• ११ मंसिर २०८१, मङ्गलबार

भीमथाङमा ५० हजार लिटरको रिचार्ज पोखरी निर्माण गर्दै नासोँ गाउँपालिका

blog

यदुप्रसाद भट्ट

मनाङ, असोज १७ गते । मनाङको नासोँ गाउँपालिका-६ स्थित भीमथाङ तथा पोङ्कर ताल परिसरमा ‘रिचार्ज’ पोखरी निर्माण गरिने भएको छ । गाउँपालिकाले उक्त स्थानमा रिचार्ज पोखरी निर्माण गरी ३० घरलाई पानीको समस्याबाट मुक्त पार्ने लक्ष्य लिएको छ । 

पर्यटकका साथै स्थानीय होटल व्यवसायीलाई राहत पुग्ने रिचार्ज पोखरी निर्माण गर्न लागिएको नासोँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव भेटवालले जानकारी दिनुभयो । गत हप्ता मात्रै भीमथाङमा गाउँपालिकाको बैठक बसी उक्त निर्णय गरिएको भेटवालले बताउनुभयो ।

५ मिटर लम्बाई, ५ मिटर चौडाइ र २ मिटर उचाइको उक्त रिचार्ज पोखरी ५ लाख रुपियाँ लागतमा सम्पन्न गरिने नासोँ गाउँपालिकाका इन्जिनियर नवीन जोशीले जानकारी दिनुभयो । उहाँले बजेट अभाव नभए वडा नं १ को घेराङ, वडा नं ४ को पचासेडाँडा र तिल्चेमा पनि रिचार्ज पोखरी निर्माण गरिने योजना रहेको बताउनुभयो । 

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अधिक मात्रामा गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि नासोँ गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको हो । हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

वडा नं ६ स्थित पोङ्कर ताल परिसरमा गाउँपालिकाको कार्यपालिका बैठक बसी रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । ‘जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरण गर्न आवश्यक देख्यौँ, जसले गर्दा मनाङका तालतलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन्, यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौँ,’ उहाँले भन्नुभयो । 

भीमथाङमा ५० हजार लिटरको रिचार्ज पोखरी बनाएर पानीको मुहान संरक्षण गरिने योजनासहित अगाडि बढिरहेको वडा नं ५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो । जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरणका लागि समुद्री सतहदेखि ४ हजार मिटर उचाइमा वडा नं ६ भीमथाङ र पोङकर ताल रहेका छन् । उक्त बैठकले पालिकाभित्र रहेका पानीका मुहान सुक्दै जाने क्रम बढेकाले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय मनाङमा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, हिमपात कम हुनु, समयमा हिमपात नहुने कार्य बढ्दै गएको छ । त्यसले पानीको मुहान सुक्नु र केही फरक स्थानमा पानीको मुहान देखिने भएको छ । त्यसको संरक्षणमा गाउँपालिकाले कदम चाल्न थालेको जनाएको छ । कम हिमपात तथा समयमा हिमपात नहुँदा यहाँका पानीका मुहान सुक्दै जाने क्रम बढ्दो छ । 

यसका साथै जलवायु परिवर्तनको असर न्यूनीकरण तथा पानीको मुहान संरक्षणका स्थानीय सरकारका साथै प्रदेश र सङ्घीय सरकारले चासो दिनुपर्ने देखिएको छ ।