• ११ असोज २०८१, शुक्रबार

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

blog

बसाइँसराइले गाउँ रित्तिँदै गएपछि एक वृद्धा ।तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, असोज ११ गते । मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको भेट्टाउनुभयो तर बस्तीका आधा जति घरमा मानिस भेटिएनन् । दुई सयमध्ये अधिकांश घरमा ताला झुन्डिएका छन् । बसाइँ सरेर छाडिएका घरको आँगन वरिपरि वनमारा उम्रिएको छ । बिजुली बाल्न काठको पोलमा तार अड्याएको देख्न सकिन्छ । वडामा आधारभूत स्वास्थ्य चौकी छैन । सिटामोल लिन अर्को पालिका जानु पर्छ । यो पीडा मेलौली नगरपालिका–३, ढणौँन, कुजगाड र बाघगोठ गाउँको हो । 

मेलौली नगरपालिका–३ का गाउँमा आधारभूत स्वास्थ्य चौकी मात्रै होइन, पठनपाठन गर्ने विद्यालयसमेत पायक पर्ने ठाउँमा छैन । माध्यमिक तहको शिक्षा आर्जन गर्न कक्षा ९ र १० का विद्यार्थी दैनिक १० किलोमिटर पैदल हिँडेर विद्यालय जान बाध्य छन् । पानीका मुहान खोज्न छिमेकी वडा र पालिकाका जनप्रतिनिधि ढणौँन गाउँमा पुगे पनि ग्वाल्लेक वन जोगाउँदै आएका ढणौँनवासीलाई कसैले प्रोत्साहन गरेको छैन । प्रदेश सरकारले वनको संरक्षित कार्यक्रम सञ्चालन गर्दा सहभागी नगराइएको स्थानीय वसन्त चन्दले गुनासो गर्नुभयो । 

स्थानीय तहको पुनर्संरचनापछि सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि मेलौली नगरपालिका–३ मा अहिलेसम्म राज्यको कुनै पनि सेवासुविधा नपाएको ७० वर्षीय गोल्मा चन्दले दुःखेसो पोख्नुभयो । गाउँमा कुनै रोजगारी नभएपछि छोराहरू सबै बाहिर गएकाले गोल्मा चन्द घरमा एक्लै हुनुहुन्छ । आधाभन्दा बढीले गाउँ छाडेर हिँडेपछि आँगनमा एक्लै टोलाएकी वृद्ध आमाले नरमाइलो लागेको बताउनुभयो । स्थानीय तहको पुनर्संरचना हुनुअघि ढणौँन गाउँमा दुई सयभन्दा बढी घरधुरी थिए । बसाइँसराइले अहिले गाउँको आधा जनसङ्ख्या घटेको वडाध्यक्ष गगनसिंह भाटले बताउनुभयो ।  

साबिकको दुर्गास्थान गाविसका १, २, ३, ४ र ५ नम्बर वडा मिलाएर मेलौली नगरपालिका–२ नम्बर घोषणा गरिएको छ । त्यसै गरी साबिकको ६ र ७ नम्बर वडालाई दशरथचन्द नगरपालिका–७, ८ र ९ नम्बर वडा मिलाएर मेलौली नगरपालिका–३ नम्बर वडा घोषणा गरिएको छ । यद्यपि ३ नम्बर वडावासीले अहिलेसम्म आधारभूत शिक्षा र स्वास्थ्य, बाटोघाटो जस्ता सेवा पाउन सकेका छैनन् । पुनर्संरचनाका बेला भएको त्रुटि सच्याएर मेलौली नगरपालिका–३ लाई दशरथचन्द नगरपालिका–७ मा गाभिदिन ढणौँनवासीले २०७८ साउन २० गते मेलौली नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । चार वर्ष बितिसक्दा पनि ज्ञापनपत्रबारे कुनै सुनुवाइ भएको छैन । 

