• १३ असोज २०८१, आइतबार

आदिवासी नेतृत्वमा आधारित शिक्षाबारे मन्थन

blog

आदिवासीको नेतृत्वमा आधारित अनुसन्धान र शिक्षा विषयक कार्यक्रममा सहभागी अतिथिहरू ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज १३ गते । आदिवासीको नेतृत्वमा आधारित अनुसन्धान र शिक्षा विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरुभएको छ । सोमबारसम्म चल्ने सम्मेलनमा आदिवासी ज्ञान, सीप र प्रथालाई जलवायु परिवर्तन न्यूनीकरण गर्ने विषयमा केन्द्रित हुने आयोजकको भनाइ छ । 

सिप्रेड संस्थाको आयोजना तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहकार्यमा भएको पहिलो दिनको कार्यक्रममा बोल्ने वक्ताहरूले आदिवासी ज्ञान, सीप, परम्परा र प्रथालाई आत्मसाथ गरेकै कारण पृथ्वीमा अझै हरियाली कायम हुन नसकेको तर्क गर्नुभयो । 

कार्यक्रममा जलवायु परिवर्तन, शिक्षा, विकास र संरक्षणका क्षेत्रमा देखिएका चुनौतीको सामना गर्ने विषयमा छलफल हुने वक्ताहरूको भनाइ छ । अन्य विषयहरूमा आदिवासी अर्थतन्त्र र खाद्य सम्प्रभुता, प्राकृतिक स्रोत र शान्ति निर्माण, प्रथाजनित स्वशासन र स्वामित्वको अधिकार, जैविक विविधता र संरक्षण विषयमा समेत छलफल हुने सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पाले बताउनुभयो । 


कार्यक्रममा अध्यक्ष डा. शेर्पाले भन्नुभयो, “दिगो विकासको ठुला कुरा गरिए पनि आदिबासीको ज्ञान, सीपको सदुपयोगविना दिगो विकास सम्भव छैन । त्यसतर्फ केन्द्रित गरेर विश्वविद्यालयका पाठ्यक्रम परिमार्जन गरिनु पर्छ ।” 

आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिबासी जनजातिको भाषा, संस्कृति र प्रथाजनिक परम्पराको संरक्षणविना मुलुकको दिगो विकास सम्भव नरहेको बताउनुभयो । नेपालमा बोलिने १२४ भाषामध्ये ९३ वटा भाषा आदिबासी जनजाति मूलको बोलिने गरेको उहाँले बताउनुभयो । त्यसैगरी विश्वमा करिब ५ हजार बढी भाषा जनजाति भाषा भएको बताउनुभयो । आदिबासीको परम्परागत ज्ञान, सीपको संरक्षण गर्न उहाँले सुझाव दिनुभयो । 

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष ठाकुर भण्डारीले देशमा भएको आदिबासी ज्ञान, सीप र कलालाई लिपिवद्ध गरी अघि बढ्दा उपयुक्त हुने बताउनुभयो । फेकोफन संस्थाले सो विषयमा पैरवी गर्दैआएको पनि उहाँले चर्चा गर्नुभयो । 

नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सिप्रेड संस्थाले आदिबासी ज्ञान र शिक्षाको क्षेत्रमा अग्रणी भूमिका खेल्दैआएको बताउनुभयो । देशमा ३६ प्रतिशत जनसंख्या आदिबासीको भए पनि आदिबासीको भाषा, संस्कृति र संस्कार ओझेलमा परेको बताउनुभयो । उहाँले सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गर्नुभयो । 


कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका सह–रजिष्ट्रार केशरजङ्ग बराल, गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा. गणेश गुरुङले गुरुङ, काठमाडौँ विश्वविद्यालयका बालचन्द्र लुइटेल, युएनडिपीका विजय सिंह, डा. डोल्पा शेर्पा, जनजाति महिला महासङ्घकी निमी शेर्पा लगायतले आदिवासीको ज्ञान, सीप र संस्कृतिलाई ज्ञान आर्जनको माध्यम बनाउन सके समाज लाभान्वित हुने बताउनुभयो ।  

पहिलो दिनको कार्यक्रममा प्रोफेसर किले ह्वाइट, लिन्दा वाइमियर, लि अवायो, डा. विनय सिवाकोटी, डा. रामकुमार भण्डारी, बल्लु चौधरी लगायतले आफ्नो प्रस्तुति राख्नुभएको थियो । उद्घाटन सत्रमा गायिका समीक्षा चौधरीले थारु धमार गीत प्रस्तुत गर्नुभएको थियो ।