• १९ असोज २०८१, शनिबार

शारदीय दुर्गापूजा बडादसैँ

blog

महाभारतयुगसम्म आइपुग्दा शक्तिलाई उमा, काली, विजया, कात्यायनी, चण्डी, दुर्गा, ललिता आदि देवीका रूपमा साकार उपासनाको परम्परा विकसित भइसकेको देखिन्छ । देवीउपासनाको परम्परामा शारदीय नवदुर्गा पूजा वा बडादसैँको नेपाली समाजमा ठुलो महत्व र प्रसिद्धि रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ भएर नवमीका दिनसम्म दुर्गा भगवतीको पूजाआराधना गरी दशमीका दिन पूजा विसर्जन हुने दुर्गापूजाको महापर्वलाई नेपालमा बडादसैँ भनिन्छ ।

परब्रह्मस्थानीय उपास्यका रूपमा देवी या पराशक्तिलाई ग्रहण गर्नु र देवी वा मातृशक्तिलाई विश्वब्रह्माण्डको एक मात्र परम कारण मान्दै उनलाई नित्य, शाश्वत तत्वका रूपमा उपासना गर्नु शक्ति उपासनाको मुख्य विशेषता हो । सर्वप्राचीन लिखित साहित्यका रूपमा ऋग्वेदमा सर्वप्रथम देवी वा शक्तिको उल्लेख पाइन्छ । ऋग्वेदका ऋचाहरूमा वर्णित देवीहरू कुनै निश्चित तत्वका रूपमा नभई प्रकृतिकै कुनै शान्त र सुन्दर रूपमा वर्णन गरिएको पाइन्छ । त्यसै क्रममा ऋग्वेदमा सरस्वतीलाई बल, ज्ञान, ऐश्वर्य र अन्न आदि प्रदान गर्ने देवीका रूपमा चित्रण गर्दै उनी सबैलाई पवित्र बनाउने देवी हुन् भनिएको छ । यिनी उत्तम बुद्धिले युक्त विद्वान् व्यक्तिहरूलाई ज्ञान प्रदान गर्दै तिनको यज्ञ, श्रेष्ठ कर्म र देवताको उपासनालाई धारण गर्दछिन् भनिएको छ (ऋग्वेद, १।२।३।१०–१२) । त्यसै गरी ऋग्वेदकै दशम मण्डलमा सरस्वतीको वर्णनको प्रसङ्गमा ज्ञानको प्रकाश दिने परम सुखदाता प्रभुको प्रार्थना गर्दै मानिस सरस्वतीलाई असीमित ज्ञानले सम्पन्न शक्तिका रूपमा स्वीकार्दछन् भनिएको छ (ऋग्वेद, १०।६१) । अथर्ववेदमा लोकहितकारी कार्य गर्दा शत्रुहरूको घातप्रतिघातद्वारा मनमा क्षोभ उत्पन्न हुने स्थितिमा आफ्नो ज्ञानमय एवं स्नेहमय लेपनद्वारा उक्त क्षोभरूपी घाउ निको पार्न देवी सरस्वतीसँग प्रार्थना गरिएको छ । (अथर्ववेद, ७।५७।१) । त्यसै गरी उषालाई ऋग्वेदमा समस्त विद्याले परिपूर्ण, दुःखदायी अज्ञानदेखि भिन्न, विविध प्रकारका ज्ञानलाई प्रकाशित गर्ने, पापलाई डढाउने एवं मनुष्य मात्रका लागि ज्ञानमार्गको प्रदर्शक देवीका रूपमा वर्णन गरिएको पाइन्छ । अदितिलाई ऋग्वेदमा समस्त प्राणी एवं जगत्रूपी प्रपञ्चकी जननी तथा संहारकर्ताका रूपमा वर्णन गरिएको छ । त्यसै गरी ऋग्वेदमा रात्रि, पृथिवी, इला, भारती, मही आदि देवीहरूको पनि चर्चा पाइन्छ । ब्राह्मण एवं आरण्यकग्रन्थहरूमा ब्रह्मको शक्तिका रूपमा गायत्री एवं सावित्रीको वर्णन पाइन्छ । 

