• ११ असोज २०८१, शुक्रबार

‘वान बेल्ट, वान रोड’ प्रस्तावप्रति नेपाल सकारात्मक

blog

चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित चीन–नेपाल मिडिया शिखर सम्मेलनमा सहभागी सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलगायत । तस्बिर: केशब गुरुङ

काठमाडौँ, असोज १० गते।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकार चीनको ‘वान बेल्ट, वान रोड’ प्रस्तावप्रति सकारात्मक रहेको बताउनुभएको छ।  जनवादी गणतन्त्र चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा बिहीबार आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो।  

मन्त्री गुरुङले भन्नुभयो, “नेपालले छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट राष्ट्रिय हित अनुकूल हुने गरी कार्यान्वयनमा ल्याइएका विभिन्न आयोजनामा सहभागी हुँदै आएको छ।  चीनले प्रस्ताव गरेको ‘वान बेल्ट, वान रोड प्रस्तावप्रति नेपाल सरकार सकारात्मक छ।”

यसले आगामी दिनमा चीन सरकारले नेपाल सरकारलाई प्रदान गर्ने थप सहयोगका क्षेत्रलाई उजागर गर्न मद्दत पुर्‍याउने उहाँको विश्वास छ।  मन्त्री गुरुङले भन्नुभयो, “दुई देशका सरकार र जनताबिचको सम्बन्धलाई उचाइमा पुर्‍याउन दुई देशका सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यो कार्यक्रम अत्यन्त फलदायी हुनेछ।  यसले आगामी दिनमा चीन सरकारले नेपाल सरकारलाई प्रदान गर्ने थप सहयोगका क्षेत्रहरू समेत उजागर गर्न मद्दत पुर्‍याउने छ।”


सम्बोधनको पूर्ण विवरण :

जनवादी गणतन्त्र चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा यस विशिष्ट भेलालाई सम्बोधन गर्न पाउनु मेरो लागि ठुलो सम्मान हो। यस महत्त्वपूर्ण अवसरमा नेपाल सरकार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको तर्फबाट चीनका जनता र सरकारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

सबैभन्दा पहिले, मलाई दोस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलनमा प्रमुख अतिथिको रूपमा आमन्त्रित गर्नुभएकोमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया समूहप्रति हार्दिक आभार सहित धन्यवाद दिँदै यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु। 

मिडिया सहयोग सुदृढ गर्ने र चीन–नेपालका सफल अभ्यासका विषयवस्तुलाई केन्द्रित गरेर नेपाल र चीनका सञ्चारमाध्यमहरूबिच सहयोग आदानप्रदानलाई प्रवर्द्धन गर्न, दुई देशका नागरिकबिचको मित्रतालाई थप प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना भइरहेकोले आफैमा महत्त्वपूर्ण छ भन्ने मैले बुझेको छु। 

नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भएतापनि दुई देशबिच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको छ। आज हाम्रो सम्बन्ध समानता, सार्वभौमसत्ता र पारस्परिक लाभका सिद्धान्तहरूमा आधारित रही थप सुदृढ भएको छ।  पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि सांस्कृतिक र शैक्षिक आदानप्रदानसम्म, हाम्रो सम्बन्ध विभिन्न क्षेत्रहरूमा फैलिने क्रम जारी छ। 

दुई देश बिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन समय समयमा दुई देशका राष्ट्रप्रमुख एवं उच्चस्तरीय भ्रमण नियमित रूपमा भइरहेको हामी सबैलाई अवगतै छ।  यस प्रकारको भ्रमणले नेपाल र चीनबिचको शताब्दीयौँदेखिको मैत्रीपूर्ण सम्बन्ध झन् विकसित भइरहेको छ।  आसा एवं विश्वास छ कि आगामी दिनमा पनि यो सिलसिला अझ तीव्र रूपले अगाडी बढ्नेछ। 

डिजिटल रूपान्तरण, नवप्रवर्तन र मिडिया टेक्नोलोजीको पूर्वाधार विकास र ज्ञानको आदानप्रदान लगायतका क्षेत्रमा सहकार्य हाम्रा दुई राष्ट्रहरूको भविष्यको लागि महत्त्वपूर्ण छ।  म विश्वस्त छु कि यस शिखर सम्मेलनले दुवै देशका सञ्चारकर्मीहरूका लागि पारस्परिक लाभ, ज्ञान आदानप्रदान र अवसरहरूको नयाँ ढोका खोल्नेछ।

