• १३ असोज २०८१, आइतबार

कतै त्रास, कतै अनुकूल प्रभाव

blog

मधेश प्रदेश ब्युरो

जनकपुर, असोज १३ गते । पछिल्लो पटक दुई दिनदेखि लगातार परेको पानीले जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशको विभिन्न नदी, खोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ भने धानबालीमा समेत क्षति पु-याएको छ ।

सर्लाही समाचारदाताका अनुसार बागमती नदी बस्तीमा पसेपछि सर्लाहीको बसबरियामा पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । तटबन्ध भत्काएर बाढी गाउँतर्फ मोडिएपछि बसबरिया गाउँपालिका–१ को बिर्ता टोल तथा वडा नं. २ को ढापटोल, मानपुरगोठ, पनिलाल राय टोल र लौका टोलका स्थानीयलाई अग्लो स्थानमा सारिएको हो । नदीको पानी पसेर थप डुबान भई मानवीय क्षति हुन सक्ने भएकाले गाउँलेलाई पहिले नै सुरक्षित स्थानमा सारिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले जानकारी दिनुभयो । 

रायका अनुसार शनिबार दिउँसो बागमतीको बाढी हनुमान मन्दिर, भैसासुर स्थानलगायतका ठाउँमा तटबन्ध भत्काएर बस्तीतर्फ पसेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले रातको समयमा उद्धार गर्न कठिन हुने भएकाले बाढी पसेको गाउँका स्थानीयलाई उज्यालोमै सुरक्षित स्थानमा लगेर राख्ने काम गरिएको बताउनुभयो । 

बागमतीको बाढी पसेर सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा ५० भन्दा बढी घर डुबानमा परेका छन् । बलरा नगरपालिका–१, छन्कीटोला र बलरा नगरपालिका–२, जैहथियौल टोलमा बागमतीको भेल पसेर ५० भन्दा बढी घर डुबानमा परेको नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिनुभयो । 

घरमा पानी पसेपछि स्थानीयले घरभित्र राखेको अन्नपातलगायत अन्य सरसामग्री नष्ट भएको छ । बागमती नदीमा शनिबार बिहानको तुलनामा साँझबाट पानीको सतह कम हुँदै गए पनि तल्लो तटीय क्षेत्रमा ठाउँ ठाउँमा बाँध कटान गरेकाले डुबानको समस्या देखिएको हो । शनिबार दिनभरको भारी वर्षाले जिल्लाका विभिन्न स्थानमा सडक, पुल, बिजुलीका पोल तथा अन्य संरचनामा व्यापक क्षति गरेको स्थानीयले बताएका छन् । 

बर्दीबास समाचारदाताका अनुसार दुई दिनदेखि परिरहेको अविरल वर्षाले एकातिर कृषि क्षेत्रमा अनुकूल प्रभाव पारेको छ भने जिल्लाका प्रमुख नदीहरूको जलस्तर बढ्दै गएकाले तटवर्ती इलाकामा त्रास बढ्न थालेको छ । निरन्तरको वर्षाले ठाउँ ठाउँमा विद्युत् सेवा अवरुद्ध पारेको छ । बिहीबार साँझदेखि सुरु भएको मनसुनी वर्षा शनिबार पनि अविरल रहेकोले वर्षाजन्य जोखिम बढ्दै गएको हो । मेघाच्छन्न आकाश र मौसमी लक्षणले रातभर पानी पर्ने सङ्केत गरेको हुँदा तटवर्ती इलाकामा कटान र डुबानको जोखिम बढेको छ । 

अहिले पनि चुरे क्षेत्रमा वर्षा भइरहेको हुँदा जिल्लाको रातु, जङ्गाहा र मडाहा जस्ता प्रमुख नदीहरूको जल सतह बढ्दै गएको छ । रातु खोलाको जलाधार क्षेत्रका अर्ने खोला, शङ्खे र दर्लामी झोरा तथा च्युरी खहरेमा बाढी बढ्दै गएको सुुदूर उत्तरी भेगमा पर्ने सामुदायिक वन समितिका अध्यक्षहरू मैते मुक्तान र मुना श्रेष्ठले बताउनुभएको छ । बर्दीबास–३ स्थित कारे भोगटे सामुदायिक वनका अध्यक्ष रमेश खत्रीले दिनुभएको जानकारी अनुसार चुरे आसपासका भेगमा भीषण वर्षा भइरहेकाले शनिबार अपराह्नदेखि रातु नदीको जलस्तर बढ्दै गएको हो । 

मडाहा खोलामा पनि जलस्तर बढ्नाले टुटेश्वर र खैरमाराबिचको आवागमन अवरुद्ध भएको वडा नं. ५ का वडाध्यक्ष काहारमान स्याङ्तानले बताउनुभयो । खयरमारा खोलामा पनि बाढी बढ्दै गएकोले सुदूर उत्तरी भेगका झ्याउरे भाङ्ग्रे, तीनतलेलगायत आधा दर्जन गाउँको आवागमन शुव्रmबारदेखि ठप्प छ । 

वडाध्यक्ष स्याङ्तानका अनुसार वर्षा नथामिएको र प्रमुख तथा सहायक नदीहरूको जलस्तर बढ्दै गएकाले बर्दीबास नगरपालिकाको उत्तरी भेगका ढुङ्ग्रे–टुटेश्वर–खयरमारा, चेरु र वरडाँडा, बर्दीबास–राइमण्डललगायतका गाउँको बिचमा खोला पर्ने भएकाले वर्षा नथामिएसम्म आवागमन ठप्प हुने गरेको छ । 

