• १५ असोज २०८१, मङ्गलबार

महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षणमा ध्यानाकर्षण

blog

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली

काठमाडौं, असोज १५ गते । राष्ट्रिय महिला आयोगले हालैको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पीडित महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षणमा जिम्मेवार निकायको ध्यानाकर्षण गराएको छ । 

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले मङ्गलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘लगातार भारी वर्षाका कारण आएको बाढी, पहिरो, भूक्षय र डुबानका घटनामा परी देशभरिबाट सयौंको ज्यान गएको, हजारौं व्यक्ति बेपत्ता र विस्थापित भएको र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिमयुक्त अवस्थामा रहेको समुदायको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’’

विपदमा परेका समुदायका व्यक्तिको भौतिक तथा मानवीय क्षतिको सामना गर्दै शारीरिक र भावनात्मकरूपमा कमजोर रहेको अवस्थामा विभिन्न किसिमका लैङ्गिक हिंसाका घटनाहरू हुनेतर्फ पनि आयोगले सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । 

विपदको समयमा महिलाको प्रजनन् अधिकारको सुरक्षामा बाधा पुग्न सक्ने, सुत्केरी र गर्भवती महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने, अपाङ्गता भएका व्यक्ति एवं अशक्त ज्येष्ठ नागरिकको संरक्षणमा प्रतिकूल असर पर्ने भएकाले ध्यान दिन पनि आग्रह गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘‘विपदबाट अभिभावक गुमाएका बालबालिका विस्थापित हुने र हिंसामा पर्ने जोखिम रहेको हुँदा उल्लिखित संरक्षणका सवालहरूलाई महत्वका साथ विपद व्यवस्थापनमा जिम्मेवार राज्यका विभिन्न तहका सरकार तथा निकाय, सामाजिक संघसंस्था, व्यक्ति तथा समुदाय समक्ष उद्धार, राहत र पुनस्थापनाका कार्यहरू गर्दा पीडित तथा प्रभावितहरुको गोपनीयता, शारीरिक तथा मनोसामाजिक अवस्था र आवश्यकता अनुरूप सम्बोधन र व्यवस्थापन गरिदिनु हुन आयोगको विशेष अनुरोध छ ।’’