तैत्तिरीयारण्यकमा दुर्गादेवीको विस्तृत वर्णन पाइन्छ, जहाँ दुःस्वप्ननाशिनी दुर्गादेवीसँग आफ्ना सम्पूर्ण पापको हरण गर्न प्रार्थना गरिएको छ (तैत्तिरीयारण्यक,१०।१) । त्यसै गरी ब्राह्मणग्रन्थहरूमा कुहु, राका, सिनीवाली आदि रात्रिदेवीहरूको पनि उल्लेख पाइन्छ । उपनिषद्हरूमा ब्रह्ममा अन्तर्निहित शक्तिलाई नै सम्पूर्ण जगत्रूपी प्रपञ्चको कारण मानिएको छ । एउटै ब्रह्म विभिन्न शक्तिको योगले विभिन्न रूपमा आभासित हुन्छ । उसका विभिन्न शक्तिमध्ये इच्छा, ज्ञान र क्रियारूप शक्ति प्रमुख मानिन्छन् । छान्दोग्योपनिषद्, ऐतरेयोपनिषद्, केनोपनिषद्, कठोपनिषद्, बह्वृचोपनिषद्, मैत्रेøयुपनिषद्, बृहज्ज्वालोपनिषद् आदि उपनिषद्हरूमा शक्तिका विविध रूप र महिमाको वर्णन एवं स्तुति गरिएका प्रसङ्ग पाइन्छन् । यसका अतिरिक्त त्रिपुरोपनिषद्, त्रिपुरातापिन्युपनिषद्, देव्युपनिषद्, भावनोपनिषद्, सरस्वतीरहस्योपनिषद्, सीतोपनिषद्, सौभाग्यलक्ष्म्युपनिषद् आदि शक्ति उपासनापरक उपनिषद्हरू छन् जसमा शक्तिका विविध रूप, तिनको महिमा र उपासनाको विशद् वर्णन पाइन्छ । महाभारत युगसम्म आइपुग्दा शक्तिलाई उमा, काली, विजया, कात्यायनी, चण्डी, दुर्गा, ललिता आदि देवीका रूपमा साकार उपासनाको परम्परा विकसित भइसकेको देखिन्छ । यसै पृष्ठभूमिमा विकसित भएको देवीउपासनाको परम्परामा शारदीय नवदुर्गा पूजा वा बडादसैँको नेपाली समाजमा ठुलो महत्व र प्रसिद्धि रहेको छ । 

आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ भएर नवमीका दिनसम्म दुर्गा भगवतीको पूजा आराधना गरी दशमीका दिन पूजा विसर्जन हुने दुर्गापूजाको महापर्वलाई नेपालमा बडादसैँ भनिन्छ । चैते दसैँका रूपमा परिचित चैत्र शुक्ल प्रतिपदादेखि आरम्भ भएर सोही पक्षको नवमीसम्म मनाइने वसन्त नवरात्रको तुलनामा शरद् ऋतुको यो नवरात्र सांस्कृतिक दृष्टिले विशेष महत्वको छ । शाक्त साधकमा प्रचलित तर अन्य साधारण व्यक्तिलाई त्यति जानकारी नभएको अन्य दुई वटा नवरात्रलाई गुप्त नवरात्र भनिन्छ । यी दुई गुप्त नवरात्र आषाढ शुक्ल प्रतिपदादेखि नवमीसम्म र माघ शुक्ल प्रतिपदादेखि नवमीसम्म पर्दछन् । यस लेखमा शरत्कालिक दुर्गापूजाका विषयमा चर्चा गरिएको छ । 

दुर्गापूजा नित्य, नैमित्तिक कि काम्य 

पूजा नित्य, नैमित्तिक र काम्यभेदले तीन प्रकारको हुन्छ । जुन पूजा नगर्दा प्रत्यवाय (पाप) लाग्दछ वा नगरेबापत प्रायश्चित्त गर्नु पर्दछ त्यसलाई नित्यपूजा भनिन्छ । नगर्दा कुनै प्रत्यवाय नलाग्ने तर गर्दा फल प्राप्त हुने र विशेष तिथि या पर्वकालमा गरिने पूजालाई नैमित्तिक पूजा भनिन्छ भने सुख समृद्धि, स्वजन, परिवारजनमा राम्रो होस् इत्यादि कुनै विशेष कामनाले गरिने पूजालाई काम्य पूजा भनिन्छ । यो शारदीय दुर्गापूजालाई तिनै किसिमको पूजा मानिएको छ (महाकालसंहिता गुह्यकालीखण्ड, १३।११४–१२२) । 