महोत्तरी प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सम्भव भएसम्म बाढी र वर्षाको जोखिम आउनै नदिने व्यवस्थापन मिलाइएको जनाउनुभयो । तथापि दैवी प्रकोपलाई रोक्न नसकिने भएकाले राहत र उद्धारका लागि विपत् व्यवस्थापन समिति सतर्क अवस्थामा रहेको उहाँको दाबी छ । 

साना ठूला दर्जनभन्दा बढी नदीको चपेटामा रहेको महोत्तरीका सबै जसो पालिका बाढी र वर्षाको जोखिममा छन् । तथापि तल्लोे तटवर्ती क्षेत्रका बदिया वनचौरी, तिलगढ, रौजा भगवतीपुर रातु खोलाको उच्च जोखिममा रहेको न्यौपानेले बताउनुभयो । यसका साथै हतिसर्वा, लोहरपट्टी, महोत्तरी गाउँपालिका, मटिहानी र पिपरा पनि जल उत्पन्न प्रकोपको जोखिममा राखिएको छ । 

रातु खोलाको उच्च जोखिममा रहेको बलवा नगरपालिकाको तीलगढनजिक तीन ठाउँमा तटबन्ध निर्माण गरिसकिएकाले सम्भवतः यो वर्ष बाढीको खासै असर नहुने उहाँले बताउनुभयो । 

कृषि क्षेत्रमा अनुकूल प्रभाव

प्रचण्ड गर्मी र लामो अन्तरालपछि परेको वर्षाले कृषकहरूमा भने खुसियाली छाएको छ । लामो समयसम्म पानी नपर्दा धानमा रोगप्रकोप बढ्दै गएका थिए भने बोटहरू ओइलाउँदै जानाले कृषकहरूमा नैराश्य छाएको थियो । यसैबिच परेको यो वर्षा खेतीपातीका लागि प्राणवायुसरह भएको स्थानीय कृषकले जनाएका छन् । 

कृषि ज्ञान केन्द्रका अनुसार महोत्तरीमा यो वर्ष ४३ हजार ७५० हेक्टरमा धानखेती लगाइएको छ । यो वर्षाले धानखेतीका साथै हुर्किंदै गरेका उखु बाली, कोदो, हिउँदे तरकारीका लागि पनि अनुकूल भएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालले बताउनुभयो । उहाँले भन्नुभयो, “कटान र डुबान नहुने हो भने समग्र कृषि क्षेत्रलाई यो वर्षाले राहत दिएको छ । माना फल्ने ठाउँमा मुरी फलाउने आशा जगाएको छ ।”

दुई जना बेपत्ता 

महोत्तरी समाचारदाताका अनुसार महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको सोनी नदीमा बाढी हेर्न आएकामध्ये दुई जनालाई नदीले बगाएको छ । बगाएकामध्ये एक जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता छन् । 

जिल्लाको गौशाला नगरपालिका–८, कुस्मादीमा सोनी नदीले सोही ठाउँ बस्ने १६ वर्षीय रोहित साह र ११ वर्षीय करिना महतोलाई बगाएको थियो । बाढीले बगाएको खबर पाएपछि उद्धारमा खटिएका प्रहरीले करिब एक घण्टापछि करिनालाई पाँच सय मिटर तल झाडीबाट सकुशल उद्धार गर्न सफल भएका थिए भने रोहितको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसैगरी सर्लाही समाचारदाताका अनुसार सर्लाहीको बागमती नगरपालिका–९, सव्रmौल टोलमा खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । शनिबार दिउँसो सोती खोला तर्ने व्रmममा सोही ठाउँका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतोलाई बाढीले बगाएको हो । खोलाले बगाएर बेपत्ता किशोरको स्थानीय र प्रहरी भएर खोजी गरिरहेका बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिनुभयो ।  

 दलित बस्ती समस्यामा 

लहान समाचारदाताका अनुसार अविरल वर्षाले लहान नगरपालिका–२, मिलनचोकस्थित भवरा नहरको किनारमा रहेको बरको रुख ढलेपछि दुई परिवार उच्च जोखिममा परेका छन् भने भवरा नदीको किनारमा बसेका सुकुमवासी दलित समुदाय समस्यामा परेका छन् ।  

शनिबार वर्षा भइरहेको समयमा ठुलो बरको रुख दिनेश यादव र श्यामलाल यादवको पर्खालमा खसेपछि दुई परिवारका सबै घर छाडेर वर्षाको समयमा अरूको घरमा ओत लिनु परेको छ । रुख नहटाउँदा रातितिर घरमाथि लड्यो भने पक्की घर नै बर्बाद हुने भयले दुवै परिवारले लहान वडा नम्बर १ र २ का वडाध्यक्ष डिभिजन वन कार्यालय लहानमा सम्पर्क गरेर रुख हटाउन हारगुहार मागिरहेको पीडित श्यामलाल यादवले पीडा पोख्नुभयो । 

भवरा नदीको किनारमा वडा नम्बर १ र २ बाट बग्ने भवरा नदीमा पानीको उच्च चाप बढ्न थालेपछि घरमा पानी पस्ने भय स्थानीयहरूमा छ । स्थानीय गेनादेवी सदायका अनुसार एक सय घरभन्दा बढी रहेका विपन्न सुकुमवासीको सुरक्षित आवासका लागि प्रत्येक वर्ष आवाज उठाए पनि स्थानीय तह लहान नगरपालिकाले कुनै चासो नलिई वर्षाको बेला बाढीको रमिता हेर्न आएको समस्यमा आश्वासन मात्रै दिने गरेका छन् । 

लहान वडा नम्बर २ का वडाध्यक्ष सियाराम यादवले भवरा नहरको किनारमा रहेको सयौँ घरपरिवारको सुरक्षित आवासका लागि लहान नगरपालिकाले समस्या समाधान गर्ने आश्वासन दिइरहेको उहाँले बताउनुभयो ।