शारीरिक, मानसिक र बौद्धिक रूपमा निश्चित उमेर/तह पार गरेका व्यक्ति रोजगारी, उच्च शिक्षा अध्ययनलगायतका उद्देश्य लिई जन्मभूमि छोडेर स्थायी वा अस्थायी आप्रवासीका रूपमा अन्य देशमा जाने गर्छन् । गुणस्तरीय जीवन जिउने अभिलाषाले अविकसित देशबाटै बढी मात्रामा युवा विकसित मुलुकमा जाने गर्छन् । प्रतिभा पलायनको अवधारणा बेलायतबाट सन् १९५०/६० को दशकमा आएको हो । उक्त समयमा संयुक्त अधिराज्यबाट ठुलो सङ्ख्यामा युवा संयुक्त राज्य अमेरिका र क्यानडा पलायन हुने अवस्थालाई ब्रिटिस रोयल सोसाइटीले प्रतिभा पलायन (ब्रेन ड्रेन) का रूपमा लिएको थियो । सन् १९६५ मा ह्यरी जोन्सनले ‘इकोनोमिक्स अफ ब्रेन ड्रेन’ लेखमार्फत युवा पलायनको आर्थिक पाटोलाई बौद्धिक बहसमा ल्याए ।
नेपालको अवस्था
जनसाङ्ख्यिक लाभांशका रूपमा रहेको युवा (६१.९६ प्रतिशत) शक्तिको अधिकतम उपयोग विसं २१०३ सम्म बढी मात्रामा गर्न सकिने (सोह्रौँ योजना) प्रक्षेपण गरिएको छ । आर्थिक तथा सामाजिक विकासमा युवाशक्तिलाई मुलुकभित्रै अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता हुँदाहुँदै यस्तो अपार स्रोत अन्य देशको उन्नति र प्रगतिका लागि दिनरात पसिना बगाई रहेको तितो यथार्थतालाई बदल्नै पर्छ । २०८० साल चैत्र मसान्तसम्म वैदेशिक रोजगारीमा जान ५९ लाख ६९ हजारले श्रम स्वीकृति लिएको तथा इपिएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना दक्षिण कोरिया गएका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९४ प्रतिशत पुरुष छन् भने सरकारले वैदेशिक रोजगारीका लागि १११ वटा देश खुला गरेको छ । विदेश जान नपाएका युवा आन्दोलनमै होमिने प्रवृत्तिसमेत पछिल्लो समय देखिन थालेको छ तर अर्कोतर्फ पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार २३० जनाको मृत्यु भएको तितो यथार्थ मात्र होइन शारीरिक र मानसिक समस्या बोकेर फर्किनेको सङ्ख्या पनि उल्लेख्य छ ।
प्राविधिक जनशक्ति उत्पादन गर्ने क्याम्पसमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा समेत प्रवेश परीक्षाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या घटिरहेको समाचार सुनिन्छ । गाउँ/गाउँमा खोलिएका प्राविधिक धारका विद्यालयमा पर्याप्त विद्यार्थी तथा शिक्षकको कमीका साथै विज्ञान तथा गणित पढाउने शिक्षक पनि नपाइने अवस्था छ । अर्कोतर्फ उच्च शिक्षा अध्ययनका लागि अनुमति लिनेको सङ्ख्या आव २०७९/८० मा १,१०,२१७ पुगेको छ जुन २०७१/७२ को तुलनामा तीन गुणाभन्दा पनि बढी हो ।
युवा सोचमा पनि समस्या
मुलुकमा जनसाङ्ख्यिक लाभांशको उन्नत अवस्था हुँदाहुँदै युवा/प्रतिभा पलायनको आक्रान्त अवस्थाबाट गुज्रिनु परेको छ । शारीरिक रूपमा सक्षम युवा मध्यपूर्वको विकासका लागि पसिना चुहाइरहेका छन् भने १० जोड दुई उत्तीर्ण तथा अध्ययनरत युवाको ठुलो सङ्ख्या पनि विदेश पलायन हुने व्यग्रतामै बसेको छ । एउटा युवा आफूले मेहनतका साथ अध्ययन गरेर प्राप्त गरेको लब्धाङ्कपत्र पाउँदाभन्दा भिसा लाग्दा बढी खुसी हुने मात्र होइन घरमा भोज गर्ने प्रचलन पनि अब सामान्य हुन थालिसक्यो । एमबिबिएस, इन्जिनियरिङ, कृषि, वन तथा अन्य प्राविधिक विषय अध्ययन गरेको व्यक्तिले समेत किन नेपालभित्रै अवसर खोज्न र सिर्जना गरी जन्मभूमिमै सेवा गर्न चाहँदैन ?