कल्पभेदका कारण दुर्गापूजाका तीन भेद

रम्भकल्पमा रम्भासुरको पुत्रका रूपमा जन्मेको महिषासुरलाई १८ हात भएकी उग्रचण्डाको स्वरूपमा देवी दुर्गाले मारिन् । नीललोहितकल्पमा त्यो महिषासुर फेरि जन्मियो र देवताहरूलाई दुःख दिने तथा यज्ञयगादिमा बिघ्न उत्पन्न गर्न थाल्यो । यो देखेर महामाया भगवतीले सोह्रहाते भद्रकालीको स्वरूप लिएर त्यसलाई मारिन् । श्वेतवराहकल्पमा महिषासुर फेरि जन्मियो र जैगीषव्य मुनिको कृपाले पूर्वजन्मका बारेमा थाहा पाउने भयो । दुई पटक देवीको हातबाट मारिएको थाहा पाई आफू स्त्रीद्वारा मारिने जानेर अनि कात्यायनको श्राप र सपनामा स्त्रीको हातबाट मरेको देखेर उसले देवीको आराधना गर्‍यो । दिव्य १२ हजार वर्षको तपस्यापछि देवी प्रत्यक्ष भई वर माग्न लगाइन् । उसले म वर माग्नेछु, पहिले मेरो कुन संशय मेटाउनुहोस् भने तपाईंले मलाई दुई पटकसम्म कुन स्वरूप लिएर मार्नुभयो र यो जन्ममा कुन स्वरूप लिएर मार्नुहुनेछ ? त्यसपछि देवीले १८ हात भएको, विभिन्न शस्त्रास्त्रले विभूषित, मुण्डमाला लगाएको, भयङ्कर डरलाग्दो उग्रचण्डास्वरूप देखाइदिइन् । भयङ्कर उग्रचण्डा स्वरूप देखेर ऊ डरायो र यस्तो डरलाग्दो स्वरूप त्याग्नुहोस् त्याग्नुहोस् भनी हात जोडेर प्रार्थना गर्न थाल्यो । त्यसपछि उग्रचण्डाको स्वरूप त्यागेर देवी प्रकृत स्वरूपमै आइन् । त्यसपछि फेरि देवीले सोह्रहाते डरलाग्दो भद्रकालीको स्वरूप देखाइदिइन् । भद्रकालीको स्वरूप देखेर पनि ऊ अत्यन्त डरायो । त्यसपछि उसले तीन वटा वर माग्दै भन्यो, “हे देवी ! मलाई सौम्य स्वरूप धारण गरेर मार्नुहोस्, तपाईंको बायाँ पाउ मेरो शिरमा होस् र मर्ने बेलामा मैले तपाईंलाई हेरिरहन पाऊँ अनि देवताले जस्तै मैले पनि कुनै यज्ञभाग पाऊँ ।” (महाकालसंहिता गुह्यकालीखण्ड, १३।१५२–१८४) । भगवतीले महिषासुरलाई तथास्तु भनी वर दिइन् । भगवती दुर्गाले पहिले रम्भकल्पमा उग्रचण्डाको स्वरूप लिएर महिषासुरलाई मारेको आधारमा भगवती दुर्गालाई उग्रचण्डा स्वरूपमा पूजाआराधना गर्न चाहने साधकले आश्विन कृष्ण नवमीका दिन देवीको उद्बोधन गरी आश्विन शुक्ल नवमीसम्म १६ दिन उग्रचण्डा भगवतीको पूजाआराधना गर्दछन् । यसलाई उग्रचण्डाकल्प वा नवमीकल्प भनिन्छ । भगवती दुर्गाले नीललोहितकल्पमा भद्रकालीको स्वरूप धारण गरी महिषासुरलाई मारेको आधारमा देवी भद्रकालीको पूजाआराधना गर्न चाहने साधकले आश्विन शुक्ल प्रतिपदाका दिन देवीको उद्बोधन गरी आश्विन शुक्ल नवमीसम्म भद्रकालीको पूजाआराधना गर्दछन् । यसलाई भद्रकालीकल्प वा प्रतिपत्कल्प भनिन्छ । तेस्रो षष्ठीकल्प वा कात्यायनी कल्प अनुसार आश्विन शुक्ल षष्ठीका दिन साँझ दशभुजा कात्यायनी भगवतीलाई उद्बोधन (ब्युँझाउने कार्य) गरी सप्तमीदेखि नवमीसम्म तीन दिन कात्यायनी स्वरूपमा देवी दुर्गाको पूजाआराधना गरिन्छ ।