पौराणिक कालदेखि आजपर्यन्त चिन नेपालको महत्त्वपूर्ण व्यापारिक साझेदार समेत रहँदै आएको छ।  नयाँ चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाइरहँदा यसबिचमा चीनले आर्थिक, सामाजिक, सांस्कृतिक, लगायत, विज्ञान र सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा चमत्कारिक विकास गरेको छ र आफूलाई विश्व अर्थतन्त्रको नेतृत्वदायी मुलुकको रूपमा स्थापित गरेको छ।  त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालले समेत लाभ लिँदै आएको छ।  चिनको विकास र अनुभवबाट हामीले धेरै कुरा सिक्न सक्छौँ र राज्यको समृद्धिको अभियानमा त्यसलाई भरपुर उपयोग गर्न चाहन्छौँ पनि।  चिनको यो अविश्वसनीय उपलब्धिप्रति एक असल छिमेकी राष्ट्रको नाताले नेपाल समेत गौरव गर्दछ।  

जनमतलाई आकार दिन, समझदारी बढाउन र राष्ट्रहरू बिच सौहार्दपूर्ण सम्बन्ध विस्तार गर्न मिडियाले महत्त्वपूर्ण भूमिका खेल्छ। विगतका वर्षहरूमा नेपाल र चीनका सञ्चार उद्योगहरूबिचको सम्बन्धमा उल्लेख्य वृद्धि भएको छ, जसले द्विपक्षीय सम्बन्धको व्यापक सुदृढीकरणलाई झल्काउँछ। यस मिडिया शिखर सम्मेलन जस्ता प्लेटफर्महरू मार्फत, हाम्रा दुई देशबिचको सहयोगलाई मात्र बढाउँदैन तर सीमापार सञ्चार, सांस्कृतिक आदानप्रदान र आपसी समझदारीको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउँछ।  

यस सम्मेलनमा सहभागी सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले विश्वव्यापी पत्रकारिताका प्रवृत्तिहरूको समीक्षा र विश्लेषण गर्नेछन् र विश्वव्यापी आयामबाट पक्कै पनि पाठ सिक्न सक्नेछन्।

नेपालको सन्दर्भमा राजनीतिक एवं सामाजिक परिवर्तनको अभियानमा मिडिया जगतले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।  विगतमा राजनीतिज्ञ र सञ्चारकर्मी एकै ठाउँमा उभिएर राजनीतिक अधिकारको आन्दोलन सफल भयो र हामीले पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न सफल भयौँ। 

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताविना राजनीतिक अधिकार अधुरो हुने भएकाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका राजनीतिक अधिकारहरू राजनीतिज्ञ र सञ्चारकर्मीको साझा अधिकारका रूपमा स्थापित छन्। 

नेपाल सरकार दिगो शान्ति, सुशासन, समृद्धि, सामाजिक न्याय र विकासलाई मुख्य एजेण्डा बनाएर अगाडि बढिरहेको छ।  सरकारले लिएको नीति र कानुनको कार्यान्वयन प्रक्रियामा भएका कमजोरीबारे सञ्चारमाध्यमले आलोचना र खबरदारी गरिरहेका छन्।  कुनै पनि मुलुकको सन्तुलित विकास र सुशासन स्थापित गर्नको लागि सञ्चारमाध्यमको नियमित र सकारात्मक पृष्ठपोषण, विश्लेषण सहितका सम्पादकीय भूमिका निर्वाह गर्दछ।  

गलत सूचना, विकृति र घृणित अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको छ। स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उद्देश्यका रूपमा राख्दै पुराना नीति कानुनलाई परिमार्जन गरी समय सापेक्ष कानुन निर्माण गर्ने प्रक्रिया अगाडी बढाएको छ।  सरकारले मिडिया सशक्तीकरण र सञ्चारकर्मीको व्यक्तिगत तथा व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेको छ।  यो फोरमले आवश्यक सुझाव पनि दिने विश्वास लिएको छु। 

पछिल्लो समय विश्वले खेपिरहेको आर्थिक सङ्कुचनले मिडिया जगतलाई पनि असर गरेको छ।  सामाजिक सञ्जालको बढ्दो लोकप्रियताले ल्याएका चुनौतीहरूको सामना गर्नु, अवसरको महत्तम उपयोग गर्नु र सामाजिक सञ्चालनको दुरुपयोग गरेर हुने अपराधलाई नियन्त्रण गर्नु हाम्रा लागि साझा चिन्ता एवं दायित्वको विषय बनेको छ।  सूचना प्रविधिको पछिल्लो आविष्कारको फाइदा उठाउँदै विभिन्न मिडियालाई डिजिटल प्लेटफर्ममा ल्याउनुपर्छ।  सूचना प्रविधिले मिडिया उद्योगमा ल्याएका अवसर र चुनौतीहरू र आर्थिक सङ्कुचनले ल्याएको बढ्दो गम्भीर सङ्कटलाई चिनियाँ सञ्चारमाध्यम लगायतले कसरी सम्बोधन गर्नुपर्छ भन्ने सन्दर्भमा मलाई विश्वास छ कि यो मञ्चमा यी विषयहरूमा अर्थपूर्ण छलफल हुनेछ र त्यो दुई देश बिचको मिडिया क्षेत्रको सम्बन्धलाई अझ प्रगाढ बनाउन अर्थपूर्ण हुनेछ।  

