फडिन्द्र अधिकारी
लेखनाथ, असोज ७ गते । सडकमार्गबाट पृथ्वीचोक बसपार्क झर्नेबित्तिकै पर्यटकलाई थाहा भइहाल्छ, पोखराको विकास योजनाबद्ध छैन । राजमार्गसँगै जोडिएको बसपार्क एकातिर कच्ची छ भने अर्कातिर छेउछाउमा टिनका प्रशस्तै छाप्रा छन् । विसं २०३२ मा बसपार्कका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो पाँच दशकमा बसपार्क त बनेन नै, सुकुमबासीले केही जग्गामा छाप्रा बनाए भने केही जग्गा सस्तो मूल्यमा बेचियो ।
जग्गा अधिग्रहण हुँदा पोखराको जनसङ्ख्या ३१ हजार थियो । पछिल्लो जनगणना अनुसार पोखरामा छ लाखको बसोबास छ । पोखरा बसपार्कका अव्यवस्थित घर, टहरा, फोहोर, हिलाम्मे सडक र खाल्टाखुल्टीले पर्यटन राजधानीलाई गिज्याइरहेको छ । बसपार्कबाट बस छुट्नुपर्ने भए पनि धेरै जसो बस सडकमै यात्रु पर्खिइरहेका देखिन्छन् ।
पोखरा महानगरले पछिल्लो समय यहाँ सिटी बसपार्क बनाउने तयारी गरेको छ । पोखरा–३२, लामेआहालमा प्रदेशस्तरीय बसपार्क बनाउने भनिए पनि बजेट व्यवस्थापन नहुँदा त्यो काम पनि अघि बढ्न सकेको छैन । पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना अर्बौं लाग्ने बसपार्क निर्माणका लागि महानगर एक्लैले लगानी गर्न नसक्ने बताउनुहुन्छ ।
“पोखरा प्रवेशमै देखिने बसपार्कको बिजोग छ, लज्जाको विषय पनि बनेको छ,” वडाध्यक्ष निर्वाचित हुनुअघि यातायात व्यवसायीसमेत रहेका शर्मा भन्नुहुन्छ, “सबै दल एकै ठाउँमा नउभिई यो बन्न सम्भव छ भन्ने मलाई लाग्दैन ।” पृथ्वी राजमार्गमा परेको जग्गा छाड्दा बसपार्कका लागि १८७ रोपनी बाँकी रहेकोमा अहिले अतिक्रिमित हुँदै ६० रोपनी हाराहारीमा जग्गा बाँकी रहेको सरोकारवाला बताउँछन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी बाँकी जग्गामा बन्ने सामान्य बसपार्कले पोखरा महानगरको सवारी चाप धान्न नसक्ने बताउनुहुन्छ । राज्यका निकायकै इच्छाशक्ति नहुँदा बसपार्क बन्न नसकेको उहाँको भनाइ छ । “राज्यले बनाउनुपर्ने हो, बनेन,” उहाँ भन्नुहुन्छ, “अझै पनि उपलब्ध जग्गामा दुईतले बसपार्क बनाउन मिल्ने अवस्था छ । अतिक्रिमण हटाउने हो भने राजमार्गलाई छाडेपछि बँचेको जग्गाले पनि धान्छ ।”
राज्यले मात्र लगानी नगरी सार्वजनिक–निजी साझेदारीमा बसपार्क बनाउने हो भने पनि व्यवसायीहरू तयार रहेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष केसीले थप्नुभयो, “प्रक्रिया, विधि, कानुन हेरौँ तर बसपार्क बन्नै पर्छ ।” यो बसपार्क पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग दुवै टुङ्गिने ठाउँमा छ ।
बसपार्कको जग्गा पोखरा महानगरको पोखरा उपत्यका नगर विकास समितिको नाममा छ । समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने सहरीकरण र जनसङ्ख्या बढ्दै जाँदा बसपार्कको क्षेत्रफल बढाइनुपर्नेमा घट्नु उदेकलाग्दो भएको टिप्पणी गर्नुहुन्छ । उहाँकै पालामा प्राध्यापक कृष्ण गुरुङको नेतृत्वमा बनेको समितिले बसपार्क सञ्चालनबारे अध्ययन गरेको थियो । लामिछाने भन्नुहुन्छ, “समितिले राजमार्गलाई छाडेर बाँकी रहेको जग्गाको अतिक्रिमण खाली गरी बसपार्क बन्नु पर्छ भन्ने सुझाव दिएको थियो । सबैभन्दा राम्रो विकल्प यही हो ।”
पोखरा विमानस्थल बनाउने बेलामा त्यहाँका व्यापारीलाई बसपार्कको जग्गामा ल्याएर व्यवस्थापन गरिएको थियो । त्यो बेला सारिएका व्यवसायीहरू अझै त्यहीँ छन् । खाली जग्गा देखेपछि २०३५/३६ सालताका सुकुमवासीले त्यहाँ छाप्रा बनाउन थालेका थिए । अहिले त्यहाँ तीन वटा फरक फरक टोल छन् । सङ्घीयतापछि नगर विकास समितिको अध्यक्षमा महानगर प्रमुख नै रहने व्यवस्था छ ।