कल्पभेदले शारदीय दुर्गापूजाका तीन वटा भेद देखिन्छन् भने पद्धतिभेदले पौराणिक र तान्त्रिक दुई वटा भेद देखिन्छन् :

पूजायाः कथितं चात्र द्वैविध्यं मुनिपुङ्गवैः ।

पौराणिकं तान्त्रिकं च कालिकाप्रीतिसिद्धये ।। 

शारदीय दुर्गापूजाको उद्भवसम्बन्धी कथा

शारदीय दुर्गापूजाको उद्भवसम्बन्धी कथा महाकालसंहितामा पाइन्छ । जस अनुसार त्रेतायुगमा राम र रावणको युद्धका क्रममा रावणमाथि कालिकाको कृपादृष्टि रहेकाले रामले उनलाई मार्न सकिनन् । त्यसपछि बडो चिन्तित भएर सम्पूर्ण देवताले घेरिएका ब्रह्माले हिमालयमा निवास गर्ने कालिकालाई ब्युँझाए र युद्ध हेर्नका लागि बोलाए । यो अनुरोध स्वीकार गरी भगवती कालिका युद्ध हेर्नका लागि आइन् । आश्विन शुक्ल प्रतिपदाका दिन भगवती सो युद्ध हेर्न त्यहाँ पुगिन् । सात दिनसम्म अहर्निश युद्ध हुँदा पनि रामले कालीको उपासक रावणलाई जित्न सकेनन् । यता रावणले पनि रामलाई जित्न सकेनन् । रावणको बल र शौर्य देखेर प्रसन्न भएकी कालीको कृपा रावणमाथि भएको देखेर ब्रह्मा आदि देवताले स्तुति नमस्कारपूर्वक कालीलाई प्रसन्न बनाए । प्रसन्न भएकी कालीले वर माग्न भनिन् । ब्रह्माले देवताका साथमा धर्मको संस्थापनका लागि राक्षसको पक्ष छाडिदिनुहोस्, देवताहरू निरापद र निरामय बनून्, लोकमा ऋषिमुनि र साधुसन्तले देवीदेवताको आराधना गर्ने र तपस्या गर्ने वातावरण बनोस्, आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म हजुरको पूजाआराधना लोकमा चल्ने छ र राम सदैव हजुरका उपासक रहने छन् र रामले उपासना गरेको तपाईंको प्रीतिकर मन्त्र लोकमा प्रसिद्ध हुने छ भनेर वर मागे । तथास्तु भनी काली अन्तध्र्यान भइन् । त्यसपछि रामले दिव्यास्त्र प्रयोगद्वारा रावणलाई मारेको हुँदा शरत्कालिक दुर्गापूजा आरम्भ भएको प्रसङ्ग महाकालसंहितामा छ (महाकालसंहिता गुह्यकालीखण्ड, १३।१२४–१४५) । 

शारदीय दुर्गापूजाको स्थल वा आधार

दुर्गापूजाका लागि आधार वा स्थलका रूपमा दियो, मूर्ति, यन्त्र, बिल्ववृक्ष, बिल्वपत्र, घडा, गाईको गोबरले लिपेको उच्च वेदी, सिन्दूरले बनाइएको मण्डल, त्रिशूल, खड्ग, वाण, पुस्तक, तस्बिर, सर्वतोभद्रमण्डल, अनादिपीठ, शिवलिङ्ग, जल, अग्नि, नारकपाल आदिलाई ग्रहण गरेको पाइन्छ (महाकालसंहिता गुह्यकालीखण्ड, १३।६१७–६२१) । 

