• १८ असोज २०८१, शुक्रबार

पहिले जस्तो छैन भेडाको व्यापार

blog

तम्घास, असोज १८ गते । दसैँ सुरु हुन थालेसँगै बागलुङको ढोरपाटनबाट ६० वर्षीय चुरामणि भट्टराई भेडा बिक्री गर्नका लागि सदरमुकाम तम्घास आउनुभएको छ । उहाँले ५० वटा भेडा लिएर आए पनि पहिले जस्तो बिक्री नभएको बताउनुभयो । 

पहिले पहिले भेडा आएभन्दा किन्नेको लर्को लाग्ने गरेको अनुभव सुनाउँदै उहाँले अहिले भेडा देखाउन हिँडेको जस्तो भएको बताउनुभयो । विगत १० वर्षदेखि भेडाको व्यापार गर्दै आउनुभएका उहाँले विगतका वर्षमा जस्तो भेडाको व्यापार नभएको र भेडाको व्यापार खस्किँदो अवस्थामा रहेको बताउनुभयो । 

जिउँदो प्रतिकिलो एक हजार रुपियाँका दरले बिक्री गरेको बताउँदै उहाँले एउटा भेडाको मूल्य १३ हजारदेखि २० हजार रुपियाँसम्म पर्ने गरेको बताउनुभयो । 

गुल्मी, पाल्पा, अर्घाखाँची र पर्वतमा आफूले भेडा लिएर बेच्न हिँड्ने गरेको बताउँदै उहाँले विगतका वर्षमा एक सयभन्दा बढी भेडा बिक्री गर्ने गरेको र यस वर्षको लक्ष्य सोही अनुसार बिक्री हुने भए पनि अवस्था त्यस्तो नदेखिएको बताउनुभयो । पहिले दसैँमा भेडा किन्ने र साथीभाइसँग बसेर खाने गरेको भए पनि अहिले त्यो बिस्तारै हराउँदै जान थालेको उहाँले बताउनुभयो ।

विगतका वर्षमा आफूले पालेका र खरिद गरेर ल्याएका भेडा बिक्रीबाट एक लाख रुपियाँभन्दा बढी नाफा कमाउने गरेको अनुभव सुनाउँदै उहाँले यस वर्ष भने व्यापार खस्किएको बताउनुभयो । यसका साथै अन्य समयमा उहाँले खसीबोका खरिद गरी बिक्री गर्ने गरेको बताउनुभयो । 

आफूले एक जना सहयोगी लिएर हिँड्ने गरेको र रातिको समयमा कसैको गोठ अर्थात् ओत लाग्ने ठाउँमा भेडा राखेर बस्दै आएको उहाँले बताउनुभयो ।