• १४ असोज २०८१, सोमबार

वर्षापछि खुलेको मुस्ताङमाथिको सुन्दर आकाश

blog

मुक्तिनाथ क्षेत्रबाट देखिएको आकाशको मनोरम दृश्य । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज १४ गते । पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने हिमालपारीको जिल्ला मुस्ताङमा बर्खापछि मौसम खुलेसँगै आकर्षक देखिएको छ । पवित्र तीर्थस्थल मुक्तिनाथबाट वरपरका दृश्यहरु निकै मनमोहक देखिएको हो ।


बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता एवम् वडा १ मुक्तिनाथका अध्यक्ष प्रमेश गुरुङका अनुसार बिहानदेखि मौसम खुलेपछि पर्यटकहरु उत्साहित भएका छन् । सदरमुकाम जोमसोमदेखि २० किलोमिटरको दूरीमा पर्ने मुक्तिनाथ मन्दिर तथा मुक्तिनाथ तथा पुराङगाउँ, झारकोटलगायतको क्षेत्रबाट केही खुलेको आकाशसँगै देखिएका हिमशृङ्खलाले पर्यटकलाई लोभ्याएको छ ।


वर्षाले गर्दा अन्याेलजस्तो भएका पर्यटकहरु मौसम खुलेसँगै उत्साहित हुँदै तस्बिर तथा भिडियो खिच्दै गन्तव्यतर्फ लागेको मुक्तिनाथका पर्यटन व्यवसायी रबिन सुवेदीले बताउनुभयो । 

१६ श्राद्धको समय भएकाले कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएका धार्मिक पर्यटक बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा अवरोध भएपछि मुस्ताङमै रोकिएकोमा मौसम खुलेसँगै गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।