शारदीय दुर्गापूजाको सङ्क्षिप्त विधान

शारदीय दुर्गापूजाको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदा तिथिका दिन पवित्र स्थानमा कलश वा घट स्थापना गरेर सोही घटमा भगवती दुर्गाको अथवा आफ्ना इष्टदेवतालाई दुर्गाका रूपमा आवाहन, प्रतिष्ठा, पूजन, अखण्ड दीप प्रज्वलन, यवरोपण (जमरा रोप्ने कार्य) गरिन्छ । द्वितीया र तृतीयाका दिन दुर्गाको प्रतिष्ठा गरिएको कलश वा घटमा पहिलो दिनको जस्तो गरी दुर्गापूजा गरिन्छ । चतुर्थीका दिन सामथ्र्यले भ्याएमा बडो विस्तारपूर्वक देवीको पूजा गर्ने, विभिन्न वस्त्र, आभूषण देवीलाई चढाउने विधान महाकालसंहितामा पाइन्छ (महाकालसंहिता गुह्यकालीखण्ड, १३।६०७गघ–६१०कख) । सामथ्र्य नहुनेले दोस्रो वा तेस्रो दिन जस्तै गरी पूजा गर्दछन् । पाँचौँ दिन पनि दोस्रो र तेस्रो दिन जस्तै गरी पूजा गरिन्छ । छैटौँ दिन बिहानको पूजा अरू दिनको जस्तै हुन्छ, साँझमा भने सङ्कल्प एवं स्वस्तिवाचनपूर्वक बेलको हाँगोमा भगवती दुर्गालाई जगाई भूतशुद्धि, षडङ्गन्यास आदि कर्म गरी सोही बेलको हाँगोमा भगवतीको आवाहन गरेर विभिन्न उपचारले पूजा गर्नु पर्दछ । बेलको रुखलाई पनि पूजा गरी शङ्खघण्टा बजाई, विभिन्न प्रकारका आभूषण, सुगन्धित द्रव्य, विभिन्न मङ्गल द्रव्यहरू देवीलाई समर्पण गरेर बाजागाजा र उत्सवका साथ अधिवासन कर्म पनि सम्पन्न गरिन्छ । दुर्गालाई उद्बोधन गर्नु भनेको वास्तवमा आफूभित्र शक्तिको जागरण गर्नु हो किनभने शक्तिको जागरणबिना भौतिक वा आध्यात्मिक कुनै पनि लक्ष्यप्राप्ति सम्भव छैन । सप्तमीका दिन बिहान अरू दिन जस्तै दुर्गाको पूजाआराधना गरिसकेपछि षष्ठीका दिन पूजा गरिएको बेलको वृक्ष र देवीलाई उद्बोधन गरिएको हाँगामा पूजा गरी हात जोडेर “हे बिल्ववृक्ष ! तिम्रो हाँगो घरमा लगी दुर्गास्वरूपले पूजा गर्छु, हाँगो काटेकोमा दुःख नमान्नू” भनी हाँगो काटेर बिल्वपत्र र सो हाँगोका साथमा केराको पात, अनारको पात, कच्ची (कालो हलेदो), हलेदो, अशोक, मानकञ्च (मानेझार), जयन्ती र धानको बाला गरी नौ प्रकारका पातलाई अपराजिता फूलको लहरा र कपडाले बेरेर उत्सवका साथ पूजाकोठामा भित्र्याइन्छ र विभिन्न नदीको जलले नवपत्रिकालाई स्नान गराएर ती नवपत्रिकामा तिनका अधिष्ठात्री देवीहरूको आराधना गरी देवीलाई विभिन्न तीर्थ तथा सागरको जल, शङ्खजल, गङ्गाजल, उष्ण जल, सुगन्धित जल, पञ्चगव्य, पञ्चामृत, ऊखुको रस, नरिवलको पानी, सुनपानी, सर्वोषधि आदिले महास्नान गराइन्छ । सकिन्छ भने सप्तमी, अष्टमी र नवमी तिनै दिन, सकिँदैन भने दुई दिन, त्यो पनि सकिँदैन भने नवमीको दिन चाहिँ अवश्य महास्नान गराउनुपर्ने विधान पाइन्छ । त्यस सम्बन्धमा महाकालसंहितामा यस्तो उल्लेख गरिएको छ :