जहाँ जे रोप्यो त्यही उम्रने उर्वर देश छोडेर ‘लर्न एन्ड अर्न’ भनी अन्य मुलुकमा जान पाउँदा युवाले गर्व महसुस गर्छन् । अन्य देशका असल अभ्यासलाई हाम्रो माटो तथा परिवेश सुहाउने ढङ्गले उपयोग गर्नु पर्छ विदेश नै पलायन हुनु मात्र समस्या समाधान होइन भन्ने सोचको स्वःजागरण युवामा आउनै पर्छ । युवा गाउँ मात्र होइन लाखौँ खर्च गरेर ज्यान जोखिममा राखेर अवैध बाटोबाट मुलुक छोड्नमै उद्धत छ ।
सरकारी सेवामा पनि पलायन प्रवृत्ति
प्रतिस्पर्धात्मक परीक्षामार्फत सरकारी सेवामा प्रवेश गरी जीवनको उर्वर समय बिताए पनि जीवन धान्न धौधौ हुने अवस्था छ । काम गरिरहेको सङ्गठनबाट पाइने सीमित अवसर र सुविधामा पनि विभेदको महसुस गर्दा सरकारी सेवा अस्थायी तथा स्थायी रूपमा छोड्ने प्रवृत्ति निजामती सेवा र सुरक्षा निकायमा उल्लेख्य मात्रामा छ । आव २०८०/८१ मा करिब ८०० जना निजामती कर्मचारीले सेवा अवधि बाँकी रहँदा नै राजीनामा दिएको देखिन्छ । यसै अवधिमा नेपाल प्रहरीका ७९२ जनाले अवधि नसकिँदै राजीनामा दिएको विवरण सार्वजनिक भएको छ । यसरी सरकारी सेवाबाट अनुभवी व्यक्ति पलायन हुँदा त्यसको प्रतिकूल असर सेवा प्रवाहमा पर्छ भने यस्तो अवस्थाको चित्र सार्वजनिक हुँदा सरकारी सेवामा प्रवेश गर्न चाहने युवामा पनि नकारात्मक असर पर्ने देखिन्छ । सरकारी संरचना स्लिम बनाउने, सेवा सुविधा न्यूनतम आवश्यकता अनुरूप निर्धारण गर्ने, वृत्ति विकासलाई अनुमानयोग्य र पूर्णतः योग्यता प्रणालीसँग आबद्ध गर्नु अति आवश्यक छ । यसो हुन सकेमा मात्र अनुभवी जनशक्तिलाई सेवामा टिकाउन (रिटेन्सन) तथा श्रम बजारमा रहेका युवालाई सरकारी क्षेत्रमा आकर्षित (एट्याक्सन) गर्न सकिन्छ ।
मुलुकभित्रै सम्भावना खोजौँ
कसैको दासत्व स्वीकार नगरेका आफ्नै गौरव गाथा भएका हामी नेपाली विश्वको जुनसुकै कुनामा जाँदा पनि गर्व महसुस गर्दछौँ । पूर्वजले जिम्मा लगाएको यस्तो मातृभूमिलाई विकास र समृद्धिको शिखरमा पुर्याउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ । युरोप, अमेरिका मात्र होइन जापान, दक्षिण कोरिया तथा सिङ्गापुरलगायतका मुलुक यसै सम्पन्न भएका होइनन् । न उक्त देशको समृद्धि कसैले उपहारका रूपमा दिएको हो । उक्त देशहरूको विकासमा युवा जनशक्तिकै महत्वपूर्ण र निर्णायक भूमिका