गाउँको पुनर्संरचना गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक निरन्तरता केही नहेरी साबिकको दुर्गास्थान गाविसलाई हचुवामा तीनतिर बाँड्दा ढणौँनवासीले दुःख पाइरहेको स्थानीय वसन्त चन्दले गुनासो गर्नुभयो । “पुनर्संरचना मिलाइदिन सरोकारवाला निकायसँग आग्रह गर्दा कुनै सुनुवाइ भएन,” उहाँले भन्नुभयो, “मेलौली नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिन १० हजार रुपियाँमा गाडी लिएर मेलौली–१ मा रहेको बैङ्क धाउनु पर्छ । कठिनाइ भोग्न नसक्दा वडाको आधा जनसङ्ख्या बसाइँसराइ गरेर घटिसकेको छ । कतै जान नसक्ने गरिब परिवार मजदुरी गर्न भारत पसेका छन् ।”

साबिकको दुर्गास्थान स्वास्थ्य चौकी अहिले मेलौली नगरपालिका–२ मा गाभिएको छ । गाउँका आधारभूत विद्यालयबाट कक्षा ५ र ८ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्न १० किलोमिटर टाढा मेलौली नगरपालिका–१ को सिमानामा रहेको प्रतिपुर मावि धाउँदै आएका छन् । हुन त प्रतिपुर मावि ३ नम्बर वडाको सीमाभित्र पर्छ तर यहाँ मेलौली नगरपालिका–१ लाई पायक पर्ने भएकाले उतैका विद्यार्थी बढी रहेको वडाध्यक्ष भाटले बताउनुभयो । मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले पुनर्संरचनाका बेला कमजोरी भएकाले मेलौली नगरपालिका–३ का स्थानीयले दुःख भोगिरहेको स्वीकार गर्नुभयो । उहाँले पुनः सीमा हेरफेर आवश्यक देखिएको बताउनुभयो । 

नगरप्रमुख चन्दले भन्नुभयो, “पुनर्संरचनाका बेला नगरपालिकाको २ नम्बर वडामा दुई वटा स्वास्थ्य चौकी परेका छन् । दुर्गास्थानको साबिकका ६ र ७ नम्बर नजिक पर्ने भए पनि ती वडा दशरथचन्द नगरपालिकामा गाभिएका छन् । त्यसैकारण अहिलेको ३ नम्बरले स्वास्थ्य सुविधा पाउन सकेको छैन । सर्वसाधारणलाई मर्का पर्ने गरेर पुनर्संरचना भएको छ । संविधान संशोधनका कुरा उठिरहेकाले एक पटक पुनः सीमा हेरफेर पनि गर्नु पर्छ ।” 

सिगास र पुर्चौडीमा एक दिनको पैदल यात्रा 

स्थानीय तहको पुनर्संरचनापछि सिगास गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–१० का स्थानीय गाउँ तथा नगरपालिकाबाट सेवा लिन एक दिन पैदल बाटो हिँड्दै आएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी लोकमार्गसँग जोडिएको सिगास गाउँपालिका–१ का स्थानीय गाउँपालिकाबाट सेवा लिन एक दिन पैदल हिँड्दै आएका छन् । वडा कार्यालय मुख्य सडकसँग जोडिएको भए पनि गाउँपालिका जाने सडक नहुँदा पैदल हिँड्नु परिरहेको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । सडक नबने पुनर्संरचना हेरफेरका लागि वडावासीले हस्ताक्षर सङ्कलन गरेको उहाँले बताउनुभयो । सिगास गाउँपालिका–१ बाट डेढ घण्टामा पाटन नगरपालिका र तीन घण्टामा जिल्ला सदरमुकाम पुगिन्छ । त्यसै गरी पुर्चौडी नगरपालिका–१० का स्थानीय बैतडी–दार्चुला जोड्ने महाकाली लोकमार्ग नजिकको दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा निर्भर भए पनि नगरपालिकाको सेवा लिन एक दिन पैदल हिँड्दै आएका छन् ।