शक्तौ दिनत्रयं कार्यमशक्तौ तु दिनद्वये ।

सर्वाभावे नवम्यां तु स्नानमावश्यकं मतम् ।।

अष्टमीका दिन भगवती दुर्गाको विशेष पूजा गरिन्छ । यसै दिन प्रचण्डा, चण्डा, चण्डोग्रा आदि अष्टशक्ति, चौसट्ठी योगिनी, ब्रह्माणी, माहेश्वरी, वैष्णवी आदि नवदुर्गा, जयन्ती, मङ्गला, काली आदि ११ देवी, खुकुरी, खुँडा आदि अस्त्र, देवीका गण, देवीको वाहन सिंह, महिषासुर, क्षेत्रपाल, असिताङ्ग, रुरु, चण्ड, क्रोध आदि नवभैरव, इन्द्र, अग्नि, यम, निऋति, वरुण आदि अष्टदिक्पालको पूजा गरिन्छ । अष्टमीकै दिन कालरात्रिको पनि विधान छ । कालरात्रि गर्दा अष्टमी र नवमीका सन्धिकालमा चामुण्डाको पूजा गरिन्छ । त्यस क्रममा राँगो, बोका आदि पशुबलि दिने शास्त्रीय विधान छ र त्यसै अनुरूप शक्तिपीठहरूमा बलि दिइन्छ । पूजकले आफ्नो पूज्य देवतालाई प्रसन्न गराउने वा तृप्त गराउने उद्देश्यले चढाउने वस्तुलाई नै बलि भनिन्छ । देवतालाई प्रदान गर्ने वस्तुमा साधकको इच्छा बलवान् हुन्छ त्यसैले जे जे आफूलाई मन पर्छ सोही वस्तु देवतालाई चढाउनु पर्छ भन्ने महानिर्वाणतन्त्रको वचन रहेको छ :

साधकेच्छा बलवती देये वस्तुनि दैवते ।

यद्यदात्मप्रियं द्रव्यं तत्तदिष्टाय कल्पयेत् ।। 

पितृ र देवतालाई उद्देश्य गरेर पशुबलि दिनु र प्रसादस्वरूप मासु ग्रहण गर्नु शास्त्रसम्मत देखिन्छ । ‘वैदिकी हिंसा हिंसा न भवति’, ‘यज्ञार्थे पशवः सृष्टाः’ आदि शास्त्रीय वचनले त्यही कुराको सङ्केत गरेको छ । विधिपूर्वक दिइने बलिले फलप्राप्ति हुन्छ भने विधि नपु¥याई मुखको स्वादका लागि जथाभाबी काटमार गरेर मासु खानु दोषयुक्त हुन्छ । नवमीका दिन पनि देवीको विशेष पूजा गरिन्छ । नवमीका दिन हवन र कुमारीपूजन गर्नैपर्ने शास्त्रीय विधान छ । दशमीका दिन निराजन, पुष्पाञ्जली आदि गरेर दुर्गापूजाको विसर्जन गरिन्छ र आफूभन्दा ठुलाबडा र मान्यजनबाट देवीको प्रसादस्वरूप टीका ग्रहण गर्नेपरम्परा छ ।

सप्तशती पाठको महत्व

मार्कण्डेयपुराणको ७३ अध्यायदेखि ८६ अध्यायसम्मको देवीमाहात्म्यपाठ नै दुर्गासप्तशती वा सप्तशती चण्डीका नामले परिचित छ । शारदीय दुर्गापूजामा शप्तशतीपाठको महत्व बताउँदै महाकालसंहितामा भनिएको छ : 