देखिन्छ । मुलुकप्रति निष्ठावान् तथा इमानदार नेतृत्वले कसरी सिङ्गापुरलाई तेस्रो विश्वबाट पहिलोमा पुर्याए । कोरिया युद्धबाट तहसनहस भएको दक्षिण कोरिया तथा दोस्रो विश्वयुद्धबाट ध्वस्त भएको जापानलाई विकासको चुलीमा पुर्याउन असल नेतृत्वलाई त्यहाँका युवाले कसरी साथ दिएका थिए । यस्ता विषयमा युवापुस्ता सचेत भई राष्ट्रनिर्माणको अभिभारा लिन उत्प्रेरित हुनु जरुरी छ ।
हामीले भन्न सक्छौँ हाम्रा त नेता नै ठिक भएनन् तर राणाशासन देखि गणतन्त्रसम्मको लामो र कठिन राजनीतिक यात्रामा उनीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्नै पर्छ । अब शासकीय नेतृत्वमा रहेकाहरूलाई सत्ता र शक्तिको स्वार्थमा भुल्न नदिने तथा खबरदारी युवाले नै गर्नु पर्छ । अबको २०/३० वर्षपछिको नेपाल कस्तो बनाउने यो पनि युवाकै काँधमै छ । हामीले आफ्नै बलबुता तथा सङ्घर्षले ल्याएको राजनीतिक व्यवस्थालाई परिस्कृत र उन्नत बनाउँदै नेपाललाई समृद्धिको शिखरमा पुर्याउन विदेशमा १८ घण्टा होइन नेपालकै आटो पिठो खाएर तपाईं हामी लाग्नै पर्छ । राजनीतिक अस्थिरता, रोजगारीका अवसरको सीमितता, कमजोर सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य सुविधा महँगो, सीमित अवसरमा पनि राजनीतिक प्रभाव आदि कारणले देश छोड्ने निर्णय गरी आफ्नो उर्जा अन्य देशको समुन्नतिका लागि किन खेर फाल्ने ? अब त विकसित देशले अँगालेको संस्कारयुक्त राजनीति, सामाजिक चेतना र अभियान, नागरिकको तहबाट मुलुकका लागि केही गर्नु पर्छ भन्ने स्वःजागरण, कानुनी शासनको प्रत्याभूति, अवसर वितरणमा पूर्णतः योग्यता प्रणालीको प्रयोग नेपालमै गरौँ । विदेशमा देखेका, भोगेका र सिकेका अनुभवसहित नेपाललाई नेपाल जस्तै बनाउने दायित्व नागरिकका रूपमा विदेशिएका युवाको होइन र ?
अन्त्यमा
विकास, समृद्धि र सुशासनको दीर्घकालीन लक्ष्य प्राप्तिमा योगदान गर्ने र समृद्धिको फल उपयोग गर्ने पनि युवा शक्ति नै हो । युवालाई मुलुकमा टिकाउन तथा पलायन भएकालाई फर्काउन राज्यका तर्फबाट आवश्यक नीतिगत, कानुनी र कार्यक्रमगत प्रबन्ध गर्नुका साथै राजनीति, प्रशासन, निजी क्षेत्र तथा प्रत्येक नेपाली स्वयम्मै निष्ठा र इमानदार नमुना बनेर भविष्यप्रति आशाको सञ्चार (होप सर्कुलेसन) गराई समृद्ध नेपाल निर्माण गर्नु पर्छ ।