नेपाल सरकारले मिडिया र सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि सम्बद्ध विद्यमान कानुनहरू संशोधनको प्रक्रिया अगाडी बढाइसकेको छ।  सामाजिक सञ्चालनको नियमन र व्यवस्थापन सम्बन्धी र साइबर सुरक्षा सम्बन्धी नयाँ कानुनहरूको मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।  सरकारले सरकारी मिडियाको संस्थागत र व्यवस्थापकीय सुदृढीकरणका योजनाहरू अगाडी बढाएको छ।  डिजिटल नेपाल फ्रेमवर्कको योजना अगाडी बढाएको छ।  देशैभर ब्रोडब्यान्ड सेवा विस्तारलाई तीव्रता दिएको।  आइटी पार्क र डाटा सेन्टरहरू स्थापना गर्ने कार्यलाई अगाडी बढाएको छ।  

चिन सरकारले नेपाललाई जलविद्युत निर्माण, सडक पूर्वाधार निर्माण, भूकम्पपछिको पुननिर्माण, कर्मचारीको क्षमता विकास, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिको विकास र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर रूपमा सहयोग गर्दै आएको छ।  कृत्रिम बौद्धिकताको विकास तथा प्रयोगको लागि नीतिगत एवं कानुनी अवधारणा तयार गर्ने क्रममा रहेको छ।  

चीनले सूचना तथा सञ्चार प्रविधि, कृत्रिम बौद्धिकता, विग डेटा, रोवोटिक्स आदी विषयमा गरेको अतुलनीय प्रगतिको सिकाई नेपालले पनि अनुसरण गर्न चाहेको छ।  यी नवीनतम प्रविधिको क्षेत्रमा भविष्यमा नेपाल र चीन बिचको सहकार्य थप सुदृढ हुनेछ।  यी क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासको साथै संस्थागत सुदृढीकरण समेतमा आवश्यक सहयोग र सहकार्य हुनेछ भन्नेमा म विश्वस्त छु।   

चीनको सहयोगमा नेपालका सञ्चालित महत्त्वपूर्ण परियोजनाहरू नेपाल–चीन अन्तर्देशीय रेलमार्ग र जिलङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग लगायतका आयोजनालाई सहज रूपमा अगाडि बढाउन सकियो भने यसले नेपालको समृद्धिमा नयाँ आयाम थप्नेछ।  हाम्रा छिमेकी देशहरूले हासिल गरेको आर्थिक प्रगतिबाट नेपालले आफ्नो छिमेकी राष्ट्रहरूको विकासबाट लाभान्वित भई गुणात्मक सुधारको अपेक्षा गरेको छ।

नेपालले छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट राष्ट्रिय हित अनुकूल हुने गरी कार्यान्वयनमा ल्याइएका विभिन्न आयोजनामा सहभागी हुँदै आएको छ।  चीनले प्रस्ताव गरेको ‘वान बेल्ट, वान रोड प्रस्तावप्रति नेपाल सरकार सकारात्मक रहेको छ।

दुई देशका सरकार र जनताबिचको सम्बन्धलाई उचाइमा पुर्‍याउन दुई देशका सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यो कार्यक्रम अत्यन्त फलदायी हुनेछ।  यसले आगामी दिनमा चीन सरकारले नेपाल सरकारलाई प्रदान गर्ने थप सहयोगका क्षेत्रहरू समेत उजागर गर्न मद्दत पुर्‍याउने छ।  

नेपालले गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हस्तकला, तरकारी आदि चीनमा निकासी गर्दै आए पनि निर्यात र आयातको अनुपात निकै न्यून छ।  हामीले सामानको उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्छ र त्यसका अलावा नेपाल र चीनबिच थप बन्दरगाह खोल्ने, भन्सार नाकालाई सहजीकरण गर्ने र भन्सार छुट दिने कुरामा नेपालले चासो राखेको छ। 

अन्तमा, दोस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलन विषयवस्तु र सहभागीहरूको सङ्ख्या दुवैको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ। यस कार्यक्रमको माध्यमबाट दुई देशबिचको मिडिया क्षेत्रको सहकार्यले बढावा पाउने छ।  आपसी समझदारीलाई गहिरो बनाउने छ।  दुई पक्षीय सूचना आदानप्रदान र सहयोग प्रवर्द्धनमा सहयोग पुग्नेछ।  सांस्कृतिक आदानप्रदानलाई बढवा दिनेछ, दुवै देशका मिडिया उद्योगको स्तर सुधारमा सहयोग पुग्नेछ र दुई देशका मिडिया क्षेत्रको द्विपक्षीय सम्बन्ध सुदृढ हुनेछ र त्यसले दुवै देशका नागरिक र सरकारका बिच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न मद्दत पुर्‍याउने छ भन्ने आशा एवं विश्वासका साथ म नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट यस कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छु।  धन्यवाद!