हरिप्रसाद कोइराला
उर्लाबारी, असोज ८ गते। एकातर्फ गुरुकुल र संस्कृत मावि बन्द भएका छन् भने नयाँ पुस्तामा गुरूकुलीय शिक्षाप्रति आकर्षण छैन। खस आर्य समुदायका यज्ञोपवीत धारण नगर्नेहरू तामझामका साथ छोराको व्रतबन्ध गर्छन्। बाबुआमाको तिथि श्राद्ध गर्नेहरूको सङ्ख्या पनि बढेको छ। तर, गुरु पुरोहित भने थपिएका छैनन्।
पुराना पुस्ताका गुरु पुरोहित अशक्त बन्दै गएका छन्। धेरैको मृत्यु भइसकेको छ। जसले गर्दा पितृपक्षमा श्राद्ध गराउने गुरु पुरोहितको अभाव हुन थालेको हो।
संस्कृत माविलाई साधारण माविमा परिवर्तन गर्ने र गुरुकुल सञ्चालनमा राज्यको कुनै भूमिका नहुँदा गुरु पुरोहितको अभाव हुन थालेको पिण्डेश्वर विद्यापीठका उपप्राध्यापक एवम् कर्मकाण्ड विज्ञ दीपक पराजुली बताउनुहुन्छ। गुरु पुरोहित उत्पादन गर्ने मूल नै मासिएपछि काम परेका बेला मात्र गुरु पुरोहित खोजेर नहुने उहाँको भनाइ छ।
अरू समयमा खासै कामको चाप नभए पनि सोह्र श्राद्धको समयमा गुरु पुरोहितको अभाव हुने गरेको कानेपोखरी–६ का दयाराम सुवेदीले बताउनुभयो। यो बेला कुनै गुरुलाई जुठो, सुतक पर्यो वा बुबाआमाको मृत्यु भएर आशौचमा बस्नुपर्यो भने गुरुहरूको झनै अभाव हुन्छ। त्यस्तो अवस्थामा उपलब्ध गुरुहरूबाटै आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ।
पितृ पक्षमा गरिने सोह्रश्राद्ध सिपालु गुरुहरूले गराउँदा पनि कम्तीमा तीन घण्टा लाग्ने गर्छ। सोह्रश्राद्ध मध्याह्न कालमा सुरु गर्नुपर्ने धार्मिक मान्यता रहेको छ। पूर्वीय धार्मिक मान्यता अनुसार पितृपक्षमा एक जना गुरुले एक दिनमा एउट भन्दा बढी श्राद्ध गर्नु वर्जित मानिन्छ। तर गाउँमा मात्र होइन छिमेकी गाउँमा पनि गुरु पुरोहितको अभाव भएपछि शास्त्रीय मान्यता विपरीत गुरु एकदिनमा तीन वटासम्म श्राद्ध गर्न बाध्य छन्।
पूर्वीय शास्त्रमा एक जना गुरुले एकैदिन एकभन्दा बढी श्राद्ध गराउन नमिल्ने शास्त्रीय कथन भए पनि कानेपोखरी १ होक्लाबारीका गुरु रमेश नेपाल यजमानले बोलाएपछि श्राद्ध गराइदिनैपर्ने बाध्यता रहेको बताउनुहुन्छ।
एकाघरमा बसेका दाजुभाइहरू छुट्टिएर बसेपछि दाजुभाइ सबैलाई बेग्लाबेग्लै पुरोहित चाहिन्छ। दाजुभाइ छुट्टिने क्रम रोकिएको छैन। नयाँ पुस्तामा गुरु पुरोहित उत्पादन भएका छैनन्। जसले गर्दा एउटै बाबुको श्राद्धका लागि धेरै जना गुरुको आवश्यकता पर्न थालेको नेपालको भोगाइ र बुझाइ छ। उहाँले दैनिक तीन वटासम्म श्राद्ध गरिरहेको बताउनुभयो। पूर्णिमादेखि औँसीसम्मका सबै तिथिमा यजमानले बोलाएको उहाँको भनाइ छ।
नयाँ गुरु थपिएका छैनन्। पुरानाहरू कतिपयको मृत्यु भइसकेको छ। कतिपय गराउन सक्दैनन्। त्यसैले पनि सक्नेलाई कामको बोझ थपिएको उर्लाबारीका गुरु राजु काफ्लेले बताउनुभयो। पथरीशनिश्चरे–९ का विदुर भट्टराई ४ वर्ष अघि खोटाङबाट तराई झर्नुभएको हो। पहिलो वर्ष मात्र उहाँले यजमान पाउनुभएन। त्यसपछि भट्टराईले पनि छिमेकी पालिकासम्म पुगेर गुरुको अभाव टार्नु भएको छ।
कहिल्यै श्राद्ध नगर्नेहरू पनि पछिल्लो समय पितृपक्षको सोह्रश्राद्धमा गुरुलाई घरमा बोलाएर भोजन गराई दान गर्न थालेका छन्। जसले गर्दा गुरु पुरोहितको झनै अभाव खट्किएको बताउनु हुन्छ। पिण्डेश्वर विद्यापीठ धरानका उप प्राध्यापक दीपक पराजुली भन्नुहुन्छ, ब्राह्मण, क्षेत्री इतरका जातिले पनि पितृपक्षमा ब्राह्मणलाई दान दक्षिणा गर्न थालेका छन्। बजारमा भन्दा पनि गाउँमा पुरोहितको अभाव छ। उहाँले संस्कृत गुरुकुल र संस्कृत मावि बन्द हुँदा कर्मकाण्ड गराउने दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताउनुभयो।
समय आधुनिक बन्दै गए पनि मानिसले आफ्नो धर्म, संस्कृति र परम्परा छोड्दैन। त्यसैले संस्कृत शिक्षा र गुरुकुललाई व्यवस्थित नबनाए गुरु पुरोहितको अभाव झनै खड्किने गुरु र यजमानको भनाइ छ।