होमः सप्तशतीपाठो बलिर्वादित्रवादनम् ।

चतुष्टयमिदं शस्तं मासीषे कालिकार्चने ।।

अर्थात् आश्विनमासमा गरिने कालिकापूजा (दुर्गापूजा) मा होम, सप्तशतीपाठ, बलि र बाजागाजा बजाउनु अत्यन्त राम्रो मानिन्छ । चण्डी वा सप्तशतीलाई सम्पूर्ण स्तोत्रमा सबैभन्दा श्रेष्ठ मानिएको छ । जसरी यज्ञहरूमा अश्वमेध यज्ञ श्रेष्ठ मानिन्छ, देवताहरूमा विष्णु श्रेष्ठ मानिन्छन्, त्यसै गरी स्तोत्रहरूमा सप्तशतीस्तोत्र श्रेष्ठ मानिन्छ । भोग र मोक्ष दुवै प्रदान गर्ने, पवित्रहरूमा पनि अति पवित्र यो जस्तो अर्को कुनै स्तोत्र छैन (दुर्गोपासनाकल्पद्रुमाध्याय, ३१ प्रकरण १२२–१२३ श्लोक) । सप्तशतीको समग्र रहस्य बुझ्न सक्ने आफूबाहेक कोही नभएको कुरा मारीचकल्पमा स्वयम् सदाशिवले बताएका छन् । सप्तशतीको समग्र रहस्यमध्ये ७५ प्रतिशत रहस्य विष्णुले बुझेको, त्यसको ५० प्रतिशत रहस्य ब्रह्माले बुझेको, त्यसको २५ प्रतिशत रहस्य व्यासले बुझेको र अरूले समग्र रहस्यको एक अंश मात्र बुझेको कुरा मारीचकल्पमा बताइएको छ । कलियुगमा वाममार्ग वा दक्षिणमार्गका दुवै साधकलाई सिद्धि प्रदान गर्ने चण्डी जस्तो अर्को कुनै साधन नभएको कुरा पनि त्यहाँ बताइएको छ (सप्तशती चण्डी, नवमीसिंहद्वारा परिमार्जित चण्डीभक्रिविनोदिनीले सहित, २२–२३ पृष्ठ) । सप्तशतीका दुई वटा परम्परा प्रकाशमा आएका छन् । एउटा सात सय मन्त्रात्मक र अर्को सात सय पूर्ण श्लोकवाला । सात सय मन्त्रात्मक परम्पराको आधार कात्यायनी तन्त्र रहेको छ भने सात सय पूर्ण श्लोकवाला परम्पराको आधार शम्भुनित्यातन्त्र र उत्तरमार्कण्डेय पुराण रहेको छ । भूपालेन्द्र मल्लको शासनकालमा अमात्य पदमा रहेका नवमीसिंहले विभिन्न तन्त्रशास्त्रका आधारमा पुनर्लेखन गरेको सात सय पूर्ण श्लोकवाला चण्डीको हस्तलिखित पाण्डुलिपि नेपालमा पाइएकाले नेपालमा यो परम्परा प्रचलित थियो भन्न सकिन्छ । यी दुवै परम्परा शास्त्रसम्मत भएकाले साधकले आफ्नो रुचि अनुसार कुनै एकलाई अवलम्बन गर्न सक्दछन् ।

उपसंहार

शारदीय दुर्गापूजाको शक्ति उपासनामा विशिष्ट महत्व रहेको छ । शास्त्रीय विधि र निर्देशको पालनापूर्वक गरिने कर्मले लौकिक अभ्युदयका साथै परमार्थज्ञानको मार्ग पनि प्रशस्त गर्दछ त्यसैले कुनै पनि कर्मानुष्ठानमा शास्त्रीय विधिनिषेधको ख्याल गर्नु आवश्यक हुन्छ । शास्त्रीय परम्पराका साथै सांस्कृतिक उद्विकासका क्रममा कतिपय स्थानीय परम्परा, लोकविश्वास आदि पनि यस्ता चाडपर्वमा जोडिएर आएका हुन्छन् त्यसैले आफ्नो कुलाचार र देशाचारका साथमा शास्त्रीय विधिलाई अवलम्बन गर्दै परमेश्वरीप्रति अतिशय श्रद्धा र भक्तिका साथ पूजाआराधना गरियो भने त्यसले अवश्य पनि अभीष्ट प्राप्ति हुन्छ । भवतु सर्वमङ्गलम् ।

लेखक बाट थप