गते गएको बाढीले हेवा खोलाको बेलिब्रिज बगेपछि फिदिम- ४ र हिलिहाङ-७ को सडक सम्पर्क विच्छेद भएको थियो। यसैबिच नेपाली सेनाले फिदिम नगरपालिकासँगको समन्वयमा वारी र पारी फलामका पोल गाडेर लठ्ठा टाँगी बाँस र ग्याबिन जाली सहितका सामग्री प्रयोग गरेर झोलुङ्गे पुल आकारको फड्के बनाएको हो।

फड्के बनेसँगै सवारी साधनबाट खोला किनार आइपुगेका यात्रु वारपार गर्न सहज  भएको छ। स्थानीयलाई यात्रुका सामग्री वारपार गराउने  रोजगारी पनि मिलेको छ।


हिजोआज हेवा खोला फड्केबाट सामग्री तार्नका लागि ३० जना भन्दा धेरै स्थानीय खटिरहेका छन्। एकपटक एउटा बोरा तार्दा एकसय रुपियाँ पारिश्रमिक तोकिएको छ।

यसरी सामग्री तार्दा प्रतिव्यक्ति दैनिक छ हजार रुपियाँसम्म आम्दानी गर्न सफल भएको स्थानीय रेशम लिम्बूले बताउनुभयो।  स्थानीयले यात्रुका झोला र बोरा मात्रै नभएर खाद्यान्न, तरकारी र मोटरसाइकल समेत तार्न सघाइरहेका छन्। 

हेवा खोलाको बेलिब्रिज असोज १२ गते बाढीले बगाएको थियो। पुल बगेपछि यहाँबाट ठुला सवारीका साधन आउजाउ ठप्प छ। फड्के बनेको ठाउँ नजिकै डाइभर्सन गरेर बाटो खुलाउने प्रयास भइरहेको सडक डिभिजन इलामका इन्जिनियर विपिन ढुङ्गानाले बताउनुभयो। 



तस्बिर : राधा लुइटेल